काठमाडौं- डा. गोविन्द केसीको गिरफतारीविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ। डा. केसीको रिहाई माग गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले डा. गोविन्द केसीलाई मानहानी मुद्दा लाग्छ भने हामी सबैलाई पनि लाग्नुपर्ने बताएका छन्। आयोजित भेलालाई सम्बोधन गर्दै नेता थापाले न्यायालयलाई मर्यादित र स्वतन्त्र होस् भन्दा डा. केसीलाई मानहानी लाग्छ भने न्यायालय स्वत्नत्रको पक्षमा लाग्ने सबैलाई मानहानी लगाउन आग्रह गरे।
'डा. केसीमात्र हाोइन। हामी सबै अदालत स्वतन्त्र र मर्यादित हुनुपर्छ भन्छौं। केसीलाई लगाइएको मानहानी मुद्दा हामीलाई पनि लगाइयोस्,' थापाले सम्बोधन गर्दै भने।
उनले राजाकालमा आफूविरुद्ध राज्यद्रोहको मुद्दा लागेको सम्झना गर्दै त्यतिबेला पनि बहस गर्ने सुवसचन्द्र नेम्वाङले मौन बसेर जनताको नारा सुन्न आग्रह गरेका थिए। त्यतिबेला अदालत परिसरमा राजाविरुद्ध नाराबाजी भइरहेको सम्झिँदै उनले भने, 'जनता पनि हाम्रो पक्षमा थिए। त्यसैले उनीहरु मविरुद्ध होइन, राजाविरुद्ध नाराबाजी गरिरहेका थिए।'
उनले यतिबेला पनि जनता डा. केसीको समर्थनमा रहेको बताउँदै उनको गिरफ्तारी निन्दनीय भएको बताए। उनले तत्काल उनको रिहाई हुनुपर्ने माग गरे। 'डा. केसीले त अदालतको मान बढाउनुभएको छ। यस्तोमा मानहानी र गिरफ्तारी निन्दनीय छ,' उनले भने।
यता विवेकसिल साझा पार्टीका रविन्द्र मिश्रले डा. गोविन्द केसीले उठाएका सम्पूर्ण मागको छानबिन हुनुपर्ने माग राखे। डा. केसीको आक्रोश होला तर नियत त्यस्तो नभएको बताउँदै मिश्रले तत्काल रिहाई गर्न माग गर। 'डा. केसीको आक्रोश थियो होला तर नियम अदालतलाई मानहानी गर्ने विलकुल थिएन। उहाँको मनसाय पनि सम्मानित अदालतलाई मर्यादित र सम्मानित बनाउने नै हो,' उनले भने।
बिहान ८ बजेदेखि नै डा. केसीका समर्थकहरुले रिहाईको माग गर्दै नाराबाजी गरेका थिए। विरोध प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवं नयाँशक्तिका सयोजक बाबुराम भट्टराई पनि उपस्थित थिए।
प्रकाशित: २५ पुस २०७४ ०३:५३ मंगलबार