अर्घाखाँची – नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। उनले पार्टी एकतालाई विफल पार्न देशी विदेशी शक्तिहरू सल्बलाइरहेता पनि एकता प्रक्रियालाई कसैले पनि रोक्न नसक्ने बताए।
प्रेस चौतारी अर्घाखाँची र प्रेस सेन्टरले सन्धिखर्कमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले पद बाँडफाँडमा कुरा नमिलेका कारण एकता हुन नसकेको भनेर अनावश्यक हल्ला फैलाइएको बताए । नेता ज्ञवालीले पार्टी एकता हुने निश्चित भइसकेको भन्दै आशंका गर्न पनि आग्रह गरे । ‘देशले जित्नु प¥यो, हामी जे जस्तो त्याग गर्न पनि तयार छौं’ उनले भने। उनले पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि कार्ययोजना तय गरिसकेको बताउँदै माघ महिना भित्रै पार्टी एकता हुने बताए।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जनादेशको सम्मान गरी सत्ता हस्तान्तरण गर्नुको साटो अनावश्यक बखेडा झिकेर सत्ता लम्बाउने खेलमा लागेको आरोप लगाए। सचिव ज्ञवालीले सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न आनाकानी गर्नुले सरकारको असक्षमता प्रकट भएको बताए।
‘सबै प्रदेशको राजधानी काठामाडौंमा राखी प्रदेश सांसदले काठामाडौंमा सपथ लिने कुरा संघियताको मर्म अनुकुल छैन’ उनले भने, सकारको यो निर्णय एमालेलाई मान्य छैन।’ उनले अब बन्ने कम्युनिष्ट पार्टीको सरकारले मुलुकमा पाँच वर्षमा धेरै परिवर्तन ल्याउने दाबी गरे। कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. १ का सदस्य चेतनारायण आचार्य, क्षेत्र नं. २ का सदस्य रामजी प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: २६ पुस २०७४ ११:०० बुधबार