coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एयर एसियाले झुक्यायो

काठमाडौं – बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई झुक्याएको छ । एयर एसिया एक्सले आइतबार २ करोड रुपैयाँ चुक्ता गर्दै सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो । तर, उसले प्रतिबद्धताविपरीत १ करोड ३० लाख रुपैयाँमात्र चुक्ता गरेको छ । अझै उसले १९ करोड ७० लाख तिर्न बाँकी छ ।


‘एयर एसियाले १० करोड तिर्ने प्रतिबद्धताविपरीत १ करोड ३० लाखमात्र चुक्ता गरेर झुक्याएको छ,’ त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, ‘त्यही भएर एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) इन्सेन्टिभ्स टुर्स एन्ड ट्राभल्सका सञ्चालक हरिमान लामालाई बोलाएर थप प्रतिबद्धतामा हस्ताक्षर गराइएको छ ।’

ती उच्च अधिकारीका अनुसार आगामी फागुन १६ गतेभित्र एयर एसियाले सम्पूर्ण बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएको छ । तर, जिएस इन्सेन्टिभ्सका टुर्सका सञ्चालक लामाले भने सोमबार विमानस्थल व्यवस्थापनसँग भएको बैठकमा अधिकतम १५ दिनभित्र सबै बक्यौता चुक्ता गर्ने बताएका थिए ।

– १० करोड भन्दै सवा करोड ति¥यो

‘हामीलाई लामामाथि विश्वास छैन तर, नेपालमा एयर एसियाको जिएसए कम्पनी उनकै भएका कारण बाध्य भएर उनीसँग छलफल गर्नुपरेको हो,’ विमानस्थलका ती अधिकारीले भने, ‘लामाले भनेको १५ दिनमा हामीलाई विश्वास छैन तर एयर एसियाको मलेसियास्थित केन्द्रीय कार्यालयले फागुन १६ भित्र तिर्ने भनेका कारण उसकै विश्वास गरेका छौं ।’

सोमबार बसेको बैठकमा त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय, इन्सेन्टिभ्सका सञ्चालक लामालगायत सहभागी थिए । बैठकमा अबदेखिको कारोबार, पत्राचार लगायत एयर एसियाको केन्द्रीय कार्यालयसँग मात्र गर्ने तर जिएसए इन्सेन्टिभ्ससँग कुनै ताकेता नगर्ने निष्कर्षमा लामाले पनि सहमति जनाएको सम्बद्ध एक अधिकारीले जानकारी दिए ।

एयर एसिया एक्सले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि तिरेको छैन ।

पछिल्लो पटक त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक तथा मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर एसियासहित दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवाले अर्बौं बक्यौता चुक्ता नगरेको विषयमा छानबिन समिति गठन गरी बक्यौता असुलीमा काम गरेपछि वायुसेवा कम्पनीले रकम तिर्न थालेका हुन् ।

तर, एयर एसिया एक्लैले सबैभन्दा धेरै २३ करोड रुपैयाँबराबरको बक्यौता चुक्ता गरेको थिएन । उक्त रकम गत मंसिर १४ गतेसम्मको हो । जति ताकेता गर्दा पनि अटेर गरेपछि विमानस्थल व्यवस्थापनले एयर एसियाको नेपाल उडान बन्द गर्ने चेतावनीसहितको पत्र पठाएपछि बाध्य भएर आइतबार २ करोड रुपैयाँ तिरेको थियो । एयर एसियाले हाल काठमाडौंका लागि सातामा पाँच उडान गर्दै आएको छ । बक्यौता रकम एयर एसियाको मुख्यालयबाट आएको हो ।

बक्यौता सम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए । अझै उनीहरूबाट १ अर्ब ३५ करोड १५ लाख ३३ हजार रुपैयाँ उठाउन बाँकी छ ।
त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसिया एक्सको मुख्यालय मलेसिया पठाएको थियो । उसको जिएसए इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । त्यसको जवाफ पनि दुई सातासम्म आएको थिएन ।

त्यसैगरी आन्तरिक वायुसेवातर्फ सौर्य एयरलाइन्सको सबैभन्दा धेरै बक्यौता रहेको छ । गत मंसिर मसान्तभित्र ५० लाख रुपैयाँ चुक्ता गरेको सौर्यले २ करोड ४७ लाख ८१ हजार ७ सय ५३ रुपैयाँ तिर्न बाँकी छ । अर्को कम्पनी सिम्रिक एयरलाइन्सले १ करोड ४० लाख ३ हजार २ सय ३३ रुपैयाँ तिर्न बाँकी छ ।  

ती दुवैलाई पनि पुस २३ भित्र बक्यौता चुक्ता नगरे उडान रोक्ने चेतावनीपत्र पठाएपछि किस्ताबन्दीमा चुक्ता गर्ने प्रतिबद्धतापत्रससहितको योजना विमानस्थललाई पठाएका छन् ।

‘ठूलो परिमाणको बक्यौता उठाएपछि दोस्रो चरणमा सानो परिमाणको बक्यौता उठाउने पहल सुरु गर्छौं,’ विमानस्थलका ती अधिकारीले भने, ‘उनीहरूलाई पनि म्याद दिन्छौं र म्याद नाघे उडान रोक्ने चेतावनीसहितको पत्र पठाउँछौं ।’

प्रकाशित: २५ पुस २०७४ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App