coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोको जोखिममा परेका कैदीलाई सुरक्षित स्थानमा सार्न आयोगकाे निर्देशन

दिक्तेल कारागार जोखिममा परेपछि त्रिपालले ढाकिएको पहिरो । तस्बिर सौजन्य: राष्ट्रिय मानव अधिकार आयोग

खोटाङ–पहिरोको कारण उच्च जोखिममा परेको जिल्ला कारागार शाखा खोटाङका कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ। निरन्तर परेको वर्षाका कारण गत साउन–१६ गते आइतबार उत्तर–पूर्वतर्फ करिब ५० मिटर फराकिलो पहिरो गएपछि जोखिममा परेको कारागारका कैदीलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि आयोगले गृह–मन्त्रालयलाई निर्देशन दिएको हो।

कारागारको मुख्य भवनको पेटी र जगसम्म पहिरो गएपछि चर्किएको कारागारका ९४ जना पुरुष, १४ महिला र ५ आश्रित बालबालिकाको जीवन जोखिममा परेकाले उनीहरुलाई तत्काल सुरक्षित स्थानमा सार्नकालागि सरकारलाई पत्राचार गरिएको आयोगकी सदस्य एबं प्रवक्ता मोहना अन्सारीले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनद्वारा प्रदत्त सुरक्षित बाँच्न पाउने प्रत्येक व्यक्तिको जीवन र स्वास्थ्यको अधिकारबाट कारागारका कैदी वञ्चित बनेको, कारागारको पर्खाल चिरा परेका कारण जुनसुकैबेला उनीहरुको जीवन संकटमा पर्ने खतरा देखिएकाले आयोगले कैदीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

पहिरोले कारागारको मुल भवन र दुईवटा सुरक्षा पोष्टको चर बगाएको, महिला कैदी राखिएको भवनको पर्खाल चिरा–चिरा परेको, कारागारको कम्पाउण्डको केही भाग र पहिरोको दायाँबायाँ ९÷१० मिटर खण्ड लच्किएकाले कैदीलाई तुरुन्त स्थानान्तरण गर्न सरकारलाई भनिएको आयोगले जनाएको छ। महिला कैदीको शौचालय र भान्छा कोठासँगै भएका कारण स्वास्थ्यमा समस्या परेको, आश्रित बालबच्चा बिरामी परेको, कैदीले समयमा औषधि नपाउने गरेको, दूषित पानी र ढुसी आएर अमिलिएको चामलको कारण कैदीको स्वास्थ्य अवस्था बिग्रँदै गएको अनुगमनकाक्रममा पाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘प्राकृतिक प्रकोपबाट मानवीय क्षति हुन नदिनेतर्फ संवेदनशीलता देखाइ परिस्थितिलाई मध्यनजर राखी आवश्यक पर्ने उपकरण र सामग्रीको यथोचित व्यवस्था गर्न आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
पहिरो जानेक्रम रोकिएन
गत साउन–१६ गते गएको पहिरोको आकार क्रमशः फैलँदो छ। पहिरो गएको स्थानलाई त्रिपालले ढाक्ने प्रयास गरिएको भएपनि मंगलबार दिनभर भएको वर्षाका कारण राति थप पहिरो झरेको पाइएको राष्ट्रिय मानव अधिकार आयोगका उपक्षेत्रीय कार्यालय खोटाङका लोकनाथ घिमिरेले बताए। करिब सय मिटर अग्लो पहिरोको जोखिम बढेपछि कारागारमा त्रास फैलिएको छ।

हप्ता दिनअघिको पहिरोको कारण पहिरोका कारण जग खुस्किएपछि कारागार र भान्छा कोठाको भवनको सबैभन्दा बढी जोखिममा परेको छ । कारागारको जग र पेटीसम्म पहिरो निस्किएपछि त्यसको ठीक भित्रपट्टी राखिएको महिला कैदीलाई सार्नुपर्ने अवस्था आएको कारागार शाखाका जेलर चित्राखर आचार्यले बताए। कारागारको पक्की कम्पाउण्ड र ढलसमेत बगाएको पहिरोले ट्वाईलेटको सेफ्टी ट्यांक फुटेपछि कारागार क्षेत्रमा दुर्गन्ध फैलिएको छ।

 

प्रकाशित: २६ श्रावण २०७३ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App