coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

दलवादको दलदलमास्वार्थ समूह

नेपाली प्रजातान्त्रिक आन्दोलनको युवा मेरुदण्ड प्रमाणित नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशन उद्घाटन भइसकेको छ । २०२७ सालमा अहिंसा र सत्याग्रहको राजनीतिलाई प्रधान रणनीति बनाएर जेलजीवन रोज्ने नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले उद्घाटन गरी आरम्भ विद्यार्थीहरुको यो संस्थाले निर्दलीय निरंकुशताविरुद्ध सशक्त आन्दोलनको नायकत्व गरेको थियो । २०४६ सालसम्म विद्यार्थी समूह राजनीतिक परिवर्तनका सर्वाधिक विश्वसनीय र सवल आधार थियो । त्यसको केही समयसम्म प्रादुर्भूत विद्यार्थी नेताहरु अहिले लोकतान्त्रिक राजनीतिमा समेत प्रभावकारी देखिएका छन् । २०२७ देखि २०४६ सम्मको नेतृत्व सुदृढ, संगठित र  एक प्रकारले लोकतन्त्रकाप्रति समर्पित थियो र त्यसमा कमोवेस पवित्र  भावना विद्यमान थियो । तर अबका दिनमा विद्यार्थीको भूमिकालाई नयाँ दिशामा मोड्नु आवश्यक भएको छ । यथार्थमा अब विद्यार्थीले राजनीतिक दलको औजार हुने कि स्वतन्त्र चिन्तनकासाथ स्वार्थ समूहको रक्षार्थ  उभिने ? स्पष्ट बाटो अवलम्बन गर्ने समय आएको छ । स्वार्थ समूहको अर्थलाई दलभित्रको कुनै गुट÷उपगुट वा कुनै दलको नेतृत्व वा यस्तै बुझ्नेहरु पनि हुनसक्छन् । स्वार्थ समूहलाई पेसासंँग, पेसाको मर्यादासँग र पेसाको विकाससँग जोडेर बुझ्नुपर्नेछ ।

नेपाल विद्यार्थी संघको स्थापनाकालदेखिको जीवन गणना गर्दा ४५ वर्ष पूरा भएको छ । तर भर्खर एघारौं महाधिवेशन हुँदैछ । लोकतन्त्रका निम्ति काम गर्ने युवा समूहको वैचारिकधार धारिलो बनाउने, संगठितरूपमा अलोकतान्त्रिक विचार मान्यताविरुद्ध सशक्त वैेचारिक प्रहार गर्नसक्ने, आवश्यक परेका अवस्थामा साहसपूर्णरूपले प्रतिरक्षा र प्रतिस्पर्धा गर्नसक्ने परिमार्जित नेतृत्व विकासकालागि ठीक समयमा महाधिवेशन र नेतृत्व चयन हुनुपर्नेथियो । तर करिब४५ वर्षको अवधिमा जम्मा एघारमात्र महाधिवेशन हुनु लोकतान्त्रिक परिवर्तन र विकासकालागि स्थापित संस्था निम्ति लज्जाजनक मान्नुपर्ने हुन्छ ।२०४६ पछि पनि करिब सत्ताइस वर्ष व्यतीत भएको छ र पछिल्लो पटक छ महिनाभित्र महाधिवेशन गर्न गठित समितिले आफ्नो कार्य अक्षमता र नालायकीपन प्रमाणित गर्दै पाँच वर्ष निरर्थक गुमाउन पुगेको छ । करिब नौ वर्षपछि हुन लागेको महाधिवेशनमा समेत प्रतिनिधित्वको विवादले सगरमाथाको उचाइ नाघेको देखिन्छ । लोकतन्त्रसम्मत प्रतिनिधित्व हुन सकेन, विधिसम्मत सदस्यता र प्रतिनिधि चयन भएनन् भन्ने कारण र यसमा विधिसम्मत हुनुपर्ने माग गर्दै अनशनमा बस्न पुगेको दृश्य लोकतन्त्रवादीहरुकालागि प्रिय हुनसक्दैन । यसरी माग गर्दै अनशनमा बस्नुपर्ने परिस्थितिका सर्जकहरुनै नेपाली कांग्रेसमा पुरस्कृत भइरहेको देखिन्छ । जसले आफ्नो भूमिका निर्धारित समयमा निष्पन्न गरेनन् तिनीहरुलाईनै दलगत गुट र सन्तुलनका आधारमा पुरस्कृत र सम्मानित गर्ने काम नेपाली कांग्रेसले गरेपछि नेतृत्वप्रति विश्वास रहनैपर्ने बाध्यता संगठनमा आबद्धहरुमा हँुदैन ।

यसैपनि नेपाली कांग्रेस कांग्रेस नभएर केही स्वार्थ समूह र केही शीर्ष नेताहरुको मोर्चा जस्तो भएको छ । मोर्चाका रूपमा रहेको दलमा लोकतान्त्रिक संस्कार र सक्रियताको खोजी काकाकुलको पानीतृष्णाबाहेक केही पनि हुनसक्दैन । तैपनि लोकतन्त्रको अविच्छिन्न मेरुदण्ड भएर काम गरेको युवापंक्तिलाई सही बाटोबाट प्रेरित गर्नुपर्छ भन्ने मान्यता आमरूपमा रहेको हुनाले त्यो चाहना यहाँ पनि प्रकट भइरहेको छ । नेपाल विद्यार्थी संघको स्थापना लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको सहयोगीका रूपमा भएपनि यसलाई संस्थागत गर्न, विधिसम्मत गराउन, क्रियाशील गराउन र समयअनुसार भूमिका निर्धारण गर्ने सामथ्र्य राखेको देखिँदैन । नेपाली कांग्रेसको आजको शीर्ष नेतृत्व नेपाल विद्यार्थी संघबाटनै  प्रशिक्षित छ । हिजोका दिनमा अर्थात् सुशील कोइरालासम्म पार्टीको नेतृत्वगर्नेहरुमा नेपाल विद्यार्थी संघको शिक्षा थिएन । तर शेरबहादुर देउवा र  उहाँको समकालीन प्रतिस्पर्धी पुस्ताले वर्तमानमा नेपाली कांग्रेसको नेतृत्व पाएको छ । यसबेला कम्तीमा पनि नेपाल विद्यार्थी संघको आवश्यकता, यसको भूमिका र यसमा रहेका चुनौतीको समीचीन मूल्यांकन गरी आगामी नेतृत्व विकासको बाटो खोल्ने काम हुनेछ भनेर आकांक्षा राख्नु अन्यथा हुने छैन । हिजोको अवस्थामा नेपाल छैन । राजनीतिले नयाँ आयाम वरण गरेको छ । अनेक संस्था र व्यक्तिका भूमिका परिवर्तित भएका छन् । परिवर्तित हुन नसकेका भूमिकालाई पनि सान्दर्भिक बनाउनु अनिवार्य भइसकेको छ । यस्तो समयमा नेपाल विद्यार्थी संघको महाधिवेशन हुन लागिरहेको छ ।यसैकारण यो महाधिवेशनले विगतको मूल्यांकन गर्दै आउने दिनमा संस्थाको भूमिका स्पष्टतः निर्धारण गर्नैपर्ने हुन्छ।

यतिखेर शिक्षा क्षेत्र दलीयकरणले तहसनहस भएको छ । विद्यार्थी संगठनहरु भ्रष्टाचार, अपसंस्कार, अराजकता, अनुशासनहीनता र दलीय संकीर्णताका भरिया भएको अवस्था वर्तमान हो । त्यसमा पनि दलभित्र विकसित अराजक, अनुशानहीन, महत्वाकांक्षा र अहंकारपूर्ण प्रतिस्पर्धाले हुर्काइरहेको ध्रुवीकरणको माखेसांग्लोका औजार हुनपुगेका छन् विद्यार्थी संगठनहरु । नेपालको आजको शिक्षालाई स्तरहीन बनाउन र अभिभावकहरुको पसिनालाई कुहेको सिनोमा परिणत गर्नमा नै संगठनको भूमिका केन्द्रित भइरहेको छ । नेतृत्वको महत्वाकांक्षालाई सिँचन गर्दै सत्ताको स्वार्थसँग जोडिएर विश्वविद्यालयमा अमूक दल र सत्ताराजनीतिका एजेन्ट जस्ता भएका छन् विद्यार्थी र विद्यार्थी संगठनहरु । सरकारी विद्यालय त एकप्रकारले दलीय राजनीतिको प्रथम प्रयोगशाला जस्तै भइरहेका छन् । हिजोका दिनमा निर्दलीय निरंकुश सत्ताले निरन्तर सत्ताको जयजयकार गर्न कलिला अबोध शिशुहरुको समेत शोषण गर्ने काम गरेको थियो । निरंकुशताविरुद्ध उभिनु त्यस समय हरेक सचेत नागरिकको दायित्व बनेको थियो । यदि युवा विद्यार्थीले परिवर्तनको भार ग्रहण नगरेका भए र नेतृत्वलाई सम्पूर्ण शक्तिकासाथ सहयोग नगरेका भए अहिले पनि अमूक नामको निरंकुश सत्ताको खेलमैदान नेपाल हुने थियो । इतिहासको मूल्यांकन परिवर्तनका सन्दर्भमा यसरीनै हुनेछ ।

अहिले पद्धतिगत परिवर्तनको विशद् शृंखला पूरा भएको छ र अबको राजनीतिलाई पूर्ण गर्ने, यसबाट राष्ट्र र जनताको स्वार्थ प्रवद्र्धन गर्ने सम्पूर्ण जिम्मेदारी राजनीतिक दल र तिनको नेतृत्वमा रहेको छ । विद्यार्थी, शिक्षक, कर्मचारी, मजदुर, किसान, चिकित्सक, इन्जिनियर, साहित्यकार, पत्रकार, लेखक, कलाकार, कानुनव्यवसायी, उद्योगी, व्यापारी सबैको भूमिका भिन्न भएको छ र अबका दिनमा वर्गीय स्वार्थ प्रधान हुनुपर्ने अवस्था छ ।राजनीतिक दलहरुले आफ्नो दलका अ‍ौजार बनाउदै पेसा, व्यवसायभित्र हस्तक्षेप गर्ने एजेन्टऐजेरुहरु तोक्न, नियुक्त गर्न र संस्थाहरुलाई धराशायी गराउन बन्द गर्नु जरुरी भएको छ ।  के नेपालका मूर्धन्य दावी गर्ने र देशको विकास गर्न आतुर र समर्थ रहेको घोषणा गर्दै हिँड्ने नेतत्व यसनिम्ति तयार, प्रतिबद्ध छ ? देश र आमनागरिकले सोध्न लागेको यो प्रश्नको उत्तर दिनैपर्छ । विद्यार्थीका, युवाका, मजदुरका सहित सबै स्थापित संगठनलाई आर्थिक, पदीय र पृथक शक्ति आर्जन गर्ने औजारको तुरुप बनाउने काम रोक्नैपर्नेछ । सत्ताको औजार भइरहेका र व्यक्तिपिच्छेको स्वार्थका सिँढी भइरहेका सबैले आत्ममूल्यांकन गर्ने समय आएको छ । त्यसमा पनि सर्वाधिक सचेत र भविष्य निर्माणको वर्तमा स्तम्भ विद्यार्थी समुदायले त अनिवार्य सोच्नैपर्नेछ ।

विद्यालय विनाशमा विद्यार्थी र तिनका संगठन मात्र दोषी छन् भन्नु एकांगी सोच वा विश्लेषण हुनेछ ।अभिभावक पनि यत्तिकै जिम्मेवार छन् । राजनीतिको मौलो कुन ठाउँमा रहनुपर्ने हो त्यसको ज्ञान अभिभावकमा पनि हँुदैन ।उनीहरु संगठित भएर अति दलीयकरणविरुद्ध जुट्ने साहस गर्दैनन् । किनकि सरकारी विद्यालयमा पढाउन विवश अभिभावकहरु आफँै सामान्य शिक्षा वा पूर्ण अशिक्षा, अति गरिब, निम्न र निम्नमध्यम वर्गका नागरिक छन् । ती नागरिकमा प्रतिरोधक्षमता हँुदेैन । यसैकारण  उनीहरुको निरीहताको फाइदा दलहरुले भरमार लिइरहेका छन् । प्रत्येक संस्थामा राजनीतिक दलहरु र दलको कुनै गुटका नेताहरुले आफ्ना ऐजेन्ट ऐजेरुलाई संस्थाको हितका नाउँमा आफ्नो स्वार्थसम्पोषणकालागि प्रयोग गरिरहेका छन् । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता, आनुपातिकता नेपालीहरुले पाएको राजनीति हो । यसलाई मजवुत बनाउने, जनताको विश्वास जित्ने, आफ्नो विश्वसनीयतासहितको नेतृत्व स्थापित गर्ने काम राजनीतिको मियोमा प्रत्यक्ष संलग्नहरुले नै गर्नुपर्छ । तर संस्थाहरुलाई आफ्नो क्रियात्मक राजनीतिको केन्द्र बनाउन हँुदैन ।

नेपाल विद्यार्थी संघले भोलिका दिनमा लोकतन्त्रका मूल्यमाथि आक्रमण गर्न खोजेको अवस्थामा बाहेक वर्गीय स्वार्थलाई सम्बद्र्धन गर्न पाउनुपर्छ । वर्गीयस्वार्थलाई मुखरित गर्ने काम जसले राम्ररी गर्न सक्छ सही नेता त्यही नै हुनेछ । पार्टीभित्रका अनेक गुटगत स्वार्थहरुको भरिया हुनेले नेतृत्व लिन सक्दैन । तर नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनमा भइरहेको कसरत, देखिएको रडाको र वेसुमार तरिकाले देखिएको प्रचारशैली र खर्चको अवस्था हेर्दा कतै यो लोकतन्त्रको मियो अलोकतान्त्रिक चरित्रका लागि भविष्यमा परिचत हुने हो कि भन्ने शंका गर्नुपर्ने भएको छ । लोकतन्त्रको प्रशिक्षण भन्दा पनि निजी झोला बोकाउने नेतृत्वचर्याले वैचारिक स्खलनकासाथ अराजकता, उद्दण्डता, आर्थिक व्यभिचार, अनावश्यक महत्वाकांक्षा र अन्यायलाई समर्थन गरिरहेजस्तो देखिन्छ । नेपाली कांग्रेस जस्तो लोकतन्त्रको मियो पार्टीले अबका दिनमा सत्तास्वार्थका लागि, गुटगत संकीर्ण चिन्तन पूर्ण गर्नकालागि पेसागत, व्यावसायिक र सेवारत संस्थामा आफ्नो स्वार्थ एजेन्टहरुको भर्ना बन्द गर्नुपर्छ । पेसागत मर्यादाबिना लोकतन्त्र सवल हुनसक्दैन । साम्यवादको सपना वितरण गर्नेहरुले पनि प्रत्यक्षमा लोकतन्त्रलाईनै अनुशीलन गरिरहेको हुनाले ती दलले पनि आफ्नो वैचारिक, नेतृत्वगत, गुटगत स्वार्थका एजेन्टएजेरुहरुको निर्माण र विकास गर्ने कृत्य बन्द गर्नुपर्छ । दलीय होइन, विशाल राजनीतिक सभ्यताको, संस्कारको विकास अपरिहार्य हुँदै गएको छ । दलवादको दलदलमा आन्तरिक संस्थागत, पेसागत स्वार्थको विलोम हुन दिनुहँुदैन । सबै क्षेत्रलाई दलवादको दलदलमा डुबाउँदा लोकतन्त्रको विलोम हुने खतरा हुनसक्छ । यससत्यलाई नेपाल विद्यार्थी संघका प्रतिनिधि र आउने नेतृत्वले अन्तर्बोध गर्नसकेमा यो महाधिवेशनको सार्थकता सिद्ध हुनेछ ।

 

प्रकाशित: २६ श्रावण २०७३ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App