८ वैशाख २०८१ शनिबार
राजनीति

अदालतको अवहेलनामा डा. केसी गिरफतार

भाषा शर्मा/दीपक दाहाल
काठमाडौं- अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा बुझाउन आदेश दिएको केही घण्टामै प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनशन बसेकै ठाउँबाट केसीलाई गिरफतार गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

बर्खास्तीमा परेका चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. शशी शर्मालाई पुनर्बहाली गर्ने अदालतको फैसलाविरुद्ध अनशन सुरु गरेका गोविन्द केसीलाई अनशनस्थलबाटै प्रहरीले गिरफतार गरेको छ ।

उनलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा दुईदर्जन प्रहरी शिक्षण अस्पताल पुगेका थिए । अनशनस्थलमा पक्राउ पुर्जी पढेर सुनाएपछि केसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । डा. केसीले सोमबार अपराह्नमात्रै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका निर्णयमाथि छानबिनको माग गर्दै अनशन सुरु गरेका थिए । लगत्तै सर्वाेच्च अदालतका न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले अवहेलना मुद्दामा डा. केसीलाई मंगलबार बिहान ९ बजे उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको हो ।
सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले डा. केसीले अदालतको अपहेलना गरेको र न्यायाधीशमाथि अपमानजनक शब्द बोलेको भन्दै निवेदन दर्ता गरेका हुन् । सर्वोच्चले अदालतको अपहेलना गरेको र न्यायाधीशलाई अपमानजनक शब्द प्रयोग गरेकोले ‘किन कारबाही नगर्ने भन्दै डाक्टर केसीलाई उपस्थित हुन आदेश गरेको हो ।
‘डाक्टर केसीको नामबाट प्रकाशित प्रेसविज्ञप्ति, विभिन्न अनलाइन समाचारमा प्रकाशित सामग्री हेर्दा संविधान र कानुनबमोजिम यस अदालत, मातहतका विभिन्न अदालतबाट भएका फैसलाविरुद्ध आम जनमानसमा भ्रम पर्नेगरी नेपालको न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशहरुका विरुद्ध अमार्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको देखिँदा निजलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो’, सर्वोच्चको आदेशमा भनिएको छ ।
‘निजलाई पक्राउ गरी पुस २५ गते बिहान यस अदालतमा हाजिर हुन उपस्थित गराउनु भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू’, आदेशमा उल्लेख छ । डा. केसीले त्रिवि शिक्षण अस्पतालमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरी अनशनको घोषणा गरेका थिए । त्यसलगत्तै उनको विज्ञप्ति र अनलाइनमा आएका समाचारलाई आधार बनाएर दिउँसो ३ बजेतिर सर्वोच्चमा केसीविरुद्ध निवेदन दर्ता भएको थियो । बेलुकी करिब ६ बजे सर्वोच्चबाट केसीलाई अदालतमा उपस्थित गराउन आदेश भएको खबर सार्वजनिक भएको थियो ।
चिकित्सा शिक्षा सुधारका लागि आन्दोलन गर्दै आएका डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्तीको मागसहित चौधौं अनशन सुरु गरेका थिए । चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्तिसम्बन्धी चार वर्ष पुरानो मुद्दामा डा. शशी शर्मालाई डिनमा पुनर्बहाली गर्ने फैसला सर्वोच्चले आइतबार गरेपछि त्यसविरुद्ध डा.केसीले अनशन सुरु गरेका हुन् । डा. केसीले मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नसमेत माग गरेका छन् ।
डा. केसीले विज्ञप्तिमा दलहरु सुशासन र विधिको सर्वोच्चता कायम राख्न सर्वथा असफल भएको भन्दै सुधारको लडाइँ आफ्नै हातमा लिनुबाहेक नागरिकसँग अर्को विकल्प नरहेको समेत बताएका छन् । उनले सुधार र सुशासनका लागि आतुर समाजका सबै तह र तप्काका नागरिक, युवा विद्यार्थी, बुद्धिजीवी वर्गलगायत सबैमा यो अभियानसित जोडिन पनि आह्वान गरेका छन् ।
उनले त्रिवि शिक्षण अस्पताल सुधारसम्बन्धी विभिन्न मागसमेत अगाडि सारेका छन् । पछिल्लोपटक डा. केसी गत असोजमा १३औं अनशन बसेका थिए । चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने प्रमुख मागसहित अनशनमा बसेका उनको मागअनुसार विधेयक संसद्मा पेस हुनै नपाएपछि सरकारले अध्यादेशबाट कानुन ल्याउने सहमति  गरेर अनशन टुंग्याएको थियो । त्यसपछि गत कात्तिक ६ मा सरकारले अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयमा लामो समय रोकिएको अध्यादेश प्रमाणीकरण भए पनि हालसम्म सोअनुसारको चिकित्सा शिक्षा आयोग भने बनेको छैन् ।

प्रकाशित: २५ पुस २०७४ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App