८ वैशाख २०८१ शनिबार
अर्थ

१३ प्रजातिका जडीबुटी निकासी

बाजुरा – हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी गर्न थालिएको छ । हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायत प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी निकासी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष ०७४÷७५ मा हरेक मौसममा फरकफरक प्रजातिका जडीबुटी संकलन गर्न अनुमति दिएको निमित्त जिल्ला वन अधिकृत मनकुमार छन्त्यालले जानकारी दिए । हिमाली गाउँपालिकाको बिच्छ्या र रुगिन तथा गौमुल गाउँपालिकाकोे दहकोटलगायत क्षेत्रबाट जडीबुटी संकलन गर्ने गरिएको छ ।

मंसिरसम्म १३ प्रजातिका जडीबुटी संकलन भइसकको छ । एउटा जातको जडीबुटी छदेखि आठजना ठेकेदारले संकलन तथा पैठारीको अनुमति लिने गरेका छन् । सेतक चिनी एक हजार १९ क्विन्टल, साधारण च्याउ ३० क्विन्टल र टिमुर २१ क्विन्टल संकलन गरी नेपालगञ्ज पठाइएको छ ।

यसैगरी, चिराइतो १२ क्विन्टल ५० किलो, काँकडसिंगी आठ सय किलो, सुगन्धवाल पाँच सय किलो, पदमचाल पाँच सय किलो, कटुकी चार सय किलो, सुनाखरी सुनगाभा एक सय किलो तथा सफेज दुई हजार सात सय किलो संकलन गरिएको छ ।

जिल्ला वन कार्यालयले काला दाना चार सय किलो, लोक्ता ५० क्विन्टल र अल्लो एक हजार किलो संकलन गरेको छ । सामुदायिक वन र राष्ट्रिय वनबाट उक्त प्रजातिका जडीबुटी संकलन गर्न पाउने प्रावधान छ । राष्ट्रिय वनबाट संकलन गरिएका जडीबुटीको प्रतिकिलो १० प्रतिशत र सामुदायिक वनलाई प्रतिकिलो ७५ पैसाका दरले राजस्व तिर्नुपर्ने प्रावधान रहेको निमित्त वन अधिकृत छन्त्यालले बताए । (रासस)
 

प्रकाशित: २६ पुस २०७४ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App