८ वैशाख २०८१ शनिबार
समाज

बुधबारबाट मौसम सुधार हुने

काठमाडौं- केही दिन यता निरन्तर घटिरहेको तापक्रममा मंगलबारपछि बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठले मंगलबारसम्म चिसो कायमै रहने र बुधबारबाट मौसममा केही सुधार हुने बताएका छन् । ‘मंगलबारसम्म देशभरकै तापक्रम घटिरहन्छ, बुधबारबाट केही सुधार हुने देखिएको छ,’ मौसमविद् श्रेष्ठले भने । काठमाडांै उपत्यकाको न्यूनतम तापक्रम आइतबार र सोमबार लगातार शून्य डिग्री सेल्सियसमा झरेको थियो भने अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो । मंगलबार पनि न्यूनतम तापक्रम शून्यदेखि १ डिग्रीको आसपास हुने र अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस आसपास हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार सबैभन्दा कम मनाङमा माइनस १४ डिग्री पुगेको थियो भने जुम्लामा माइनस ७ डिग्री रेकर्ड गरिएको थियो ।
सोमबार सुदुपश्चिमबाहेकका तराई क्षेत्रमा कुइरो खुलेको महाशाखाले जनाएको छ । केही समयका लागि खुलेको कुइरो मंगलबार पुनः लाग्न सक्ने मौसमविद् श्रेष्ठले जनाए । उच्च हिमाली क्षेत्रमा छिटफुट हिमपात भए पनि सामान्यतया हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: २५ पुस २०७४ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App