coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘केनले चाहे क्लब छोड्न सक्छन्’

लन्डन – टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले स्ट्राइकर ह्यारी केनलाई क्लबमा बस्न बाध्य नपार्ने बताएका छन् ।
पोचेटिन्होले लिभरपुरका मिडफिल्डर फिलिप कौटिन्होको बार्सिलोना सरुवाले पनि खेलाडीलाई क्लबमा बस्न बाध्य पार्न नसक्ने राम्रो उदाहरण भएको बताए ।

बार्सिलोनाले सिजनको सुरुमै कौटिन्होलाई क्लबमा भित्र्याउन चाहे पनि लिभरपुलले सरुवा प्रस्ताव अस्वीकार गर्दै आएको थियो । तर शनिबार लिभरपुल कोैटिन्होको सरुवाका लागि सहमत भएको थियो ।

आइतबार एफसी विम्बल्डनमाथि ३–० को सहज जित हात पार्दै एफए कपको चौथो चरणमा प्रवेश गर्दा केनले फेरि एक पटक आफ्नो क्षमता प्रमाणित गरेका थिए ।

‘ह्यारी केन क्लबका विशेष खेलाडी हुन्,’ पोचेटिन्होले भने, ‘टोटेनह्यामको सफलतमा उनको भूमिका महत्वपूर्ण छ । तर क्लब व्यवस्थापनले केनलाई कसरी क्लबमा टिकाएर राख्ने भन्ने योजना बनाउन सक्नुपर्छ । खेलाडीले चाहेसम्म क्लबमा बस्ने हो । खेलाडीले बस्न नचाहेमा क्लबले उनीहरूलाई बाध्य बनाउन पाउँदैन ।’

‘हाम्रो मुख्य काम भनेको सँगै बस्दा क्लबलाई राम्रो नतिजा दिने हो,’ पोचेटिन्होले थपे, ‘कुनै एक विशेष खेलाडीले मात्र खेलजीवन एउटै क्लबमा बिताउने गर्छन् ।’

अक्टोबरमा च्याम्पियन्स लिग समूहचरणको खेलमा टोटेनह्यामको सामना गर्नुअघि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले केनलाई ‘विशेष खेलाडी’ को संज्ञा दिँदै उनको प्रशंसा गरेका थिए । त्यस्तै अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर

युनाइटेडले पनि २४ वर्षे केनलाई  भित्र्याउन इच्छुक भएको बताउँदै आएको छ । केनले सन् २०१६ मा टोटेनह्यामसँग प्रतिहप्ता १ लाख १३ हजार युरोमा साढे पाँच वर्षको सम्झौता गरेका थिए । तर विश्वका शीर्ष खेलाडीको तुलनामा केनको हप्ताको तलब निकै कम छ ।

‘लिभरपुल विश्वकै एक उत्कृष्ट क्लब हो तर क्लबले कुनै एक खेलाडीलाई क्लबमा बस्न बाध्य पारेन,’ पोचेटिन्होले भने, ‘सिजनको सुरुआतमा लिभरपुलले उनको सरुवा प्रस्ताव अस्वीकार गरेको थियो तर अन्ततः खेलडी क्लबमा बस्न नचाहेपछि क्लब कौटिन्होको सरुवाका लागि सहमत भयो । हामीले विगतमा पनि यस्तो धेरै उदाहरण देखेका छौं ।

म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डो, युभेन्ट्सले जिदान र बार्सिलोनाले लुइस फिगोलाई क्लब बसाइ लम्ब्याउन बाध्य पारेनन् ।’

‘कुनै पनि क्लब उत्कृष्ट खेलाडी अन्यत्र जाओस् भन्ने चाहँदैन तर खेलाडीले क्लब छोड्ने निर्णय गर्दा हामीले त्यसको सम्मान गर्नुपर्छ,’ पोचेटिन्होले भने ।

प्रकाशित: २६ पुस २०७४ ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App