७ वैशाख २०८१ शुक्रबार
अर्थ

कबाडी गोदाममा अखाद्य तेलको कारोबार

चाबहिलको कालोपुलस्थित सुरज ट्रेजर कवाडी गोदाममा फेला परेको तेलका प्याकेट ।

काठमाडौं – राजेश चौरासियाको कवाडी कारोबार गर्ने गोदाममा अखाद्य तथा गुणस्तरहीन तेल जर्किनमा राखेर बिक्री गरिरहेको अवस्थामा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । चावहिलस्थित भत्केको पुलमा चौरासियाको कवाडी गोदाममा ब्रान्ड नखुलेको तेल जर्किनमा लुकाएर बिक्री वितरण गर्ने गरीएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार बजार अनुगमनका क्रममा सुराकी पाएपछि प्रहरीलाई जानकारी गराएको थियो ।

भारतीय नागरिक चौरासिया गोदाममा नभेटेपछि उनकी श्रीमती सरितासहित तीनजनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

आपूर्ति विभागका निर्देशक दिपकराज पोखरेलको नेतृत्वमा गएको अनुगमन टोलीले गोदामभित्र ब्रान्ड नखुलेको तेल, तौल, उत्पादन मिति र सकिने म्यादसमेत नभएको भेटिएको थियो ।

‘बाहिरबाट हेर्दा कवाडी गोदाम छ । खाली सिसी, बोतल, कागज, फलाम र प्लास्टिकको थुप्रो छ । भित्र कालोबजाको थुप्रो पनि रहेछ,’ निर्देशक पोखरेलले भने, ‘खाली तेलको प्याकेट छ । भरिएको र खाली जर्किन छ । हेर्दा तेल देखिए पनि मोबिलको गन्ध आउँछ । यो कालोबजारी हो ।’

उनका अनुसार कबाडी गोदाममा लामो समयदेखि अखाद्य तेल बिक्री वितरण भएको देखिन्छ । गोदाममा गंगा, उत्तम, बिगुल, सौभाग्य तेलको प्याकेट भेटिएको थियो । यही प्याकेटको तेल जर्किनमा राखेर बिक्री गर्ने गरेको पोखरेलको भनाइ छ । उनका अनुसार म्याद नाघेको तेल किनेर जर्किनमा बिक्री गर्ने गरेको अनुमान छ । १५ लिटरको जर्किनको तेल चारदेखि पाँच सय रुपैयाँमा बिक्री गर्ने गरेको पोखरेलको भनाइ छ ।

उनका अनुसार ८० लिटर अखाद्य तेल भेटिएको छ । हेर्दा तेल जस्तो भए पनि मोबिलजस्तै कालो लेदो भएको पोखरेलको भनाइ छ । चौरासियाकी श्रीमती सरिताले चटपटे, पानी पुरी व्यवसायीलाई उक्त तेल बिक्री गर्ने गरेको बताएको विभागले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी सहायक निरीक्षक प्रदिप रेग्मीले मंगलबार बिहान कालोपुलमा ड्युटी गरिरहेको बेला बोराभित्र शंकास्पद सामान बोकेको स्थानीय भेटिएपछि थप सोधपुछ गरेको बताए । स्थानीयले कवाडीबाट ल्याएको भनेपछि रेग्मीले गोदाममा पुगेर थप अनुसन्धान थालेको नागरिकलाई बताए ।

‘कवाडी गोदामको बाहिर सुरज ट्रेजर बोर्ड राखिएको छ । भारतको मोतिहारीका चौरासियाले १५ वर्षदेखि कवाडी कारोबार गरेको देखिन्छ । यहाँ पाँच सयमा १५ लिटर तेल बिक्री गर्ने गरेको भेटियो,’ प्रहरी सहायक निरीक्षक रेग्मीले भने, ‘यहाँबाट होटल व्यवसायी र ठेलागाडामा खुद्रा होटल सञ्चालकले तेल लैजाने गरेको देखिन्छ । विशेषगरी समोसा, पकौडा, ससेज, पानीपुरी व्यवसायीले लैजाने गरेको भेटियो ।’

उनका अनुसार कवाडी सञ्चालक नभएका कारण उनका श्रीमती सहित थप दुईजना खरिदकर्तालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्तमा राखिएको छ । उनीहरुलाई कालोबजार तथा सामाजिक अपराध तथा सजाय अन्तर्गत मुद्दा दर्ताको तयारी गरेको रेग्मीको भनाइ छ ।

तीनजनालाई दर्ताका लागि आपूर्ति विभागले मंगलबार नै सिफारिस गरिसकेको रेग्मीले बताए । कवाडी गोदाममा तेल कहाँबाट आएको भन्ने विषयमा अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ ।  

 


 

 

प्रकाशित: २६ पुस २०७४ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App