८ वैशाख २०८१ शनिबार
समाज

कृष्ण अधिकारी हत्या प्रकरण : मुद्दाको पेसी सरेको सरैै

चितवन- माओवादी सशस्त्र संघर्षका बेला चितवन रत्ननगरमा मारिएका गोरखा फुजेलका कृष्ण अधिकारीका हत्यारालाई कारबाही माग गरी चितवन जिल्ला अदालतमा दायर मुद्दामा अन्तिम फैसला सुनाउन निकै ढिलासुस्ती भएको छ । मुद्दा दायर भएको पौने चार वर्ष र अन्तिम बहस सकिएको पनि एक वर्षभन्दा बढी भयो तर फैसला हुने भनेर तोकिएको पेसी पटकपटक सरिरहेको छ ।
    पेसी परेको दिन सम्बन्धित न्यायाधीश प्रायः बिदामा बस्ने गरेका छन् । यसपटक पनि त्यस्तै भयो । बुधबारलाई सो मुद्दाको पेसी तोकिएको थियो तर मुद्दा हेर्नुपर्ने न्यायाधीश कुलप्रसाद शर्मा केही दिनदेखि बिदामा छन् । अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलले मंगलबार जनाएअनुसार न्यायाधीश शर्मा बिदामा भएका कारण बुधबारको पेसीमा सुनुवाइ हुनेछैन ।
    ‘चुनावसम्बन्धी प्रतिवेदन बुझाउन निर्वाचन आयोग जानुपर्ने भएका कारण उहाँ (शर्मा) बिदामा हुनुहुन्छ । माघ २ गतेसम्म उहाँको बिदा छ । उहाँ नभएपछि अरु न्यायाधीशले यो मुद्दा हेर्नुहुँदैन । त्यसैले पेसी तोकिए पनि निर्णय आउने अवस्था रहेन’, पौडेलले भने । शर्माको इजलासमा परेर पनि यो मुद्दाको पेसी दुईपटक सरिसकेको छ ।

पेसी परेको दिन सम्बन्धित न्यायाधीश प्रायः बिदामा बस्ने गरेका छन् । यसपटक पनि त्यस्तै भयो । बुधबारलाई सो मुद्दाको पेसी तोकिएको थियो तर मुद्दा हेर्नुपर्ने न्यायाधीश कुलप्रसाद शर्मा केही दिनदेखि बिदामा छन् ।

यसअघि कात्तिक १२ गते पनि उक्त मुद्दाको पेसी तोकिएको थियो । त्यति बेला शर्मालाई चितवनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकिइसकेको थियो । पेसीकै दिन भरतपुरमा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफल आयोजना भयो । प्रतिवादीका कानुन व्यवसायी गोपिलाल देवकोटाले ‘नभ्याउने’ भनेर निवेदन दिएका आधारमा सो दिन कारबाही अगाडि बढेन । त्यसपछि मंसिर २५ लाई पेसी तोकियो ।
    मंसिर २५ मा जिल्लामा मतगणनाको चटारो थियो । मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेका न्यायाधीश शर्मा इजलासमा आउन सक्ने अवस्था रहेन । त्यसपछि पुस २६ लाई तोकेको पेसी पनि ‘निर्वाचन प्रतिवेदन’ बुझाउन न्यायाधीश बिदामा बस्दा त्यसै गुज्रिने भएको छ । शर्माको पालामा मात्रै होइन, यसअघिका दुई न्यायाधीशका पालादेखि नै यही क्रम चल्दै आएको छ ।
उक्त मुद्दा २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा दायर भएको थियो । मुद्दाको पक्षविपक्षका कानुन व्यवसायीले गरेको मौखिक बहस गत वर्षको असोज ११ गते नै सकिएको थियो ।  मौखिक बहस सकिएलगत्तै तत्कालीन न्यायाधीश टेकनारायण कुँवरले लिखित बहस नोट पेस गर्न आदेश गरेका थिए ।
सामान्यतया बहस सकिएलगत्तै फैसला आउने गर्छ । यसमा भने ‘विशेष मुद्दा’ भन्दै लिखित बहस माग भएको थियो । २०७३ असोज ११ मा भएको सो आदेशअनुसार कात्तिक ५ गते पक्षविपक्षका कानुन व्यवसायीले अदालतमा लिखित बहस नोट पेस गरेका थिए । त्यसपछि सोही महिनाको कात्तिक २३ लाई पेसी तोकिएको थियो । कात्तिक २३ मा अदालतमा न्यायाधीश उपस्थित नभएपछि मंसिर १२ गतेलाई अर्को पेसी तोकियो । मंसिर १२ को पेसीभन्दा अघि नै तत्कालीन जिल्ला न्यायाधीश कुँवर बेलायत भ्रमणमा गएपछि फेरि पुस २५ गतेलाई नयाँ पेसी तय भयो । सो दिन पनि पेसी सारेर माघ १९ लाई तोकिएको थियो ।
 

मुद्दाकै क्रममा न्यायाधीशको बढुवा
अघिल्लो वर्षको माघ १९ लाई पेसी तोकिएको बखत मुद्दा हेर्दै आएका जिल्ला न्यायाधीश कुँवर बढुवा भएर उच्च अदालतको न्यायाधीश भए । कुँवरको पालासम्म पाँचपटक पेसी तोकिएर पनि मुद्दाको सुनुवाइ भएन । त्यसपछि एक नम्बर न्यायाधीश भएका कविप्रसाद न्यौपानेको समयमा पनि यो मुद्दाको अवस्था त्यस्तै भयो । न्यौपानेको पालामा पनि स्थानीय चुनावको चटारोले पेसी चढ्ने तर फैसला नहुने क्रम रोकिएन ।
न्यौपानेपछि एक नम्बर न्यायाधीश भएर आएका शर्माको पालामा पनि उही अवस्था दोहोरिरहेको छ । ‘यो मुद्दा एक नम्बर न्यायाधीशकै बेन्चमा परेको छ । गोला थुत्दा नै त्यसो हुनेगरेको हो । पेसीको बेलामा उहाँहरु बिदामा हुनुभएका कारण निर्णय नआएको हो । बिदामा बसेको १५ दिनसम्म अन्य न्यायाधीशले मुद्दा हेर्ने चलन छैन’, सूचना अधिकारी पौडेलले भने ।
केही दिनअघि चितवन जिल्ला अदालतले राखेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो अदालतमा दुई वर्ष नाघेका तीनवटा मुद्दामात्रै रहेको जानकारी गराइएको थियो । त्यसमध्ये अधिकारीको मुद्दा पनि पर्छ । अन्य दुई गैंडासम्बन्धी मुद्दा छन् ।
‘यसअघिका श्रीमान् (न्यायाधीश)  र म पनि तत्कालै चुनावमा भिड्नुपरेका कारण यो मुद्दा किनारा लाग्न नसकेको हो । अब किनारा लाग्छ’, नियमित पत्रकार भेटघाटका क्रममा न्यायाधीश शर्माले भनेका थिए । गएको मंसिर ४ गते जिल्ला भ्रमणका आएका बेला प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पनि ‘केही पुराना’ मुद्दा रहेको भन्दै निर्देशनकै शैलीमा ‘चाँडो टुंग्याउनुहोला’ भनेका थिए ।
१४ वर्ष पुरानो घटनामा अनेक थरी विलम्ब
अधिकारीको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै तत्कालै प्रहरीमा उजुरी दिएका थिए ।
लामो समयसम्म कारबाही नभएपछि कृष्ण अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । उनीहरु अनशनमा बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजुरीबारे अनुसन्धान सुरु गरेको थियो । उजुरीमा संलग्नमध्ये केहीलाई समाएर अनुसन्धान गरी मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुन सकेको थिएन ।
नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत मसान्तमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ जना प्रतिवादी कायम भएका थिए । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाडेको थियो ।
सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्त पनि फरकफरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए । बयान दिन आएकामध्ये केही साधरण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए । सो मुद्दाका एकजना अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन् ।
चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । उनी पक्राउ भने परेका छैनन् । अनशनकै क्रममा कृष्णप्रसादका बुबा नन्दप्रसादको मृत्यु भइसकेको छ तर अझैसम्म दाहसंस्कार भएको छैन । आमा गंगामाया अझै पनि अनशनमै छिन् ।
    यो मुद्दामा बहसअघि र बहस सकिएपछि पनि गरेर कुल २० पटकसम्म पेसी सरेको छ । सशस्त्र संघर्षका बेलाको घटना अदालतमा लगेको भनेर सो बेलाको विद्रोही पक्ष माओवादीका सबै घटकले विरोध गर्दै आएका छन् । सो घटनामा माओवादीका कुनै नेताविरुद्ध भने मुद्दा परेको छैन । सबै अयिभुक्त मृतक अधिकारीका आफन्त र छरछिमेकी हुन् ।

 

प्रकाशित: २६ पुस २०७४ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App