८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बालिकाको हत्यापछि पाकिस्तानमा दंगा, दुईको मृत्यु

पाकिस्तानको कासुर सहरमा सात वर्षीया जैनबको बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय ।


इस्लामाबाद– पाकिस्तानी सहर लाहोरबाट दक्षिणमा रहेको कासुर सहरमा शृंखलाबद्ध रूपमा बालबालिको हत्या हुन थालेपछि त्यसको विरुद्धमा भएको हुलदंगामा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

बालिकाको अपहरण र हत्याको शृंखला बढिरहेका बेला केही दिनदेखि हराइरहेकी सात वर्षीया जैनबको शव मंगलबार फोहोरको थुप्रोमा भेटिएपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए । उनलाई बलात्कारपछि घाँटी थिचेर मारिएको थियो । कुरान पढ्न जाँदै गर्दा जैनब बेपत्ता भएकी थिइन् । उनको शव घरबाट दुई किलोमिटर पर फोहोर फ्याल्ने ठाउँमा भेटिएको थियो ।

।यस घटना बाहिर आएलगत्तै प्रदर्शनमा उत्रिएका रिसाहा प्रदर्शनकारीले बालिकाको अपहरण, बलात्कार र हत्या रोक्नका लागि प्रशासनले केही नगरेको आरोप लगाएका छन् । जैनबका परिवारले आफ्नो छोरी हराइरहेको बारेमा प्रहरीमा उजुरी दिए पनि प्रहरीले केही कदम नचालेको र आफ्नी छोरी हराउनुपूर्वको सिसिटिभी फुटेज पनि प्रहरीले नभई आफन्तले निकालेको बताएका छन् ।
‘यदि प्रहरीले तत्कालै कदम चालेको थियो भने अपराधीलाई पक्रन सकिन्थ्यो,’ धार्मिक यात्रामा साउदी अरब गएका जैनबका पिताले राजधानी इस्लामाबाद आइपुगेपछि जियो टिभीलाई बताए ।

एक जना मानिसले हात समाएर लाँदै गरेको बालिकाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ ।लाहोरबाट २० किलोमिटर दक्षिणमा रहेको कासुर सहरस्थित प्रहरीको मुख्यालयमा उग्र प्रदर्शनकारीले आगजनी गर्न खोजेपछि प्रहरीले गरेको गोली प्रहारबाट दुई प्रदर्शनकारी मारिएको बिबिसीले उल्लेख गरेको छ ।

कासुर प्रहरीले उक्त क्षेत्रमा पछिल्लो दुई वर्षमा यस्तै प्रकृतिको १२ वटा घटना भएको बताएको छ । जसमध्ये पाँचवटा घटना एक संदिग्धसँग सम्बन्धित भएको र उसलाई सयौं अधिकारीले खोजिरहेको प्रहरीले बताएको छ । उनीहरुका अनुसार पछिल्लो दुई वर्षमा भएको यस्ता घटनामा संलग्न भएका सम्भावित ९० संदिग्धको डिएनएको नमूना संकलन गरिएको छ । प्रहरीले कासुरमा प्रत्येक दुई महिनामा यस्तै प्रकृतिका घटना भइरहेको बताएको छ ।

गत महिना घर नजिकै रहेको सिटी सेन्टरमा रहेको पसल जाँदै गर्दा एक नौ वर्षीया बालिका बाटोबाट नै अपहरणमा परेकी थिइन् । उनी अपहरणकारीको कब्जाबाट भाग्न सफल भएकी थिइन् तर उनीमाथि भएका विभिन्न प्रकारका सोधपुछका कारण उनीलाई मानसिक आघात पुगेको थियो ।

 

प्रकाशित: २७ पुस २०७४ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App