८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वराजा-योगी आदित्यनाथ भेटको अर्थ

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार भारतको उत्तरप्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पश्चिम नेपालका तराईका जिल्ला भ्रमणमा गएका शाह सडकमार्गबाट लखनउ पुगेर आदित्यानाथलाई भेटेका हुन् ।

आदित्यानाथले ट्विट गर्दै पूर्वराजा शाहसँग सोमबार बिहान सरकारी निवासमा भेट भएको र उनलाई अंगबस्त्र र कुम्भको लोगो  प्रदान गरेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बलियो सम्बन्ध भएका योगी आदित्यनाथ नेपालमै आएर हाकाहाकी राजतन्त्र फर्काउन आह्वान गर्ने कट्टर हिन्दुवादी तथा राजावादी नेता हुन् ।

मुख्यमन्त्री हुनुअघि योगी आदित्यनाथ पटकपटक नेपाल आएर हिन्दु र हिन्दु राजाका पक्षमा आफ्नो धारणा राख्दै आएका थिए । योगी आदित्यनाथको दरबार र नेपाली हिन्दुवादी शक्तिसँग लामो समयदेखि सम्पर्क रहँदै आएको थियो ।
नेपालको सीमा जोडिएको गोखरपुरस्थित गोखरनाथ मन्दिरका महन्त हुन् । गोखरानाथलाई नेपाली राजाको कुल देवताका रूपमा लिइन्छ ।
चैतमा उत्तर प्रदेशका हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टीले उत्तरप्रदेश राज्यमा जितपछि सो पार्टीभित्र पनि कट्टरपन्थी धारका योगीलाई मुख्यमन्त्री बनाएको थियो ।
भारत, गोरखपुरस्थित गोरखनाथ मन्दिरका महन्त रहेका योगी आदित्यनाथले नेतृत्व गरिसकेको ‘अखिल भारत वर्षिय बारपन्त योगी महासभा’मा नेपालका धेरै योगी सदस्य छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बलियो सम्बन्ध भएका योगी आदित्यनाथ नेपालमै आएर हाकाहाकी राजतन्त्र फर्काउन आह्वान गर्ने कट्टर हिन्दुवादी तथा राजावादी नेता हुन् ।
करिब साढे तीन वर्षअघि भारतीय जनता पार्टी र भारतका हिन्दुवादी नेताको योजनामा आदित्यनाथले नेपालका हिन्दुवादी तथा दरबारीयालाई विराट हिन्दु महासम्मेलन आयोजना गर्न लगाएका थिए । पछिल्लो समय गत वर्षको कात्तिकमा काठमाडौं बनकालीमा आयोजित एक समारोहमा उपस्थित उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्साहित हुनेगरी अभिव्यक्ति दिएका थिए ।
समारोहमै आदित्यनाथले ‘हाम्रो मिसन हिन्दु राजा, हिन्दु प्रजा’ भनिदिएपछि ज्ञानेन्द्रलेसमेत पुनः राजा हुने आकांक्षा प्रकट गरेका थिए ।
आदित्यनाथ महन्त रहेको गोरखपुरको गोरखनाथ मन्दिरसँग नेपालका चन्दननाथ (जुम्ला), शिद्ध रत्ननाथ (दाङ), थापाथली मन्दिर, मृगस्थलीको नाथ अखडासँग पुरानो सांस्कृतिक सम्बन्ध छ । यी मठमन्दिरमा कान चिरेर कुण्डल लगाउने ‘कनफट्टा जोगी’ महन्त हुन्छन् ।
नेपालसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध रहेको योगी आदित्यनाथ र पूर्व राजाको भेटलाई विभन्नि दृष्टिकोणले चासोका साथ हेरिएको छ ।
परराष्ट्र मामिलाका विज्ञ रहेका सांसद दीपकप्रकाश भट्ट दीर्घकालीन उद्देश्य हुनसक्ने बताउँछन् । ‘पूर्व राजाले अहिले नभए पनि १०– १५ वर्षपछि पुनस्र्थापित गराउन सकिन्छ कि भनेर सहयोग पनि खोजेका हुनसक्छन्,’ भट्टले भने, ‘तर यो सफल हुँदैन । नेपालको राजनीति अस्थिर रहेको समयमा हिन्दुवादी राजनीतिलाई विस्तार गर्ने विभिन्न प्रयास भए पनि सफल हुनसकेको छैन ।’
भारतका विभिन्न हिन्दुवादी संगठन बरगंज दल, राष्ट्रिय स्वयमसेवक संघ, विश्व हिन्दु महासंघसहित कट्टरपन्थी हिन्दुवादी संगठनको माध्यमबाट राजनीति गर्न यसअघि प्रयास भएका थिए ।
भारतलाई हिन्दु राष्ट्र बनाउने अभियानमा रहेको राष्ट्रिय स्वयं सेवक संघको राजनीतिक मोर्चा भारतीय जनता पार्टी (भाजपा)का केन्द्रमा शासन रहेको छ । भारतमा हिन्दुवादी संगठनको मुख्य उद्देश्य सके भारतलाई हिन्दु राष्ट्र बनाउने नसके अर्को कुनै स्थानमा हिन्दु बनाउने रहँदै आएको छ ।
‘भारत र नेपाली समाज निकै फरक छ । भारतमा हिन्दु मुस्लिमबीचको विभाजन शताब्दीऔं पूरानो हो । १३ औं शताब्दी यता एकले सकेको समयमा अर्कोलाई जबरजस्ती धर्म परिवर्तन गराउने कामले गर्दा विभाजन लामो समयदेखि चल्यो,’ भट्टले भने ।
भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले भने स्वतन्त्र व्यक्ति र पदमा रहेको व्यक्तिको भूमिका फरक हुने बताए । ‘यो पुरानो सम्बन्धका कारण शिष्टचार भेट हुनसक्छ । भारतीय संविधानले बाँधिएका व्यक्तिले स्वतन्त्र हुँदा जस्तो भूमिका हुँदैन । सरकारकै धारणाको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ,’ उपाध्यायले भने, ‘सांसदका रूपमा उनले हिन्दु राष्ट्र र हिन्दु राष्ट्रको बारेमा धारणा राखे पनि अहिले खेल्ने भूमिका त्यस्तो नहुन सक्छ ।’

प्रकाशित: २५ पुस २०७४ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App