coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अल्लो कपडा उत्पादनमा ग्रामिण महिलाको आकर्षण

लमजुङ – जिल्लाको उच्चपहाडी जंगलमा पाईने र प्रशोधन गरि धागो निकालेर कपडा बनाएर महँगो मुल्यमा बिक्री गर्न सकिने अल्लोको प्रशोधन गर्ने काम प्रति ग्रामिण महिलाको आकर्षण बढ्न थालेको छ।

समुद्री सतहदेखि करिब १६ मिटर माथिका उच्चपहाडी जंगलमा पाइने अल्लोको धागोबाट तयार गरिने कोट, ईस्टकोट, पाईन्ट, भाँग्रा, मोजा, पेटी, झोला, हातेझोला, पर्स, मोवाईल तथा क्यामेराको व्याग, लगायतका कपडा र सामाग्री राम्रो मुल्यमा बिक्री हुन थालेपछि ग्रामिण महिलाको यसप्रति आर्कषण बढ्न थालेको हो।

स्वास्थ्यका दृष्टिले निकै लाभदायक र अधिकाँश घरानियाँ उपभोक्ताको रोजाईमा पर्ने भएकाले पनि अल्लोबाट उत्पादित कपडा र कपडाजन्य सामाग्रीको बजार राम्रो हुँदै गएको लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ बताउँछन्। अहिलेको बजार मुल्य अनुसार गुणस्तर अनुसार प्रतिमिटर ९ सय देखि साँढे ११ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए। ‘अल्लोको महत्व बुझेको ग्राहकले त पाए सम्म यसकै उत्पादन खोज्छन्,’ श्रेष्ठ भन्छन्, ‘नेपाली बजारमा मात्रै हैन, अन्तराषर््िट्रय बजारमा समेत यसको राम्रो माग छ, तर के गर्नु हामीकहाँ माग अनुसारको उत्पादन नै छैन।’   

पछिल्लो समयमा जिल्ला घरेलु तथा साना उद्योग विकास कार्यालय, लमजुङ उद्योग बाणिज्य संघ लगायतका निकायले अल्लोको व्यवसायिक उपयोग, महत्व र बजार मूल्यका बारेमा ति गाउँका स्थानीयलाई बुझाए सँगै यसप्रति आफ्नो आर्कषण बढेको सिउरुङ गाउँकी ५२ वर्षीया बनमाया गुरुङले बताईन्। लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाका अनुसार पनि पछिल्लो समयमा यसको महत्व बारेमा गाउँ–गाउँमा हुने छलफल बाट प्रशोधनको नयाँ तरिका, उपयोगिता, यसको बजार मुल्य र मागका बारेमा स्थानीयले बुझ्न थालेका छन्। गाउँ नजिकैका जंगलमा पाईने अल्लोबाट विगतमा परम्परागत तरिकाले धागो कातेर विशेषगरि भाँग्रा, सुरुवाल, बोरा, दाम्लो, डोरी जस्ता सामाग्री बनाउँदै आएका स्थानीयबासी यतिबेला व्यवसायिक उत्पादन गर्ने उद्देश्यले आधुनिक तरिकाले प्रशोधन गर्ने सीप सिक्न लागि परेका छन्।
    
स्थानीयबासीको माग बमोजिम घरेलु कार्यालयको आयोजनामा गतसाल पसगाउँमा अल्लो प्रशोधन, धागो कात्ने र कपडा बुन्ने ३ महिने र उद्योग बाणिज्य संघको आयोजनामा सदरमुकाम बेसीशहरमा एक हप्ते प्रशिक्षण सञ्चालन भईरहेको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख लक्ष्मीप्रसाद दाहालले बताए। अल्लोको हार्भेष्टिङ गरि पाट, पुवा हुँदै धागो निकाल्ने र सोही धागोबाट विभिन्न खालका कपडा तयार गरिने उनी बताउँछन्। बेसीशहरमा गतसाल भएको प्रशिक्षणमा सिउरुङ, बाहुनडाँडा, काउलेपानी र कास्कीको सिक्लेस, सेम्राङसम्मका महिला सहभागी छन्। यि दुई प्रशिक्षणबाट ३ दर्जन बढी ग्रामिण महिलाले अल्लो प्रशोधन सम्बन्धि सीप सिक्ने र अल्लोको कपडा तयार गर्ने गौतमको भनाई छ। अहिले देखे सुनेकै भरमा पनि स्थानीयले यसको महत्व बुझ्दै गएकाले गाउँगाउँमा सामुहिक रुपमा यसको प्रशोधन गरि धागो कात्ने र कपडा तयार गर्ने कार्य सुरु भएको बाहुनडाँडाकी विष्णुमाया गुरुङले बताईन्। हालसम्म परम्परागत तरिकाले धागो बनाएर न्युन संख्यामा कपडा उत्पादन गर्दै आएको र अल्लोको कपडाको माग बढ्दै गएकाले आधुनिक प्रशोधन विधि सिक्न ६ जना साथी मिलेर बेसीशहर आएको सिक्लेसकी डाईसुवा गुरुङ बताउँछिन्।
    
जिल्लाको उत्तरीभेगका भोजे, पसगाउँ, उत्तरकन्या, भुजुङ, घनपोखरा, खुदी, ताघृङ, घेर्मु, बाहुनडाँडा, भुलभुले लगायतका गाविसका लेकाली जंगलमा प्रशस्त पाईने अल्लो व्यवसायिक प्रयोगमा आउन नसक्दा खेर गईरहेको छ। चिसो मौसममा उम्रिने र पुस महिनासम्म यसको प्रयोग नगरे जंगलमै कुहिएर जाने स्थानीयबासी बताउँछन्। काट्ने, पाट निकाल्ने, खरानी राखेर उमाल्ने, मुँग्रोले चुटेर धागो निकाल्ने जस्ता झञ्झटिलो प्रकृया भएकाले विगतमा थोरैले मात्रै यसको प्रयोग गर्ने गरेको सिउँरुङ गाउँकी ५३ वर्षीया गमकाशी गुरुङ बताउँछिन्।

अल्लोको रेशाबाट धागोे उत्पादन गर्ने प्रकृया केही झञ्झटिलो देखिएपनि बजार मूल्यका दृष्टिले राम्रो रहेकाले परम्परागत तरिकालाई आधुनिकीकरण गर्ने तर्फ सम्बन्धित निकायले सहयोग गर्नुपर्ने अल्लो प्रशोधन प्रशिक्षक पार्वती गुरुङ बताउँछिन्। यसबाट कपडा र उपहारका सामाग्रीहरु समेत उत्पादन गरि आर्कषक आम्दानी गर्न सकिने बताउँदै जिल्लाका उत्पादकलाई बजारको समस्या भएमा आफुले जिम्मेवारी लिन सक्ने समेत उनले बताईन्।

प्रकाशित: २५ पुस २०७४ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App