coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ढिम्नीया–रुढु सडक सञ्चालनमा, पहिलोपटक गाडी आएपछि चिलखायाबासी हर्षित

कालिकोट – सुन्दर प्राकृतिक भुमीले सजिएको चिलाखायामा मंगलबार सरर गाडि गुड्यो। पुस्तौं देखिको सुन्दर भुमिमा गाडी देख्ने सपना स्थानीयको साकार भयो। अटल पहाड, रमाइला पाटन र सुन्दर सल्लेरीले मनमोहक देखिने चिलखायामा जिप गुड्दा सबैको मुखमा खुसी छाएको थियो।

जिल्लाको पुर्वी क्षेत्रमा पर्ने तिलागुफा नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर सडक उद्घाटन भएको छ। नगरपालिका मेयर रतनबहादुर शाहीले रिवन काटेर सडकको उद्घाटन गरेका हुन्। तिलागुफाको वडा नम्वर ९ को ढिम्नीयादेखि रुढुसम्मको सडक मेयर शाहीले उद्घाटन गरेका हुन्। कर्णाली राजमार्गदेखि चिलखाया ढिम्नीयासम्म ७ किलोमिटर सडकको ट्रयाक पहिले नै निर्माण भएको थियो। चिल्खाया देखि रुढुसम्मको ट्रयाक स्थानीय चुनाव भइसकेपछि मात्र निर्माण गरिएको थियो।

सडक उद्घाटनका क्रममा नगरपालिका मेयर रतनबहादुर शाहीले भने, ‘अबका चिलखायाबासीले पीठिउँमा भारि बोकेर दुःख पाउँने दिन टाँढा भए । विगतका दिनभन्दा विकास भएको छ। विकासका पुर्वाधार मध्येकै पहिलो त सडक नै हो।’ सडकलाई पहिलो प्राथामिकता दिने भन्ने कुरा चुनावी प्रतिबद्धतामा राखेकाले अब तिलागुफाका हरेक गाउँमा सडक संजालको पहुँचमा राख्ने मेयर शाहीले बताए। उनले भने, ‘सडकले कसैलाई सुविधा दिने र नदिने होइन अब ११ वटै वडामा सडक पुग्छ। सडकसंगै स्वास्थ्यमा पहुँच, गुणस्तरीय शिक्षा, पर्यटन क्षेत्रको संरक्षण र पहिचान गर्न जरुरी छ।’

पर्यटन क्षेत्रको धेरै सम्भावनाको क्षेत्र मानिने ढिम्नीया—रुढुसम्म सडकको लम्बाइ ७ किलोमिटरको दुरीमा रहेको प्राविधिक गणेश शाहीले बताए। उनले भने, ‘कर्णाली राजमार्ग हुँदै भैसिगौडादेखि रुढुसम्म १४ किलो मिटर टर्याक खोलिएको छ।’ स्थानीय नागरिकसंग खुसी साटासाट गर्दै गाडी फनफनी घुमाउँदै, सरर गुडाउँदै सडकको परिक्रमा र अवलोकन गरिएको थियो। चालु आर्थिक बर्षमा नगरपालिकाले ३२ लाखको लागतमा ढिम्नीया देखि रुढुसम्म सडक निर्माण गरेको तिलागुफा—१० नम्वर वडाध्यक्ष मुनबहादुर थापा (मुनाल) ले बताए। उनले भने, ‘नगरपालिकाले पहिलो प्राथामिकता रुढुलाई दिएकै कारण आज रुढुमा गाडी पुगेकोमा हामी खुसी छौ। चिलखायाकै विगट बस्तीमा गाडी पुग्न भनेको धेरै प्रगति भएको महसुस भएको छ।’

स्थानीय महिला स्वास्थ्य स्वयम सेविका विजकली थापाले खुसी हुँदै भनिन, ‘सडक नभएकै कारण धेरै सुत्केरी महिलाले धाका खाइन्। अब भने केहि सुविधा हुने भयो। बर्षौ देखिको गाडि देख्ने र चढ्ने हाम्रो इच्छा बल्ल पुरा भयो। हाम्री सुत्केरी र गर्भवती आमालाई स्वास्थ्य संस्थासम्म पुगाउन सहज हुने भयो।’

दैलेखदेखि नुन बोकेर खाने दिन सम्झिएको स्थानीय काली रोकायाले सुनाइन्। उनले भारी बोकेरै ६० बर्ष विताएको बताइन्। बल्ल हाम्रा छोरा छोरीले सुख पाउने भए। उनले भनिन्, ‘हाम्रा दिन त दुःखमै गए। गाडि आँगनमा आयो धेरै खुसी लाग्यो।’ स्थानीय खुम्विलाल थापाको मुहारमा पनि गाडी पुगेको देख्दा खुसीको सिमा नै छैन्। विगत बर्षौदेखि पीठिउँमा नुन चामल, तेललगायको दैनिक उपभोग्य सामान बोकेर उनि घरको जिविकोपार्जन गर्थे।  

यस्तै यहाँका स्थानीयले अब गाडी पुग्दा सेवा सुविधा गाउँमै पाउँने आशा गरेका छन्। गाउँमा सडक पुगाउनु ठुलो कुरा मात्रै नभई दिर्घकालिन विकास र निरन्तरता दिनुपर्ने स्थानीयले माग राखेका छन्। चिलखायाको लेकाली क्षेत्रमा पर्ने रुढुबन्चु पर्यटकीय क्षेत्रमा जान समेत धेरै सहज बनेको छ। बन्चुको पाटनको सुन्दर दृश्य नियाल्न आन्तरिक तथा बाह्य पर्यटकको आवत जावतमा चहलपहल हुने गरेको नगरपालिका कर्मचारी कालीबहादुर शाहीले बताए। उनले भने, ’सडक उद्घाटनपछि आन्तरिक पर्यटकले त्यो क्षेत्रको बारेमा पर्यट मार्गको बारेमा बुझ्न कार्यालयमा आएका छन्।’

प्रकाशित: २५ पुस २०७४ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App