८ वैशाख २०८१ शनिबार
खेल

आगामी एसेजपछि पद छोड्ने घोषणा

सिड्नी – अस्ट्रेलियाविरुद्धको एसेज शृंखलामा ४–० पराजित भएको इङ्ल्यान्डका प्रशिक्षक ट्रेभोर बेलिसले मंगलबार २०१९ को एसेज शृंखलापछि पद छाड्ने घोषणा गरेका छन् । बेलिसले २०१५ मा पिटर मुरेजको स्थान लिएका थिए ।

चार वर्षका सम्झैता सकिन लागेको अवस्थामा प्रशिक्षक बेलिसले नयाँ अनुहार आउनुपर्ने बताएका छन् । ‘मैले सधैं महसुस गर्ने गरेको छु । चार वर्षमा केही परिवर्तन गर्नुपर्छ,’ अस्ट्रेलियाका ५५ वर्षे बेलिसले भने ।

बेलायती सञ्चारमाध्यम बिबिसीले बेलिसले गत वर्ष नै आफ्नो योजना इङ्ल्यान्ड क्रिकेटका निर्देशक एन्ड्र्यु स्ट्राउसलाई भने पनि अहिले मात्र सार्वजनिक गरिएको जनाएको छ ।

२०१९ को एसेज शृंखलापछि बेलिसको सम्झौता सकिँदा अस्ट्रेलियाका प्रशिक्षक डारेन लेहम्यानको पनि सम्झैता सकिन्छ ।  मुरेसले छाडेपछि प्रशिक्षकको जिम्मेवारी सम्हालेका बेलिसले टेस्टमा इङ्ल्यान्डलाई मिश्रित नतिजा दिएका छन् । १८ खेल हारेको इङ्ल्यान्डले १५ खेलमा विजय हासिल गरेको छ ।

अस्ट्रेलियासँग २ मा इनिङ र एकमा १० विकेटको पराजयसहित ४–० ले एसेज शृंखला गुमाएपछि बेलिसको यस्तो अभिव्यक्ति आएको हो । सिड्नीमा भएको अन्तिम टेस्ट हारेपछि बेलायती सञ्चारमाध्यमले बेलिसको चर्को आलोचना गरेका थिए ।

लज्जास्पद हारबाहेक नाइट क्लबमा झगडा गरेको भन्दै उपकप्तान बेन स्टोक निलम्बनमा परे भने पर्थ बारमा अस्ट्रेलियाका क्यामेरोन बनक्रफ्टलाई टाउकोले हानेपछि विकेटकिपर जोनी बैर्सटो विवादमा परेका थिए ।

‘इङ्ल्यान्डका प्रशिक्षकले हस्तक्षेपकारी भूमिका नभिकाएकाले अस्ट्रेलियामा टोलीले लज्जास्पद हार्नुप¥यो,’ डेली टेलिग्राफले हेडलाइन बनाएको छ ।

यससँगै उनको स्थान कसले लिन्छ भन्ने बहस सुरु भएको छ । जुलाइमा पपुवा न्युगिनीको अन्तरिम प्रशिक्षकका नियुक्त भएका अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर जेसन जिलेस्पीको बलियो सम्भावना रहेको जनाइएको छ । इङ्ल्यान्डका सहायक प्रशिक्षक पाउल फारब्रेसको सम्भावना पनि उत्तिकै छ ।

बेलिसले २०१५ मा एसेज शृंखला घरेलु मैदानमा ३–२ जित्दै इङ्ल्यान्डको प्रशिक्षक जीवन सुरु गरेका थिए । तर, उनकै प्रशिक्षणमा इङ्ल्यान्डले २०१६ मा पहिलो पटक बंगलादेशसँग पराजय भोगेको थियो । त्यस्तै एक वर्षअघि भारत भ्रमणमा पनि टोली ४–० ले स्तब्ध बनेको थियो ।
 

प्रकाशित: २६ पुस २०७४ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App