८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंको भित्री सहरमा गाडी निषेध

काठमाडौं-काठमाडौं महानगरपालिकाले काठमाडौंको भित्री सहरमा चार पांग्रे सवारीसाधन निषेध गर्ने भएको छ ।

महानगरपालिकाले भित्री क्षेत्रमा सवारीको चाप र भीडभाडले सम्पदा क्षेत्र अस्तव्यस्त भएकाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म चार पांग्रे सवारीमा निषेध गर्न लागेको हो । महानगरपालिका र महानगरीय ट्राफिक प्रहरीको अगुवाइमा माघ २ गतेदेखि चार पांग्रे सवारी निषेध कार्यक्रम कार्यान्वयनमा ल्याउने जनाएका छन् ।

महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले काठमाडौंको भित्री क्षेत्रमा सवारीसाधनले गर्दा भद्रगोल भएकाले नै चार पांग्रे सवारीसाधन निषेध गर्न लागेको बताइन् । ‘काठमाडौंको कोर एरिया ऐतिहासिक सम्पदाले भरिपूर्ण छ । त्यसलाई व्यवस्थित गर्नको लागि सवारी निषेध गर्न लागिएको हो,’ उनले भनिन्, ‘अन्य मुलुकमा पनि सम्पदा क्षेत्रमा पैदल यात्रा नै गरिन्छ । त्यसैलाई अवलम्वन गरेर कोर एरियामा हिड्ने परम्परा बसाल्न लागेका हौं ।’

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी निरीक्षक विदुरकुमार थापाले छुट्टाछुटै रूटको व्यवस्थापन गरेर कोर एरियामा चारपांग्रे सवारी निषेध गर्न लागिएको बताए ।

उनका अनुसार इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटु लगायतका स्थानमा चार पांग्रे सवारी गुडाउन निषेध गरिएको छ । त्यसैगरी भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पांग्रे सवारी चलाउन रोक लगाइएको छ । नरदेविबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी मात्रै सवारीचालन चलाउन पाइनेछ । त्यस्तै गरी टेंगालबाट बाङ्गेमुढा हँुदै भेडासिंह, इन्द्रचोकसम्म जान मात्रै सकिनेछ ।

क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै ईन्द्रचोकसम्म एकतर्फी रूपमा सवारी चलाउन पाइनेछ । काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका  भित्री क्षेत्रलाई व्यवस्थित गर्न लागिएको हो । ‘काठमाडौंको कोर एरियामा सवारीको अत्यधिक चाप र भीडभाड बढेकाले नै सवारी निषेध गर्न लागिएको हो,’ काठमाडौं महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले भने, ‘सम्पदा नै सम्पदा भएको सहर अस्तव्यस्त र असरल्ल देखियो । त्यसैले कोर एरियामा सवारी निषेध गरेर व्यवस्थित गर्न लागेका हौं ।’

महानगरपालिकाले चार पांग्रे सवारी निषेध गरेसँगै  पार्किङको लागि खुल्लामञ्च, मखनचोकलगायतका स्थानमा पार्किङ गर्न सकिने जनाएको छ । ‘यो एरिया ऐतिहासिक मठ मन्दिरले भरिएको क्षेत्रको साथै प्राचीन व्यापारिक केन्द्रका रूपमा प्रख्यात छ,’ उनले भने, ‘अत्यधिक सवारी चापले हिँडडुल गर्न समेत मुस्किल छ, कहिलेकाहीँ बिरामी बोकेको एम्बुलेन्ससमेत गुड्न सक्ने अवस्था छैन । त्यसैलाई व्यवस्थित गर्न पनि सवारी निषेध गर्न लागेका हौं ।’

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी निरीक्षक विदुरकुमार थापाले निषेधित स्थानमा सवारी चलाएको पाइएमा कारबाही गरिने बताउँछन् । ‘निषेधित गरेको ठाउँमा सवारी चलाएको पाइएमा ट्राफिक नियम उल्लघंनबापत कारवाही गरिनेछ,’ उनले भने । ट्राफिक नियम उल्लघंन गर्नेलाई ५ सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले काठमाडौंमा व्यवस्थित पार्किङ स्थलको खोजी कार्य जारी रहेको बताउँछन् । ‘उपत्यकामा व्यवस्थित पार्किङस्थल अत्यावश्यक भइसक्यो,’ उनले भने, ‘महानगरपालिकाले भूमिगत पार्किङस्थलको योजना बनाइरहेको छ, छिट्टै सार्वजनिक गर्नेछौं ।’
वडाध्यक्ष  शाक्यका अनुसार एम्बुलेन्स, शव वाहन, खानेपानी, दुधका गाडी, बिरामी तथा अशक्त  बोेकेका  सवारीसाधनलाई जुनसुकै समयमा पनि गुड्न दिइनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि ठमेल र पशुपति क्षेत्रमा सवारीसाधन निषेध गरिसकेको छ । ‘कोर एरियामा प्रदूषण तथा अस्तव्यस्त भएकाले नै सवारी निषेध गर्न लागेका छौं,’ उनले भने, ‘सम्पदा भएको स्थलमा पैदल आउजाउ गर्न समेत उपयोगी हुने देखिन्छ ।’
 

प्रकाशित: २७ पुस २०७४ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App