७ वैशाख २०८१ शुक्रबार
समाज

अत्यधिक चिसोले बिरामीलाई सकस

जुनीचाँदे–२ मजकोटमा भाइरल रोगका बिरामीहरू उपचारका लागि लाइनमा बस्दै ।

जाजरकोट – अत्यधिक चिसोका कारण दुई सातादेखि जिल्लामा फैलिएको  भाइरल ज्वरोका बिरामीको उपचारमा समस्या देखिएको छ । भाइरल रोग प्रभावित क्षेत्रमा  पुगेका स्वास्थ्यकर्मीहरूले चिसोका कारण प्रभावकारी  सेवा दिन नसकेको र  बिरामीलाई पनि निकै सास्ती भोग्नुपरिरहेको बताएका छन् ।

प्रकोप प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिकाका विभिन्न गाउँमा बिरामीको उपचारका लागि खटिएका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले चिसोका कारण बिरामीहरूलाई निकै कष्ट भएको बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रकोप प्रभावित क्षेत्रमा खटिएका ल्याब टेक्निसियन कृष्णबहादुर खत्रीले चिसोका कारण बिरामी बालबालिका र वृद्धवृद्धालाई निकै सास्ती भएको बताए । उनले अहिलेसम्म विभिन्न तीन ठाउँमा शिविर चलाएर पाँच सयभन्दा बढी बिरामीको उपचार गरिएको र चिसोले उपचारमा समेत समस्या परेको जनाए ।

रोग प्रभावित क्षेत्रमा विभिन्न तीन समूहमा विभाजित स्वास्थ्यकर्मीहरूले बिरामीको उपचार गरिरहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका डा. पवन शाक्य, स्वास्थ्य चौकी वडकुलेका इन्चार्ज हरिबहादुर सिंह र अहेब लक्ष्मण शाह र अनमी संगीता शाहको नेतृत्वमा विभिन्न तीन समूह भएर  भाइरल रोगका बिरामीलाई उपचार गर्ने क्रम तीव्र पारिएको उपचारमा संलग्न डा. शाक्यले बताए । उनले सोमबारदेखि रोग प्रभावित क्षेत्रमा  नेपाली सेनाका स्वास्थ्यकर्मीहरू पनि परिचालित भएको बताए । उपचारका कारण बिरामीको संख्या घट्दै गएको भए पनि चिसोका कारण स्थानीयलाई हैरानी भएको उनले बताए । जुनीचाँदे गाउँपालिका– २ को स्याला, मौगान  र ३ को वड्कुलेमा  भाइरल ज्वरोका बिरामी धेरै रहेको स्वास्थ्यकर्मीहरूले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयबाट प्रकोप प्रभावित क्षेत्रमा पर्याप्त औषधि पठाएर उपचारको व्यवस्था गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए । उनले स्वास्थ्यकर्मीहरूले जनताको घरघरमा पुगेर उपचार गरिरहेको पनि जनाए । यसअघि मृत्यु भएका ९ जनामध्ये अधिकांश अन्य रोगका बिरामी रहेका र उनीहरू चिसो तथा भाइरल ज्वरोका प्रभावले मरेको नेपालीको भनाइ छ । अहिले स्वास्थ्यकर्मीको पहलले  भाइरल रोगको प्रकोप नियन्त्रणमा आउन लागेको स्थानीय काशीराम न्यौपानेले बताए ।

गाउँगाउँमा औषधि पुगेको र स्वास्थ्यकर्मीले प्रकोप प्रभावित गाउँमा शिविर चलाएका कारण बिरामीको संख्या घट्दै गएको उनले बताए । दुई सातादेखि रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्नेलगायतका  लक्षण देखिएपछि स्थानीय आतंकित भएका थिए । गाउँमा सर्वसाधारण भाइरल ज्वरोबाट प्रभावित भएका बेला  जनप्रतिनिधिहरू भने चासो नलिएको स्थानीयले गुनासो गरेका छन् ।

विभिन्न सामाजिक सञ्जाल र अन्य माध्यमबाट स्थानीय तह र प्रदेशसभा एवं प्रतिनिधिसभाका जनप्रतिनिधिले जनता आपत्मा पर्दा नहेरेको भन्दै उनीहरूले गुनासो गरेका हुन् । बिरामीको उपचारमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन खत्रीले गाउँमा कोही पनि जनप्रतिनिधि नभएको र आफूहरूका लागि खानबस्न र बाक्लो कपडाको समेत अभाव भएको बताए । चिसो र भौगोलिक विकटताका कारण स्वास्थ्यकर्मीलाई  निकै समस्या परेको उनको भनाइ छ । प्रकोप प्रभावित गाउँमा अहिले कोही पनि जनप्रतिनिधि नरहेको स्थानीयवासी बताउँछन् ।

 

प्रकाशित: २५ पुस २०७४ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App