६ वैशाख २०८१ बिहीबार
खेल

सुटिङमा सुस्मिताको अग्रता

काठमाडौं – राखेप च्याम्पियनसिपअन्तर्गत २३औं पुरुष तथा २२औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन बुधबार मध्यमाञ्चलकी सुस्मिता नेपालले महिला १० मिटर एयर राइफलमा ३ सय ८३ अंकको अग्रता लिएकी छिन् ।

सुस्मिताले ४ सय पूर्णांकमा ३ सय ८३ अंक जोड्दै ‘डेब्यु’ राष्ट्रिय प्रतियोगिताको पहिलो दिन खेल सकिँदा पहिलो स्थान हात पारेकी हुन् । ओलम्पियन एवं राष्ट्रिय कीर्तिमानधारी पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणा  त्यत्ति नै अंक लिएर दोस्रो स्थानमा छिन् । यो स्पर्धामा स्नेहाको नाममा ३ सय ८९ अंकको राष्ट्रिय कीर्तिमान छ । लास्ट सिरिजमा सुस्मिता स्नेहाभन्दा २ अंक बढी जोड्दै पहिलो स्थानमा छिन् । सो सिरिजमा सुस्मिताले ९६ र स्नेहाले ९४ अंक जोडेका थिए । अर्की ओलम्पियन नेपाल प्रहरीकी फूलमाया क्याप्छाकी तेस्रो स्थानमा छिन् । फूलमायाको ३ सय ७७ अंक छ ।

पश्चिमाञ्चलका धनबहादुर विक ६ सयमा ५ सय ७४ अंक लिएर पुरुष १० मिटर एयर राइफलतर्फ पहिलो हुँदा पश्चिमाञ्चलका धनबहादुर विक ५ सय ७४ अंकका साथ दोस्रो र मध्यपश्चिमाञ्चलका अर्नभ घिमिरे एवं आर्मीका कुमार कार्की समान ५ सय ६० अंकका साथ तेस्रो स्थानमा छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको पुरुष १० मिटर एयर पेस्तोलतर्फ ६ सयमा ५ सय ४३ अंक जोड्दै नेपाल आर्मीका कुवेर केसी पहिलो हुँदा ५ सय २४ अंकका साथ पूर्वाञ्चलका शत्रुघ्न दास दोस्रो तथा ४ सय ६३ अंकका साथ मध्यपश्चिमाञ्चलका मोहम्मद नुर अहमद अन्सारी तेस्रो स्थानमा छन् ।

सोही स्पर्धाअन्तर्गत ४ सय पूर्णांकको महिलामा आर्मीकी सरिता बस्नेतले ३ सय ५८, मध्यमाञ्चलकी रुविना श्रेष्ठले ३ सय ४३ तथा प्रहरीकी सीमा चौधरीले ३ सय ३१ अंकको प्रदर्शन गरे ।

आआफ्नो स्पर्धामा सहभागी सबै खेलाडीको प्रतिस्पर्धा सकिएपछि शीर्ष पाँच स्थान हात पार्ने खेलाडीलाई पुनः फाइनलमा प्रतिस्पर्धा गराइनेछ । फाइनल २ सय ४० अंकको हुनेछ ।
 

 

 

 

प्रकाशित: २७ पुस २०७४ ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App