८ वैशाख २०८१ शनिबार
समाज

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन

चितवन – अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनीतिक दल र नागरिक समाजले छुट्टाछुट्टै आयोजना गरेका कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागी भए । डा.केसीले सर्वसाधारणका लागि लडेको हुँदा उनको समर्थन गर्नु नागरिक दायित्व भएको सहभागीहरूको प्रतिक्रिया थियो ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आएका केसीलाई सोमबार अदालतको अवहेलनाको आरोपमा सर्वोच्च अदालतमा परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो । केसीको अनशनकै बेलामा बर्खास्त भएका चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशी शर्मालाई पुनर्बहाली गर्ने आदेश सर्वोच्च अदालतले दिएपछि डा.केसी असन्तुष्ट भएका थिए ।

वरिष्ठताको आधार वा मापदण्ड बनाएर डिन नियुक्त गर्नु पर्नेमा त्यसो नगरेको भन्दै डा.केसीले अनशन सुरु गरेपछि सरकारले चार वर्षअघि शर्मालाई बर्खास्त गरेको थियो । अदालतले सरकारको निर्णय उल्ट्याउँदै शर्मालाई चार दिनका लागि भए पनि डिनमा फर्काउने आदेश दिएपछि डा.केसीले प्रधान्याधीश गोपालप्रसाद पराजुलीविरुद्ध टिप्पणी गरेका थिए ।

सोही टिप्पणीका आधारमा पक्राउ परेका केसीलाई तत्काल छाड्न माग गर्दै मंगलबार साँझ सोलिडारिटी फर डा.गोविन्द केसी एलायन्सले भरतपुर चौबीसकोठीमा पाँच बजेदेखि आधा घण्टा प्रदर्शनको आह्वान ग¥यो । सो आह्वानबमोजिम प्रदर्शनमा सर्वसाधरण र राजनीतिक दलका नेताकार्यकर्ता सहभागी भए । प्रदर्शनमा चितवन क्षेत्र नं. २ प्रदेशसभा (ख) का निर्वाचित सदस्य विजय सुवेदीसमेत सहभागी भए ।

त्यस्तै विवेकशील साझा पार्टीका नेता भूपेन्द्र बस्नेतलगायतका नेता तथा अन्य युवा, विद्यार्थी एवं सर्वसाधारणले डा.केसीको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरे । केसीले सर्वसाधरणको हितका लागि मेडिकल शिक्षामा थितिको माग गरेका कारण उनको जायज अभियानलाई हतोत्साहित बनाउने काम कसैले पनि गर्न नहुने  प्रदर्शनमा सहभागी विवेकशील साझा पार्टीका नेता बस्नेतले बताए ।

एलायन्सले डा.केसीको पक्षमा उनको आठौं अनशनदेखि नै प्रदर्शन गर्दै आएको छ । पछिल्लोपटक डा.केसीको समर्थनमा भरतपुरमा रिले अनशनसमेत आयोजना भएको थियो । त्यस्तै मंगलबार दिउँसो भरतपुरमा नै डा.केसीको समर्थनमा नयाँ शक्ति पार्टी नेपालले पनि प्रर्दशन गरेको छ । डा.केसीले तीन करोड नेपालीको सरोकारलाई लिएर आफ्नो ज्यान नै धरापमा पार्दै अभियान चलाउँदै आएको सो पार्टीले जनाएको छ ।

‘डा.केसीले जनसरोकारका मागहरू उठाएर शान्तिपूर्ण संघर्ष गर्दै आएका छन् । सरकारले उहाँको जायज मागलाई पूरा गर्न सधैं आनाकानी गर्छ । वास्तवमा सरकारले जनताको जीवनप्रति मजाक नै गरेको छ । यस्तो बेलामा केसीलाई पक्राउ गर्नु कदापि उचित छैन,’ सो पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

गोविन्द केसीमाथि भएको पछिल्लो कारबाहीले शान्तिपूर्ण आन्दोलनकर्तालाई तनावतर्फ धकेल्न खोजेको उक्त पार्टीका चितवन संयोजक विष्णुहरि तिमल्सेनाले निकालेको विज्ञप्तिमा भनिएको छ । सरकारले डा.केसीका न्यायोचित मागको तत्काल सुनुवाइ गर्नुपर्ने र उनलाई रिहाइ गर्नुपर्ने नयाँ शक्तिले माग गरेको छ ।

 

प्रकाशित: २६ पुस २०७४ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App