काठमाडौं- कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्ने भएका छन् ।
कर्मचारी समायोेजन ऐनको प्रावधान बमोजिम २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष उमेर पूरा भएका कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउनेछन् । ऐनको प्रावधान बमोजिम स्वेच्छिक अवकाश लिन पाउने कर्मचारीको संख्या २२ हजार रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रालयले एकैपटक रकम दिन नसक्ने जनाउँदै दुई किस्तामा रकम दिनसक्ने व्यहोराको सहमतिपत्र आइतबार सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सबै कर्मचारीले एकै पटक अवकाश लिएमा ४० देखि ५० अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै अर्थमन्त्रालयले दुई किस्तामा रकम दिने सहमति जनाएको हो । सामान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालयसँग सहमतिका लागि पत्र पठाएको दुई सातापछि आइतबार अर्थले सहमति दिएकोछ ।
स्वेच्छिक अवकाश लिने कर्मचारीलाई चालु आर्थिक वर्षको अन्तिममा एक तिहाई र बाँकी दुई तिहाई रकम आउँदो आर्थिक वर्षको पहिलो चौमासिकमा दिने सहमति अर्थमन्त्रालयले दिएको छ ।
कर्मचारी समायोेजन ऐनको प्रावधान बमोजिम २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष उमेर पूरा भएका कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउनेछन् । ऐनको प्रावधान बमोजिम स्वेच्छिक अवकाश लिन पाउने कर्मचारीको संख्या २२ हजार रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रालयले दिएको सहमति र कर्मचारी समायोज ऐनको प्रावधान मिलाएर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि स्वेच्छिक अवकाश लिने कर्मचारीलाई आवेदन दिन राजपत्रमा सूचना प्रकाशित गरिनेछ । अवकाश लिन चाहने कर्मचारीका लागि आवेदन भर्न पुस २८ गतेभित्र राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने अवस्था रहेको छ ।
कर्मचारी समायोजन ऐनको दफा १३ को उपदफा (४) मा अवकाश लिन चाहने कर्मचारीका लागि आवेदन भर्ने सूचना यो ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र प्रकाशन गर्नु पर्नेछ भन्ने उल्लेख छ । संसद्बाट पारित भई गत असोज २९ गते कर्मचारी समायोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । यसको तीन महिना पुस २८ गते पुग्ने छ ।
कर्मचारी समायोजन ऐनको दफा १३ मा भनिएको छ, ‘संघ, प्रदेश वा स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पूरा भएको र निवृत्तीभरण पाउने अवस्था भएको कुनै कर्मचारीले नेपाल सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित सर्त बमोजिम स्वेच्छिक अवकाश लिन सक्नेछ ।’
त्यस्तै दफा १३ को उपदफा (२) मा भनिएको छ स्वेच्छिक अवकाश लिने कर्मचारीमध्ये नेपाल स्वास्थ्य सेवाका कर्मचारी, व्यवस्थापिका संसद् सेवाका कर्मचारी र सम्वत् २०४९ साल कार्तिक २१ गतेभन्दा अघि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघ्ने गरी र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा अन्ठाउन्न वर्ष उमेर ननाघ्ने गरी सेवा अवधि थप गरी निवृत्तीभरणको लागि जम्मा सेवा अवधि कायम गरिनेछ भन्ने उल्लेख छ ।
दफा १३ को उपदफा (३) मा भनिएको छ, ‘सेवा अवधि कायम भएको कर्मचारीलाई सात वर्षको निवृत्तीभरण एकमुष्ट रूपमा स्वेच्छिक अवकाश लिँदाका बखत दिइनेछ र सो अवधि भुक्तान भएपछि प्रचलित कानून बमोजिम निवृत्तीभरण दिइनेछ ।’
प्रकाशित: २५ पुस २०७४ ०४:३६ मंगलबार