८ वैशाख २०८१ शनिबार
समाज

अग्निपीडितलाई राहत जुट्नेक्रम जारी

खोटाङ – आगलागीबाट विस्थापित भएका खोटाङको हलेसीका पीडितलाई शुभेच्छुकबाट राहत जुट्नेक्रम जारी छ । पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दासलगायतका पीडितलाई विभिन्न कार्यालय तथा संघसंस्थाबाट राहत जुट्नेक्रम जारी छ ।

विस्थापित भएपछि नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएका अस्थायी टहरामा कष्टकर दिन बिताइरहेका अग्निपीडितलाई पछिल्लो समय सुम्नीमा पारुहाङ साँस्कृतिक समूह महादेवस्थानले राहतस्वरूप ५५ हजार रुपैयाँ प्रदान गरेको छ ।

समूहले आफ्ना सदस्य रहेका मगम र उचितबहादुरलाई जनही २० हजार रुपैयाँका दरले तथा तम्बराज, अम्बराज र जगदीशलाई जनही ५ हजारका दरले राहत प्रदान गरेको हो । यसअघि दैवीप्रकोप उद्धार समिति, हलेसी तुवाचुङ नगरपालिका, रेडक्रस, उद्योग वाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, लोक नेपाल, मारातिका छिमेद ताग्तेन छोलिङ गुम्बा, धर्मशाला वासुमाला बेलबोटे सामुदायिक वनलगायतले राहत प्रदान गरिसकेका छन् ।

आगलागीबाट विस्थापित परिवारको सहयोगका लागि घटनाको दोस्रो दिनदेखि नै हलेसी तुवाचुङ नगरपालिकाको अगुवाइमा नगरभित्र तथा काठमाडौंमा दिनेश राईको संयोजकत्वमा बनेको ‘अग्निपीडित राहत संकलन समिति’ ले राहत संकलन गरिरहेका छन् । संकलित रकम केही दिनपछि पीडितलाई प्रदान गरिने मेयर इवन राईले बताए ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घरलगायत जल्दा ५ करोड ११ लाख १५ हजार रुपैयाँबराबरको क्षति भएको थियो । आगलागीमा प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोविन राई, महानन्द राई, शरणसरी राईलगायतको घर, पसल तथा होटलमा पनि आंशिक क्षति पुगेको छ ।

आगलागीमा वर्षौंदेखि किराना पसल, होटल तथा लज व्यवसाय सञ्चालन गर्दैआएका मगम, उचित, तम्बराज, अम्बराज तथा मगमका दुई घरमध्ये एउटा घरमा व्यवसाय गर्दै आएका जगदीशको शरीरमा लगाएका लुगाबाहेकका सामान नजोगिएको प्रहरीले जनाएको छ ।
हङकङमा पनि राहत संकलन
खोटाङको हलेसीका आगलागी पीडितका लागि हङकङमा पनि राहत संकलन अभियान चलाइएको छ । आगलागीबाट विस्थापित परिवारको सहयोगार्थ खोटाङ समाज हङकङको पहलमा राहत संकलन अभियान चलाइएको हो ।

विस्थापित परिवारको सहज जीवनयापनका लागि समाजले हङकङकै एक बैंकमा खाता खोलेको खोटाङ समाज हङकङका पूर्वअध्यक्ष तेजप्रकाश राईले बताए । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषमार्फत पिडितलाई राहत प्रदान गरिसकेको समाजले हङकङमा संकलित रकम केही समयपछि पीडितका नाममा पठाउने जनाएको छ ।

प्रकाशित: २५ पुस २०७४ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App