८ वैशाख २०८१ शनिबार
कला

सुरक्षित क्याट्रिना

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफ  अभिनित फिल्म पछिल्लो समयमा लगातार असफल भइरहँदा सन् २०१७ को अन्त्यमा रिलिज फिल्म ‘टाइगर जिन्दा हे’ले उनलाई सफलताको स्वाद चखायो । यो फिल्मले बक्स अफिसमा ३ सय करोडको उकालो व्यापार गरिरहँदा नायिका क्याट्रिना बलिउडमा आफूलाई सुरक्षित स्थानमा रहेका अनुभव गर्न थालेकी छन् ।

उनी अभिनित पछिल्ला फिल्म ‘फितुर’, ‘बार बार देखो’ र ‘जग्गा जासुस’ बक्स अफिसमा असफल भएपछि क्याट्रिना त्रसित बनेकी थिइन् । जुन कुरा उनले मिडियासामू स्वीकारेकी छन् । ‘बक्स अफिसमा फिल्म किन बिस्फोट हुन्छ भन्ने कुरा मैले कहिल्यै विश्लेषण गरिनँ । फिल्म ‘बार बार देखो’को सोच मलाई निकै मनपरेको थियो । कहिलेकाँही फिल्मले बक्स अफिसमा किन काम गर्दैनन् भन्ने कुरा तपाईं बुझ्नसक्नुहुन्न,’ उनले भनेकी छन्, ‘जग्गा जासुसमा पनि त्यस्तै भयो । यो एउटा यात्राको कथा थियो । निर्देशक अनुराग बासुसँग निकै सुन्दर दृष्टिकोण थियो । हामीले पनि राम्रो काम गरेका थियौं । तर फिल्म किन चल्न सकेन भन्ने उत्तर हामीसँग छैन ।’

पूर्व प्रेमी सलमानसँगको रोमान्स रहेको फिल्म ‘टाइगर जिन्दा हे’ हिट भएपछि क्याट्रिनाको अनुहारमा नयाँ चमक देखिएको छ । ‘फिल्म सफल भएपछि मैले निकै सुरक्षित महशुस गरिरहेकी छु । दुई फिल्म फ्लप हुँदा मेरो करियर पनि डुब्ने हो कि भन्ने लागेको थियो । तर अहिले त्यो करियर डुब्न पाएन । म खुसी छु,’ उनले भनेकी छन् ।

फिल्म असफल बनेपछि उनले आफूलाई असुरक्षित महशुस गरेकी रहिछन् । ‘पहिला म आपूmलाई असुरक्षित ठान्थें । असुरक्षित महशुस भइरहेको बेला पनि मैले मेहनत र आफंैलाई सुधार्ने कोशिस गरिरहें । अहिले म आफैसँग सन्तुष्ट छु । म यही गतिमा अघि बढ्न चाहन्छु,’ उनले भनेकी छन्, ‘हरेक मानिस भित्र केही न केही दोष हुन्छ । जुन दोषबाट ऊ सावधानी अपनाइरहेको हुन्छ । मेरो आत्मामा पनि त्यस्तै दोष छ । जसलाई सावधानीपूर्वक सुधार्नका लागि प्रयत्न गरिरहेकी छु ।’

क्याट्रिना यतिबेला विजयकृष्ण आचार्यको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को काममा व्यस्त छिन् । यो फिल्ममा उनीसहित आमिर खान, अमिताभ बच्चन र फातिमा साना शेखको अभिनय छ । फिल्म आगामी दिपावलीमा रिलिज हुने तयारीमा छ । योबाहेक उनी आनन्द एल रायको फिल्म ‘जिरो’मा पनि व्यस्त छिन् । आगामी डिसेम्बर २१ मा रिलिज हुने तयारीमा रहेको फिल्ममा शाहरुख खान र अनुष्का शर्माको पनि अभिनय रहेको छ ।
 

प्रकाशित: २६ पुस २०७४ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App