७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफको सम्भावना बलियो

राखेप च्याम्पियनसिपअन्तर्गत महिला फुटबलमा आर्मी (हरियो) र एपिएफका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै ।

काठमाडौं  – विभागीय डर्बीमा मंगलबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि २–१ को विजयी नतिजा निकाल्दै सशस्त्र प्रहरी बलको एपिएफले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि उचाल्ने सम्भावना बलियो बनाएको छ ।

अनिता केसी र अनिता बस्नेतले दोस्रो हाफमा गोल गरेपछि एपिएफ उपाधिको मुख्य दाबेदार आर्मीमाथि जित हासिल गर्दै सुपर लिगका दुई खेलमा ६ अंक जोड्न सफल भयो । सुपर लिगमा आर्मी र नेपाल पुलिसले समान ३ अंक जोडेका छन् भने दुवै खेलमा पराजय भोगेको सुदूर पश्चिमाञ्चलको टोलीले अंकको खाता खोल्न सकेको छैन ।

दोस्रो हाफमा एपिएफले पुनरागमन जनाउनुअघि १७औं मिनेटमा कृष्णा खत्रीको गोलबाट आर्मीले अग्रता लिएको थियो । कृष्णाले विपक्षी गोलकिपर अन्जलिला तुम्बापो सुब्बाको गल्तीमा फाइदा उठाउँदै आर्मीलाई अग्रता दिलाएकी थिइन् ।

अनिता केसीले ५०औं मिनेटमा गोल गर्दै एपिएफलाई बराबरीमा ल्याइन् । उनले सावित्रा भण्डारीको हेड प्रहारमा पोस्टतिर लागेको बललाई सहज ट्यापमार्फत गोलमा परिणत गरेकी थिइन् । अनिता बस्नेतले समय सकिन सात मिनेट बाँकी रहँदा एकल प्रयासमा गोल गर्दै एपिएफलाई महत्वपूर्ण तीन अंक दिलाइन् ।

इन्जुरी समयको तेस्रो मिनेटमा दोस्रो पहेंलो कार्ड सामना गर्दै मनमाया लिम्बुले मैदान छोडेपछि एपिएफ केहीबेरका लागि १० जनामा सीमित भएको थियो ।

मंगलबारै सुपर लिगअन्तर्गत भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले सुदूर पश्चिमाञ्चलमाथि १–० को संघर्षमय जित हासिल गरेको थियो । रूपा मगरले ३१औं मिनेटमा गरेको एउटै गोल पुलिसको जितमा पर्याप्त भयो ।

प्रतियोगिताको अन्तिम दिन बिहीबार आर्मीले सुदूरपश्चिम तथा एपिएफले पुलिससँग खेल्नेछन् ।
 

प्रकाशित: २६ पुस २०७४ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App