५ वैशाख २०८१ बुधबार
अर्थ

प्रत्येक दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं– सेयर बजारले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । प्रत्येक दिन ४ घन्टा कारोेबार हुनुपर्नेमा मंगलबार भने उच्च अंकले बढेर नयाँ रेकर्ड बनाउँदै आधा घन्टामात्रै कारोबार भएर बन्द हुन पुग्यो।

नेपाल धितोपत्र बोर्डले कालो धनको खोजी गर्ने भनेका कारण गत सातादेखि ओरालो लागेको सेयर बजार मंगलबार पटकपटक सर्किट ब्रेक लाग्दै उच्च अंकले बढेको हो । बोर्डले कालोधनको खोजी गर्न गठन गरेको समिति भंग गरेपछि एकाएक लगानीकर्ता उत्साहित हुँदा २७ मिनेटमात्र सेयर कारोबार भएको छ ।

सेयरमा स्रोत नखुलेको सम्पत्ति लगानी भएको भन्दै बोर्डले छानबिन गर्ने तयारी थालेपछि एकाएक लगानीकर्ता पछि हट्दा घट्न पुगेको बजार मंगलबार भने निकै थोरै सयमा माथि उक्लियो । सोमबार ५ प्रतिशतले बजार घटेपछि बोर्डले लगानीकर्तालाई केही सान्त्वना मिल्ने निर्णय सार्वजनिक गरेको थियो । त्यसैको परिणामस्वरुप बजार बढेको सरोकारवाला बताउँछन् ।

११ बजे बजार खुलेको १९ मिनेटमै नेप्से ३ प्रतिशतले बढेर १५ मिनेटका लागि कारोबार स्थगित हुन पुग्यो। १५ मिनेटपछि ११ बजेर ३४ मिनेटमा फेरि कारोबार सुरु भए पनि जम्मा ६ मिनेटको कारोबारमा फेरि १ प्रतिशतले बजार बढेर अर्को सर्किट लाग्यो र बजार ३० मिनेटका लागि बन्द भयो । यस अवधिमा ६९ कम्पनीको मात्र सेयर किनबेच भएको थियो ।

१२ बजेर १० मिनेटमा फेरि बजार खुल्यो । २ मिनेट पनि कारोबार हुन नपाउँदै कारोबार मंगलबार दिनभरिका लागि स्थगित भयो । बजार बन्द हुँदा ८४ कम्पनीका ३ लाख १० हजार कित्ता ८ सय ७७ कित्ता सेयरको १ हजार १ सय कारोबारबाट २९ करोड ८३ लाख ३२ हजार ७ सय ८५ रुपैयाँको किनबेच भयो । बजार बढेर ३ पटक सर्किट ब्रेक लाग्दा पनि ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

आठ दिनको गिरावटपछि सेयर बजार मंगलबार उच्च अंकले बढेको छ । सोमबार अढाई घन्टामा ८९ बिन्दुले घटेको बजार मंगलबार ८४.५१ ले बढेर बन्द भयो । मंगलबार नेप्से १७६०.४२ अंकमा पुगेको छ ।

सबैभन्दा धेरै बैंकिङ र होटल उपसूचक बढेका छन् । प्राइम कमर्सियल बैंक, नेपाल बैंक र शिखर इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

मंगलबार सेयर बिक्रेताको तुलनामा खरिदकर्ताको उच्च चाप रहेको कारण लगातार वृद्धि भएको ब्रोकरहरुको भनाइ छ ।

 

 

प्रकाशित: २६ श्रावण २०७३ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App