coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘मेलाले बजारमा पुँजी परिचालन गर्छ’

विश्वशंकर चालिखे अध्यक्ष,पोखरा उद्योग वाणिज्य संघ

सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला पुस २७ देखि माघ ८ गतेसम्म पोखरामा हुँदैछ । बर्सेनि आयोजना हुँदै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई यो पटक नेपालकै प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी समूहले प्रायोजन गरेको छ । अहिले आयोजना हुन लागेको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाले पोखराको समृद्धि र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पु¥याउने आयोजक पोखरा उद्योग वाणिज्य संघको अपेक्षा छ । २०४१ देखि पोखरामा औद्योगिक व्यापार मेला हुन थालेको हो । यसै सन्दर्भमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेसँग नागरिक संवाददाता सन्तोष पोखरेल ले गरेको कुराकानीको सारः

महोत्सवको तयारी कुन रुपमा गरिएको छ ?
अहिलेसम्म हामीले मेलाको मुख्य प्रायोजकदेखि सह–प्रायोजक समेत तय गरिसकेका छौं । यो पटक नेपालकै प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी हाउसले मेलालाई मुख्य प्रायोजक गरेको छ । दुई सय ६० भन्दा बढी व्यापारिक स्टल बनाएर व्यवसायीलाई उपलब्ध गराइसकेका छौं ।

उमेर समूह अनुसारका दर्शकलाई लक्षित गरेर फरक प्रकृतिका स्टल राखिएका छन् । बाल उद्यानदेखि रेस्टुरेन्ट, कृषि उत्पादनदेखि घरायसी सामान, गाडी, लत्ताकपडासहित घुमघामका लागि जाने होमस्टेका पनि स्टल छन् ।

यो मेलाले पोखरालाई के उपलब्धि हुन्छ ?
मेला भनेको ‘सो–केस’ हो । मेलामा व्यावसायिक प्रतिष्ठानले उत्पादनलाई हाइलाइट गर्ने अवसर पाउँछन् । यसमा ‘मेड इन नेपाल’ भनेर नेपाली उद्यमीको उत्पादन पनि राख्छौ । त्यसबाहेक कृषि उपज, हस्तकलाका उत्पादन राख्छौ । योपटक दोस्रो मोबाइल मेला हुँदैछ । सबै बहाना मिलाएर बढीभन्दा बढी दर्शक आकर्षण गर्ने हाम्रो चाहना अनुसार यो पटक महोत्सव आयोजना गरेका छौं ।

पोखरा लगायत सम्पुर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकला, सूचनाप्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो । प्रदेश नम्बर ४ को व्यवसाय विस्तारको सम्भावनाको खोजी गर्ने उद्देश्यमा पनि मेला समर्पित छ । यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्न पनि मेलाले सघाउने अपेक्षा छ ।

धेरैतिर मेला–महोत्सव आयोजना हुन्छन् । तर, सबैतिरका मेला एकैखालका हुन्छन भन्ने गुनासो छ ।  यसलाई परिमार्जन गर्ने बेला भएन र ?
मेलामा परिमार्जन गर्न आवश्यक छ । परिमार्जनको क्रममा हामी पुगि पनि सकेका छौं । जस्तै यो पटक हामीले रोबोटिक हन्ड्रेड हाउस (भूतघर) पनि मेलामा राखेका छौं ।

पोखरा इञ्जिनियरिङ कलेजका विद्यार्थीले मेलामा प्रदर्शन गर्ने रोबोटिक हाउस मेलाको थप आकर्षण रहनेछ । अर्काे नेपालमा पाइने सबै ब्रान्डका मोबाइल एकैठाउँमा बिक्री गर्ने, खरिदमा छुट दिने, सेवा दिने गरी नयाँ काम गर्दैछौं । यो पनि भिन्नता हो । यसले सबै ग्राहकलाई आकर्षण गर्न सक्नेछ ।

मेला–महोत्सवले अर्थतन्त्र उकास्न कत्तिको योगदान दिन्छ ?
कुनै एउटा व्यवसायीकहाँ एकजना ग्राहक पुगेर पैसा खर्च गर्छ भने त्यो आर्थिक चलायमान बनाएको हामी व्यवसायीले ठान्छौं । मेलाबाट अनुमानित आम्दानी नै हामीले ९० लाख रुपैयाँ अनुमान गरेका छौ । त्यस्तै अनुमानित खर्च ६० लाख रुपैयाँ कटाउँदा ३० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम पनि प्रदर्शनी केन्द्रमा थप एउटा अत्याधुनिक डोम बनाउन तथा पोखराको खानेपानी शुद्धीकरण अभियानमा खर्च गर्ने हाम्रो योजना पनि छ ।

मेला अवधिमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने हामीले अपेक्षा गरेका छौं । त्यत्ति धेरै दर्शक मेलामा सहभागी हुँदा त्यसले अर्थतन्त्रमा थोरै भएपनि सहयोग पु¥याउँछ । नेपालमा उत्पादित बस्तु र सेवाको प्रदर्शनी तथा बिक्रीले उद्यमशीलता चाहनेलाई प्रेरणा प्रदान गर्ने मात्र हैन, नेपाली उत्पादनप्रति चासो बढ्नेछ । त्यसबाहेक यो पटक गाडी र लत्ताकपडा सहित करिब पाँच करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेका छौं ।

आथिर्क रुपमा अझै बढी प्रगती गर्न अहिलेकै मेला काफि छ वा यसको स्वरुप परिवर्तन आवश्यक छ ?
मेलालाई परिमार्जन गरेर स्तरीय बनाउन आवश्यक छ । पोखरा प्रदेश नम्बर ४ को निर्विकल्प राजधानी हो । पोखरा प्रादेशिक राजधानी बन्दै गरेको अवस्थामा हामी फरक तरिकाले अघि बढ्नुपर्नेछ । त्यो बेला हामीले प्रादेशिक हिसाबले धेरै मेला महोत्सव गर्नुपर्नेछ । त्यसले गर्दा पनि परिमार्जन गर्न जरुरी छ । लामो समयदेखि हामीले पोखरामा मेला महोत्सव गर्दै आएपनि अहिलेसम्म हामीले टिनको टहरोमा मात्र गर्दै आएका छौं । अब टहरोमा मेला महोत्सव गर्ने दिन गएका छन् ।

टिनको टहरोमा हुँदै आएका महोत्सवलाई थप सुरक्षित र व्यवस्थित बनाउन बढीभन्दा बढी रकम संकलन गरेर स्थायी डोम बनाउन आवश्यक छ । अहलेसम्म हामीसँग एउटा मात्र डोम छ । अर्काे एउटा डोम बनाउने हाम्रो योजना हो । त्यसले जस्तापाता बिस्थापित हुन्छ । त्यसको कारण बाह्रैमास मेला गर्न सक्षम हुने छौं । अहिले वर्षायाममा कसैले पनि मेला गर्न सकेको छैन । वर्षायाममा पानीका कारण मेला सम्भव हुँदैन । डोम बनाउन सक्ने हो भने भित्र स्टल राख्न सकिन्छ । हाम्रो लक्ष्य यो मेलाबाट आर्जित रकमले थप एउटा डोम बनाउने हो । त्यसो भयो भने मेलाको स्वरुप फेरिन्छ ।

यो मेला पोखरा सहरको मात्र हो वा प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन यसले सघाउँछ ?
बाहिरबाट हेर्दा यो मेला प्रादेशिक आकारको भएपनि अरुभन्दा वृहत छ । तर अहिले पोखरामा मात्र नभई आसपासका सबैतिर मेलैमेला छन् । तनहुँको दमौली, पर्वत, बागलुङ,  म्याग्दी, कास्कीकै लेखनाथ, अमरसिंहचौर सबैतिर मेला लागेका छन् । केही हुने क्रममा छन् ।

सबै उद्यमीलाई आफ्नै ठाउँमा मेला गर्न भ्याइनभ्याइ छ । त्यसैले अब महोत्सवमा फरकपन दिनुपर्छ । यो पटक हामीले महोत्सवमा होमस्टेलाई फोकस गरेका छौ । पर्यटन उकास्न होमस्टे आकर्षण बन्न सक्छ । होमस्टेले यो भेगलाई नै कभर गर्ने योजना हो । कास्कीको पोखरा मात्र नभई आसपासका जिल्लाको होमस्टेलाई पोखरामा प्रवद्र्धन गर्ने अवसर हामीले दिलाएका छौं । महोत्सवले पोखरामा होमस्टे प्रवद्र्धन गर्न सघाउनेछ ।

पोखरामा हुने यो मेला आकारमा मात्र ठुलो हो वा साच्चै फरक कुन अर्थमा छ ?
हाम्रो लक्ष्य प्रदेश नम्बर ४ लाई नै समेटेर बृहत मेला आयोजना गर्ने हो । अन्य जिल्लाका व्यवसायीलाई पनि समेट्ने लक्ष्य हो । पोखरालाई सबैतिरबाट समृद्ध बनाउन यस्ता मेला आयोजना हुन जरुरी छ ।

पोखराभित्रै यही बेला अरु महोत्सव हुँदैछन् । त्यसले एकअर्कालाई असर पार्दैन र ?                                                      
एकै सहरभित्र आयोजना हुँदा मेला जुध्छन, त्यो स्वभाविक पनि हो । सबैले एकैपटक गर्न खोज्दा यो अवस्था आएको हो । वर्षायाममा पोखरामा मेला महोत्सव आयोजना गर्ने ठाउँ छैन त्यो सम्भव छैन । हामीसँग वर्षाको पानी छेक्ने पर्याप्त पूर्वाधार छैनन् । हामीले आकर्षण कसरी बढाउन सकिन्छ भन्ने नै हो ।

मेला–महोत्सवमा किन नयाँपन भित्रिन सकेन ? पुरानै तरिकारले अब कतिन्जेल मेला–महोत्सव गरिरहने ?
पोखरालाई उत्सव महोत्सवको सहर बनाउने हो भने यस्ता महोत्सव आवश्यक पनि पर्छ । जस्तै पोखरामा अंग्रेजी नयाँ वर्षमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)ले सडक महोत्सव गर्छ, नेपाली नयाँ वर्षमा होटल संघले मेला आयोजना गर्छ । त्यही भएर फरक आयोजकले आफ्नो पहिचान अनुुसार मेला महोत्सव गर्दैछन् । मात्र फरक के राख्ने र देखाउने भन्ने मात्र हो ।

विशेष क्षेत्र र उत्पादनलाई मात्र लिएर मेला गर्ने बेला भएन र ?
बिस्तारै डोम बनाएपछि अब राम्रा मेला आयोजना गर्न जरुरी छ । जस्तै अटोमोबाइल, फर्निचर जस्ता उत्पादनको पालैपालो मेला आयोजन गर्ने बेला भएको छ । अहिलेसम्म त्यो स्वरुपमा हुन नसकेको चाँही हो । अब हरेक महिना सिजन अनुसार मेला हुनुपर्छ भन्ने मेरो मान्यता हो । तर, त्यसका लागि समस्या छन् । सबैभन्दा ठुलो समस्या यहाँ आवश्यक पूर्वाधार छैन ।

पोखराको अर्थतन्त्रलाई चलायमान बनाउन अझै के चाहिन्छ ?
गतवर्षको मेलामा हामीले पोखरासहित विभिन्न जिल्लाका व्यवसायी साथीलाई बोलाएका थियौं । जिल्लाको उत्पादन लिएर आउनुस् हामी आवासको व्यवस्था गर्छाै भनेका थियौं । तर, व्यवसायीको सहभागिता कम भयो । दुःखलाग्दो कुरा हाम्रा उद्यमी, ग्रामीण क्षेत्रका व्यवसायी बजार विस्तार गर्न जान्दैनन् ।

जबसम्म आफ्नो उत्पादनलाई बाहिर ल्याउन सक्दैनन् तबसम्बम बजारीकरण हुँदैन, बजार पनि बन्दैन । मेलामा होमस्टे मात्र आउने हो भने त्यो बजार बिक्छ । यसलाई ग्रामीण क्षेत्रसम्म समेट्न सकिन्छ । होमस्टे ग्रामीण पर्यटनसँग सम्बन्धित छ । त्यसैले हामीले होमस्टे प्रवद्र्धन गर्न आवश्यक छ ।

हाम्रा मेला महोत्सव दोहोरीमा मात्र सीमित किन भए ? अरु सांस्कृतिक कार्यक्रम आउन सकेनन् नी ?
मेलामा गएपछि जो कोही दर्शकले दिन बिताउन खोज्छ, त्यसका लागि खाली स्टल मात्र घुमेर दिन बित्दैन । आफूले तिरेको शुल्कले रमाउने, खाने, गीतसंगीत  सुन्ने, रमाउने चाहना सबैको हुन्छ । खानामा विविध परिकार चाहिएजस्तै मेलामा पनि फरक–फरक गतिविधि दिनुपर्छ । मेलामा जाने घुम्नका लागि मात्र नभई रमाउनु पनि हो । खान, रमाउन आवश्यक रेस्टुरेन्ट, बच्चा रमाउन बालउद्यान, संगीतप्रेमीका लागि मनोरञ्जन चाहिन्छ ।

मेलाका लक्षित वर्ग पहिचान हुन नसकेको हो ? मेलाले युवापुस्ता किन तान्न सकेन ?
मेला महोत्सव भनेको प्रोडक्ट एक्स्प्लोर गर्ने प्लेटफर्म बनाउने ठाउँ हो । यसमा व्यवसायी र दर्श दुवै सहभागी हुनु जरुरी छ । सबै उमेर समूहको सहभागिता बढाउन आकर्षक कार्यक्रम र गतिविधि गर्नुपर्छ । जस्तै यो वर्ष रोबोटिक राखेका छौं । यसले विद्यार्थीको आकर्षण बढाउँछ । त्यस्तै फरक दर्शक तान्न त्यस्तै कार्यक्रम आवश्यक छ ।

प्रकाशित: २७ पुस २०७४ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App