coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

म्याथ्युजलाई पुनः जिम्मेवारी

कोलम्बो – श्रीलंकाले मंगलबार अलराउन्डर एन्जेलो म्याथ्युजलाई पुनः सीमित ओभरको खेलका लागि कप्तानको जिम्मेवारी दिएको छ । म्याथ्युजले टोलीको लगातार असफल प्रदर्शनमा आफू जिम्मेवार रहेको भन्दै ६ महिनाअघि एकदिवसीय र ट्वान्टी–२० टोलीको कप्तानबाट राजीनामा दिएका थिए  ।

नयाँ प्रशिक्षक चाण्डिका हाथारुसिंहासँगको छलफलपछि म्याथ्युज पुनः कप्तानको जिम्मेवारी लिने निर्णयमा पुगेको श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष थिलंगा सुमाथिपालाले बताए ।

म्याथ्युजले राजीनामा दिएपछि सीमित ओभरको खेलका लागि उपुल थारंगालाई कप्तानको जिम्मेवारी दिइएको थियो । थारांगाको नेतृत्वमा पनि टोलीले सोचेअनुरूप नतिजा हात पार्न नसकेको भन्दै श्रीलंका क्रिकेटले अलराउन्डर थिसारा परेरालाई कप्तानीको जिम्मेवारी दिएको थियो । तर हालै सम्पन्न भारत भ्रमणमा लज्जास्पद हार बेहोरेपछि बोर्डले परेरालाई कप्तानबाट बर्खास्त गरेको थियो ।

‘टोली खराब लयबाट गुज्रिरहेको छ । हामी विश्वकप २०१९ का लागि बलियो टोली निर्माण गर्नका केन्द्रित हुन आवश्यक छ,’ ३० वर्षे म्याथ्युजले भने, ‘एउटा टोलीमा बलियो नेतृत्व नहुँदा धेरै समस्या आउँछ । त्यसैले टोलीलाई नेतृत्व प्रदान गर्न क्रिकेट बोर्डले गरेको प्रस्ताव स्वीकार गरेको हुँ ।’ यसै महिनाको अन्त्यमा बंगलादेशमा हुने शृंखलासँगै म्याथ्युज पुनः कप्तानको जिम्मेवारीमा फर्कनेछन् ।
 

प्रकाशित: २७ पुस २०७४ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App