coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उखु किसानलाई ‘मिठा’ उद्योगको साहरा

पर्साको धोबिनीमा सञ्चालित ‘खडसारी’ अर्थात मिठा उद्योग ।

वीरगन्ज – किसानका लागि उखुको गुलियो जोगाउने काम गरेका छन् ‘मिठा’ (भेली) बनाउने उद्योगले । स्थानीय बोलीमा खडसारी वा कोल्हु भनिने यस्ता उद्योगले पर्सामा उखु खेतीको चलन जोगाइराख्न मद्दत मिलेको छ । ‘चिनी कारखानाको मनोमानीले आजित किसान उखु खेती छाड्दै गएका छन्,’ बलुवाका किसान चिरिञ्जिवी यादवले भने, ‘थोरैले मात्रै अब उखुखेती गरिरहेका छन्, गाउँतिरका ‘खडसारी’ले उखु किनिदिने गरेपछि किसान र त्यस्ता उद्योग दुवै बाँचेका छन् ।’

उनका अनुसार आफूसँग ट्याक्टर र उखु कटाई तथा ढुवानीमा खट्ने मानिस भएका किसानले मात्र बाराको मनहर्वास्थित रिलायन्स चिनी कारखानामा उखु लैजाने गरेका छन् । पर्सामा उखु खेती ३३ प्रतिशतले घटेको जिल्ला कृषि कार्यालयको रेकर्ड छ । कार्यालयको बाली विकास शाखाका अनुसार डेढ हजार हेक्टर खेतमा रहेको उखु अहिले हजार हेक्टरमा सीमित हुन पुगेको छ । घट्नुको कारण हो पोहोर किसानले खेतमा नयाँ उखु नै लगाएनन् ।

एकपटक लगाएर तीन बाली काटिने उखु यसपालि अधिकांश दुई वर्षअघिका पुराना बाली हुन् । ‘चिनी उद्योगले बेलैमा उखु किनिदिएन, बेंचिएको उखुको भुक्तानी किसानले समयमा नपाउदा धाउनु प¥यो, बाध्य भएर भारतमा उखु लैजानु पर्दा दुःख पाइयो,’ शिबर्वाका किसान बुनिनारायणले भने । यसले गर्दा बितेको वर्ष उखु बाली लगाउनेमा कमी आयो र अहिले उखु उत्पादन घटेको हो ।

नगदे बालीको रुपमा किसानले रोजेको उखुमा अनेक समस्या भएपछि अवस्था बदलिएको हो । आर्थिक वर्ष ०७१÷७२ मा पर्सामा करिब चार सय हेक्टर उखु किसानले आफै नष्ट गरिदिए । कसैले एक बाली काटेर अर्को दुई बालीको आस मार्दै खेत खाली गरे । कसैले भने बाली उखेलेर दाउरा बनाए । त्यतिबेला जिल्लामा १५ देखि २० करोड रुपैयाँ बराबरको उखु नोक्सान भएको अगुवा उखु किसान मसियानीका हरिराज यादव बताउँछन् । ‘मैले आठ बिघामा उखु रोपेको छुँ, पोहोर चिनी कारखानाले प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ मूल्य तोकेको थियो, यसपालि मूल्य खुलेकै छैन्,’ पोखरिया नगरपालिकाका निर्वाचित प्रमुखसमेत रहेका युवा किसान दिपनारायण रौनियारले भने, ‘सरकारले उखुको मूल्य तोक्ने कुनै पहल गर्नुपर्ने थियो, त्यो नहुँदा हरेक वर्ष लहेंड (विवाद) हुने गरेको छ, हेरौं यो वर्ष के हुन्छ ?’

अहिले पर्सामा आफूसंग ट्याक्टर लगायत स्रोतसाधन भएका रौनियारजस्ता ठूला किसान बाराको मनहर्वास्थित रिलायन्स चिनी कारखानामा उखु लैजाने गरेका छन् । साना किसानलाई भने ‘खडसारी’मा उखु पेलेर रस निकाली मिठा बनाउने उद्योगले उखु किनिदिएर उखु खेतीमा उनीहरु टिकिरहेका छन् । लंगडीका लालबाबु प्रसादका अनुसार नजिकैको धोबिनीको एउटा खड्सारीले त्यताका साना किसानको उखु किनिदिने गरेको छ । पर्सामा करिब दर्जन कोल्हु÷खड्सारी छन् ।

‘प्रतिदिन ५० क्विन्टल उखु मैले यहाँ पेल्ने गरेको छुँ,’ पर्साको गादीस्थित रंगपुरमा ‘खडसारी’ चलाउने सोनबर्षाका प्रमोद साहले भने, ‘१० जना काम गर्नेले यो धानिएको छ ।’ किसानबाट खडसारीले यो वर्ष चार सय २५ रुपैयाँ प्रतिक्विन्टल भाउमा उखु किन्ने गरेका छन् । १० लाख रुपैयाँ लागतको सानादेखी २५ लाख लागतमा बनेका अलिक ठूला खाले खडसारी पनि छन् । उखु किसानका लागि ‘खडसारी’ उद्योगले एउटा साहरा दिएको छ भने यसका उद्यमीलाई रोजगारी । खडसारी चलाउनेहरु सिजनमा दुईदेखि पाँच लाखसम्म नाफा आर्जन गर्ने गर्छन् ।

दुई दशकअघि वीरगन्ज चिनी कारखाना चलिरहँदा पर्सामा पाँच हजार हेक्टरभन्दा बढीमा उखुखेती हुने गरेको थियो । ०२१ सालमा सोभियत रुसको सहयोगमा स्थापित नेपालकै ठूलो उद्योगको रुपमा रहेको वीरगन्ज चिनी कारखाना ०५९ फागुन १६ गते तत्कालीन मन्त्रीपरिषदको बैठकले खारेजीको निर्णय ग¥यो । यो सरकारी चिनी कारखाना बन्द भएयता यस भेगका किसानका लागि उखु खेतीको विकल्प हराएर नगदे स्रोत मात्र खोसिएको छैन उखुको भाउ निर्धारणमा देशैभर बर्सेनि किचलो देखिने गरेको छ ।

 

 

 

प्रकाशित: २६ पुस २०७४ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App