coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दिल्लीमा सगुनको मोबाइल एप्स सार्बजनिक, श्रद्धा र मन्दिराले गरे शुभारम्भ

नयाँ दिल्ली – सामाजिक सञ्जालको क्षेत्रमा उदय हुँदै गरेको सोशल कमर्श प्लेटफर्म सगुनको बहुप्रतिक्षित मोबाइल एप्स सार्वजनिक भएको छ।

एन्ड्रोइड भर्सनमा उपलव्ध सगुनको एप्स नयाँ दिल्लीको बाह्रखम्वा रोडस्थित द ललित होटलमा भएको एक भव्य समारोहमा बलिउड अभिनेत्री श्रद्धा कपुर र टीभी पर्सनालिटी मन्दिरा बेदीले एकसाथ शुभारम्भ गरे।

समारोहकी प्रमुख अतिथि श्रद्धाले सगुनको प्रशंसा गर्दै हरेक व्यक्तिको आ आफ्नो दैनिकी हुने र त्यस्ता सबै व्यक्तिलाई आफ्नो दैनिकीलाई व्यवस्थित गर्न सगुनको एप्स काम लाग्ने बताइन। आफ्नो फिल्मी करियरमा सगुनको एप्स दैनिकीलाई व्यवस्थित गर्न काम लाग्ने उनको भनाई छ।

उद्घाटनका क्रममा सगुनका संस्थापक गोविन्द गिरीसँग संवादको शैलीमा प्रस्तुत भएकी श्रद्धाले यस्तो उपयोगी एप्स बनाउने सोच कसरी आयो भनेर सोधेकी थिइन।

जवाफमा गिरीले सामाजिक सञ्जालका क्षेत्रमा देखिएका समस्याहरुलाई कसरी कम गर्न सकिन्छ भनेर योग तथा ध्यानमा रहँदा सामाजिक सञ्जालको यो नयाँ प्लेटफर्मको सोच आएको बताए।

गिरीले योगको प्रसंङ उठाउने वित्तिकै श्रद्धाले पनि सन् २०१८को आफ्नो न्यू एयर रिजोलुसन सम्झिइन।

यो बर्ष अझ संगठित र व्यवस्थित रुपमा योग गर्ने कुरा उनले कार्यक्रममा राख्दै गर्दा बीचैमा कार्यक्रम सञ्चालक मन्दिरा वेदीले थपिन, ‘श्रद्धा तिमीलाई योग गर्ने आफ्नो दैनिकी सम्झाउन पनि अब सगुनले सहयोग गर्छ। सगुनको माइ डे भित्र रहेको रिमाइन्डर तिम्रो लागि काम लाग्छ ।’

जवाफमा श्रद्धाले आफूले सगुनको राम्रा राम्रा फिचरहरुलाई आफ्नो दैनिकीमा प्रयोग गर्ने बताइन। उनले आफूले सगुनको एप्स डाउनलोड गरेको र अरुलाई पनि उपयोग गर्न आग्रह गरिन्।

कार्यक्रममा रहेका सहभागिले कसरी एप्स डाउनलोड गर्ने भनेर श्रद्धा, मन्दिरा र गोविन्दलाई सोधेका थिए। सगुनले एप स्टोरमा गएर सगुनको एन्ड्रोइड डाउनलोड गर्न सकिने बताएको छ।  

सगुनका संस्थापक गोविन्द गिरीले सगुनको एप्स सार्वजनिक कार्यक्रममा यो एप्स मात्र नभइ सामाजिक अभियान भएको बताए। यो अभियानले सामाजिक सञ्चालमा रहेको नकारात्मक भावहरुलाई कम गर्न मद्धत गर्छ गिरीले भने।

उनले दक्षिण एशिया ऋृषिमुनीहरुको तपोभुमि, ज्ञानभुमि र कर्मभुमि भएको उल्लेख गर्दै प्रविधीको क्षेत्रमा पनि अब यस क्षेत्रले पूनर्जागरण शुरु गर्नुपर्ने बताए। ‘सगुनको प्रयास यस क्षेत्रको ज्ञानलाई पूनर्जागरण गर्दै वाँकी विश्वलाई योगदान दिने हो’, गिरीले भने।

भारतका राष्ट्रपिता महात्मा गान्धीको एक भनाइलाई उदृत गर्दै गिरीले भने– ‘अब सगुन विजयतर्फ उन्मुख छ।’ हिजोसम्म खिसी गर्नेहरु, हावामा उडाउनेहरु, झगडा गर्न आउनेहरु अब हाम्रो विजय हेर्न वाध्य हुने विश्वास गिरीले सुनाउँदै गर्दा हलमा रहेकाहरुले उनको भनाइलाई स्वागत गरेको थियो।

‘अब सगुन एउटा नेपालीले शुरु गरेको सामाजिक सञ्जाल भन्ने दायरामा मात्र सिमित छैन यो त अमेरिका, भारत र नेपाललाई जोड्ने सेतु हुँदै छ’ उनले थपे।

सगुनका सहसंस्थापक स्वाती दयालले गिरीको भनाइमा सहमत जनाउँदै दक्षिण एशियालाई समृदीको यात्रामा लैजान पनि सूचना प्रविधी क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताइन। ‘सगुन यसका लागि प्रयास गरिरहेछ’ उनले थपिन।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले सगुनलाई अब आम उपभोक्ताको हातहातमा प्रयोग गर्ने तहमा पुर्याउने चुनौती रहेको बताए।

प्रकाशित: २६ पुस २०७४ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App