७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्याराग्लाइडिङको सम्भावना खोज्दै दिप्रुङ गाउँपालिका

पर्यटन प्रवद्र्धनका लागि खोटाङको दिप्रुङ गाउँपालिकाले मंगलबार बतासेमा गरेको प्याराग्लाइडिङ टेस्ट हेर्नका लागि भेला भएका स्थानीय ।

खोटाङ – पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक आयस्रोत सिर्जना गर्नका लागि खोटाङको दिप्रुङ गाउँपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन प्रवद्र्धन गर्दै गाउँमा स्वरोजगारको वातावरण निर्माण गर्न मंगलबार दिप्रुङ गाउँपालिका–४ बतासेको भीरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो ।

पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा चारजना प्याराग्लाइडरमार्फत प्याराग्लाइडिङको परीक्षण गरिएको हो । भीरचुङ्माडाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्नेगरी प्याराग्लाइडिङको सफल परीक्षण गरिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

बतासेको भीरचुङ्माडाँडाबाट एकैसाथ चारवटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए । चार प्याराग्लाइडर आधा घन्टामा सानो भँडारेघाट अवतरण गरेका थिए । दिप्रुङ गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आर्थिक समृद्धिका लागि प्याराग्लाइडिङ व्यवसायको सम्भावना खोजी गरिएको गाउँपालिका प्रमुख राईले बताए । ‘पर्यटन प्रवद्र्धन गर्दै आर्थिक स्रोतको सम्भावनाको खोजीमा प्याराग्लाइडिङको परीक्षण गरिएको हो,’ गाउँपालिका प्रमुख राईले भने, ‘प्याराग्लाइडिङको परीक्षण उडान सफल हुँदा हामी उत्साहित भएका छौं ।’

केही समयपछि सुनकोसीमा ¥याफ्टिङ व्यवसायसमेत सञ्चालन गरेर पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । प्याराग्लाइडिङका लागि गाईघाट–दिक्तेल सडक खण्डको भँडारेघाटबाट टुवाखोला–पञ्चमी सडक हुँदै एक घन्टाको यात्रापछि भीरचुङ्माडाँडा पुग्न सकिन्छ । प्याराग्लाइडिङ र ¥याफ्टिङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई दिप्रुङ गाउँपालिका–६ छितापोखरी र दिप्रुङ गाउँपालिका–७ टेम्माकोबीचमा रहेको धिप्लुङ झरनासम्म पु¥याउने र ओझेलमा परेको झरनाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको राईले बताए ।

प्याराग्लाइडिङ परीक्षण सफल भएकाले प्याराग्लाइडिङ व्यवसाय सञ्चालनका लागि कम्पनी दर्ताको कामलाई प्रोत्साहित गरिने जनाइएको छ । अन्य ठाउँको तुलनामा बतासेको भीरचुङ्माडाँडामा प्याराग्लाइडिङको सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले बताए । प्याराग्लाइडिङ परीक्षणकाक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो । नौलो व्यवसायको अभ्यासका कारण स्थानीय उत्सुकताका साथ भीरचुङ्माडाँडामा भेला भएका थिए ।

उडान भर्ने र ल्यान्ड गर्ने ठाउँमा आवश्यक संरचना, होटल, सडक स्तरोन्नति लगायत पूर्वाधारको तयारी गरे बतासेमा प्याराग्लाइडिङ व्यवसाय सफल हुने ओपन स्काई प्याराग्लाइडिङ पाइलट नुरेन लामाले बताए ।


 

प्रकाशित: २६ पुस २०७४ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App