काठमाडौं – मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरूले केन्द्रका माथिल्लो तहका कर्मचारी तथा पदाधिकारीको गलत व्यवहारका कारण धेरै नर्सहरूले शोषण झेल्नु परेको आरोप लगाएका छन् । प्रक्रियाविरुद्ध नर्स वर्खास्त गरेको, नियम विपरीत नर्स भर्ना गरेको, हेमोडायलोसिस वार्डको नर्सिङ इन्चार्जको सनकको भरमा मेट्रोन इन्दिरा प्रधान तथा निर्देशक पुकार श्रेष्ठले नर्सविरुद्ध गलत निर्णय लिँदा नर्सहरू शोषित हुँदै आएको उनीहरूको आरोप छ ।
मानव अंग प्रत्यारोपण केन्द्र स्थापनाको ६ वर्षमा नर्सहरू शोषणमा परेको गुनासो उनीहरूले गरेका छन् । ‘इन्चार्जले भनेको कुरा नै सही मानिहाल्ने चलन थियो, यही चलनको कारण नर्समाथि शोषण गर्ने प्रवृत्तिले प्रश्रय पायो,’ केन्द्रकी नर्स त्रिजना जतिले भनिन् । उनी सो वार्डमा ५ वर्षदेखि कार्यरत छिन् ।
केन्द्रले ६ वर्षको अवधिमा दश जना नर्सलाई वर्खास्त गरिसकेको छ । बिनाकारण वर्खास्त भएकी श्रेष्ठ थरकी एक नर्सले मेटासिड सेवन गरेकी थिइन् । तर उनलाई समयमै अस्पताल पु¥याइएकाले क्षति हुन पाएन । उनी हाल सिंगापुरको एक अस्पतालममा कार्यरत छिन् । त्यस्तै केन्द्रबाट दुई वर्षअघि एकैपटक चार जना नर्स निष्कासनमा परे । त्यस्तै, गत साउनमा केन्द्रले नर्स सजना देउलासहित चार जनालाई पालैसँग निष्कासन ग¥यो ।
सजना देउलालाई अस्पतालको क्रियाकलापको विषयमा प्रशासनमा निवेदन लेखेका र नर्सिङ संघमा बोलेको कारणले निष्कासन गरिएको थियो । त्यसमाथि, सजना देउलाको पक्षमा बोलेकै कारण पाँच वर्षदेखि कार्यरत त्रिजना जतिलाई र विकास महर्जनलाई पुरानो राजीनामाको विषयलाई लिएर निष्कासन गरेका थिए । ‘आफ्नै आँखाले धेरै अन्यायहरू देखेपछि चुप लागेर बसिनँ र बहिनीलाई बोल भनेकी हुँ,’ उनले भनिन् ।
महर्जनले एक वर्षअघि दिएको राजीनामाको बहानामा वर्खास्त गरेका थिए । ‘गत वर्ष राजीनामा दिँदा केन्द्रलाई आवश्यक छ भन्दै राजिनामा अस्वीकृत गरे, अहिले आएर राजीनामा स्वीकृत भयो भनेछन्,’ नर्सहरुले भने ।
अस्पतालमा तीन जना मात्र नेपाल सरकारका नर्स छन् । अन्य सबै ज्यालादारी, भोलेन्टेयर र सेसन बेसिसमा काम गर्दै आएका छन् । केन्द्रले भोलेन्टेयर नर्स राख्न नपाउने स्वास्थ्य मन्त्रालयको निर्णय विपरीत पटक–पटक भोलेन्टेयर नर्स राख्दै आएको उनीहरूको आरोप छ । योसँगै केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठले नर्सहरू यौन दुव्र्यहवार गर्ने गरेको पनि नर्सहरूको आरोप छ ।
केन्द्रले नर्सहरूलाई गर्ने गरेको यस घटनाले उपचारमा आउने बिरामीलाई समेत असर परेको उनीहरूको भनाइ छ । ‘नर्सहरू नै अशान्त भएपछि बिरामी कसरी शान्त हुन्छन् ?’ नर्स जतिले भनिन् । मेट्रोनले कुनै पनि विषयमा अध्ययनबिना निर्णय गर्ने र डा. पुकारले मेट्रोनलाई साथ दिने भएकाले नर्स मर्कामा परेको उनीहरूको आरोप छ । ‘डा. पुकार र मेट्रोन मामाचेला र फुपुचेला भएकाले कहिल्यै एक अर्काविरुद्ध प्रश्न उठेन, न छानविन नै भयो’नर्स जतिले भनिन् ।
आफूहरूलाई स–सम्मान पुनरवहाली नभएसम्म आन्दोलन जारी राख्ने नर्सहरूले बताएका छन् । ‘सम्मानका साथ पुनर्वहाली हुनुपर्छ, संयमित भएर सबैले काम गर्न पाउनु प¥यो,’ नर्स सजना देउलाले भनिन् ।
नेपाल नर्सिङ संघ विरोधमा
गत साउनमा विभिन्न बहानामा नेपाल अंग प्रत्यारोपण केन्द्रले केन्द्रका चार नर्सलाई वर्खास्त गरेदेखि नै नेपाल नर्सिङ संघले विरोध जारी राखेको छ ।
पीडित नर्सहरूले आफूमाथि भएको शोषणको विषयमा नेपाल नर्सिङ संघ, स्वास्थ्य मन्त्रालयलाई निवेदन दिएपछि संघ विरोधमा उत्रिएको हो । पहिलो चरणमा वार्ताबाटै सुल्झाउने प्रयास गरेको र त्यो सफल नभएपछि विरोधमा उत्रिएको संघले जनाएको छ । नर्समाथि भएको अन्यायको विरोधमा केन्द्रका नर्सहरूले आइतबार कालोपट्टि बाँधेर काम गरे ।
‘हामीले यस विषयमा अध्ययन ग¥र्यौं, केन्द्रका अन्य नर्सको पनि गुनासो सुन्यौं, सकेसम्म भित्रै सुल्झाउने कोसिस गरेका थियौं । तर कुरा मिलेन,’ नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले भनिन् ।
सघंले यस विषयमा छानविन गरी समस्या सुल्झाउन केन्द्रलाई आग्रह गरेको थियो । तर केन्द्रले सोको वेवास्ता गरेपछि संघले पुसदेखि विरोधको कार्यक्रम ल्याउन वाध्य भएको जनाएको छ ।
आन्दोलनपछि स्वास्थ्यमन्त्री दीपक बोहराले चिकित्सा महाशाखाका प्रमुख भोलाराम श्रेष्ठको संयोजकत्वमा छानविन टोली गठन गरेको छ । टोलीले दुईपक्षबीच वार्ता गरेकोमा निष्कर्ष ननिस्केपछि मंगलाबार वार्ता गर्ने जनाएको महासचिव केसीले बताइन् ।
कालो पट्टिबाँधी काम गर्ने नर्सहरूमाथि केन्द्रका पदाधिकारीबाट धाक–धम्की दिने जस्ता गलत क्रियाकलाप जारी रहेको संघले जनाएको छ ।
प्रकाशित: २५ पुस २०७४ ०४:३४ मंगलबार