७ वैशाख २०८१ शुक्रबार
अर्थ

फड्को मार्नेभन्दा परम्परा धान्नमै सीमित

झापा – त्रिदेशीय व्यापारको एउटा मुख्य ‘ट्रान्जिट’ बनेको काँकडभिट्टा नाकामार्फत भइरहेको अन्तर्राष्ट्रिय कारोबार वर्षौंदेखि यथास्थितिको पर्याय भइरहेको छ । भारत, भुटान र बंगलादेशसँग पूर्वी नाकामार्फत भइरहेको व्यापार फड्को मार्नेभन्दा पनि परम्परा धान्ने तहमै सीमित हुनुका पछाडि नेपाली पक्षको उदासीनता मुख्य कारण बनिरहेको छ ।

‘यो नाका तीनवटा देशसँग व्यापार कारोबार अघि बढाउने मुख्य ट्रान्जिट हो,’ दुई दशकभन्दा लामो समयदेखि पूर्वी नाकाबाट अन्तर्राष्ट्रिय कारोबारलाई नियालेका व्यवसायी मोहन निरौला भन्छन्, ‘तर, यो परम्परा धानेजस्तो मात्रै भएको छ । अपेक्षाकृत रुपमा नेपालले आफ्नो पक्षमा पार्न सकेको छैन । पहल नै भएको छैन ।’ मेची भन्सार एजेन्ट संघका अध्यक्षसमेत रहेका निरौलाको यो तीतो अनुभवलाई नाकामार्फत भइरहेको कारोबारको अवस्थाले पनि सही साबित गर्छ । किनभने भारत, बंगलादेश, भुटान तथा अन्य मुलुकबाट आयात हरेक वर्ष बढेको बढ्यै हुने तर निर्यातको सीमितता भने जस्ताको तस्तै रहने समस्या यहाँ देखिन्छ । त्यसैले पर्याप्त सम्भावना भएर पनि यो नाकाबाट भइरहेको त्रिदेशीय कारोबारले अपेक्षाकृत गति लिन सकेको छैन ।

सबैभन्दा जोखिमपूर्ण रहेको भारतसँगको कारोबार केही महिनायता अवरोधरहित रुपमा जारी छ । तैपनि अनेकौं जटिलताले पहिलेको जस्तो अवस्थामा छैन । भारतसँगको कारोबार नै घटेका कारण राजस्व असुलीसमेत घटेको छ । आर्थिक वर्ष ०७३÷७४ मा लक्ष्यको तुलनामा ५.१७ प्रतिशत राजस्व वृद्घि गरेको मेची भन्सार कार्यालयको चालु आव ०७३÷७४ को लक्ष्यसमेत पूरा नगर्ने छाँट देखाएको छ । त्यसो त भन्सारको राजस्व असुलीमा भारतसँगको कारोबार मात्रै निर्भर हुँदैन । तर, कुल व्यापारको ८५ प्रतिशतभन्दा बढी हिस्सा भारतसँगै हुने कारणले राजस्वमा त्यसको प्रभाव सबैभन्दा बढी पर्ने भन्सार अधिकारीहरुको भनाइ छ ।  

चालु आवको पाँच महिनामा लक्ष्यको तुलनामा ८५ प्रतिशत मात्र राजस्व संकलन गरेका कारण यो संकेत देखिएको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए । चालु आव साउनदेखि मंसिर मसान्तसम्म आइपुग्दा कार्यालयले कुनै महिना पनि लक्ष्य पूरा गरेको छैन । यो अवधिमा कार्यालयले चार करोड २३ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, तीन करोड ५६ लाख ५१ हजार रुपैयाँमात्र असुली गरेको छ । भन्सार प्रमुख अर्याल विभागले बढी लक्ष्य तोकेका कारण यस्तो भएको बताउँछन् । तर, व्यवसायी भने कारोबार नै घटेका कारण यस्तो अवस्था आएको सुनाउँछन् ।

‘भारतसँगको हाम्रो व्यापार उसको मुडमा निर्भर छ, नीतिमा छैन,’ निर्यात व्यापारका जानकार व्यवसायी सरोज साहले भने, ‘कहिले नाकाबन्दी, नोटबन्दी हुँदै जिएसटीसम्म आइपुग्दा नेपाली पक्षलाई दुःख दिने काम मात्रै धेरै भएको छ । अनेक बहानामा दुःख दिने क्रम दिनहुँ चल्छ । त्यसैले कारोबार घट्नु स्वाभाविक हो ।’

भारतसँगको कारोबारमा निर्यातभन्दा आयातको आकार ज्यादै ठूलो छ । नेपालबाट अधिक निर्यात हुने कृषि वस्तुमा भारतीय अवरोध अनेक बहानामा दोहोरिने गरेको छ । खासगरी अदुवा र अलैंची जस्ता कृषिवस्तुको निर्यात कुनै न कुनै बहानामा प्रभावित भइरहेका छन् । तर, जिएसटीको सुरुआतपछि आयात पनि घटेको छ । भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) लागू गरेपछि पूर्वी नाका हुँदै सीमावर्ती भारतीय बजारबाट हुने मालसामानको आयात प्रभावित बनेको भन्सार अधिकारीहरुको भनाइ छ ।

जुलाई १ तारिखदेखि भारतमा जिएसटी लागू भएको हो । अहिले भारतीय बजारबाट पूर्वी नाका हुँदै नेपाल आयात हुने मालसामानमा पहिलेको तुलनामा निकै कम भएको कार्यालयले जनाएको छ । यो नाका हुँदै खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिंकर, हवाई स्प्रिट, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाइल, मोबिल, मोटरका ब्याट्री, प्लास्टिकका प्याक गर्ने ट्युबलगायत विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट आयात हुने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाइउड, क्राफ्ट पेपर लगायत वस्तु नेपालबाट भारत तथा समुद्रपार निकासी हुने गरेका छन् ।

चालु आवको  पाँच महिने अवधिमा नेपाल र भुटानबीच भएको व्यापारमा पनि नेपालले  सन्तोष गर्ने ठाउँ नदेखिएको सरकारी अधिकारी नै बताउँछन् । चालु आवको साउनदेखि मंसिर महिनासम्ममा दुई करोड १५ लाख ६३ हजार आठ सय नौ रुपैयाँका वस्तु भुटान निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । यही अवधिमा २० करोड ९१ लाख १५ हजार १० रुपैयाँका वस्तु भुटानबाट आयात भएको छ ।

प्रमुख भन्सार अधिकृत टेकहादुर अर्यालका अनुसार यो नाका भएर चिजबल, गोल्डस्टार जुत्ता, तयारी पोसाकलगायत वस्तु निर्यात हुने गरेको छ । यो अवधिमा भुटानबाट पत्थर कोइला र ट्रान्सफर्मर मात्र  नेपाल आयात भएकोे छ । ७२ लाख ६७ हजार पाँच सय ९८ रुपैयाँ मूल्य बराबरका ५६ थान ट्रान्सफर्मर र २० करोड १८ लाख ४७ हजार चार सय ११ रुपैयाँ मूल्य बराबरको पत्थर कोइला आयात भएको भन्सार अधिकारीले जनाएका छन् । नेपाल र भुटानबीच वाणिज्य सन्धि नभएकै कारण भुटानसँग कारोबार गर्न समस्या पैदा भएको व्यापारीको भनाइ छ ।

पछिल्लो पाँच वर्षयता नेपाल र बंगलादेशबीचको व्यापार खस्किएको छ । मौद्रिक रुपमा ठूलै आकारको व्यापार भइरहे पनि नेपालले निर्यातजन्य वस्तुको संख्या बढाउन सकेको छैन । जबकि, बंगलादेशबाट नेपाल भित्रने सामग्रीको संख्या भने सधैं बढ्दो छ । आखिर के कारण छ यसको पछि ?

नेपाली निर्यात व्यापारीदेखि निजी क्षेत्रका धेरै अगुवाको फरक धारणा छ । तर, बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल चाहिँ यसमा नेपालको आन्तरिक कमजोरी र अस्थिरताले मुख्य रुपमा काम गरेको बताउँछन् । सन् २०१२ सम्म बंगलदेशसँगको निर्यात व्यापार नेपालको पक्षमा रहे पनि त्यसपछिको पाँचवर्षे अवधिमा दुई देशबीचको व्यापार बंगलादेशको पक्षमा रहेको उनको भनाइ छ । सन् १९७६ मा नेपाल र बंगलादेशबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो ।

पुसको पहिलो हप्ता झापा आएका बखत नेपाल र बंगलादेशबीच हुने व्यापारिक समस्या समाधानबारे सरोकारवालासँग छलफल गरेका उनले बंगलादेशबाट आयात हुने वस्तुको परिमाण ठूलो भएपनि नेपालबाट भने सीमित वस्तुमात्रै निर्यात हुने गरेको बताए । सन् २०१२ पछिको नेपालको राजनीतिक अवस्था अस्थिर बनेको तथा  व्यवसाय लगानीमैत्री नभएका कारण पनि बंगलादेशतर्फको निर्यात व्यापार ओरालो लागेको उनको भनाइ थियो । ‘बंगलादेशमा स्थिरता छ,’ राजदूत भुसालले भने, ‘यही भएर बंगलादेशले व्यापारको विकासमा छोटै समयमा छलाङ् मा¥यो, निकै राम्रो प्रगति ग¥यो, उत्पादन पनि बढी भयो ।’ नेपालमा उत्पादित अदुवा, चिया अलैंची केरालगायत वस्तुको माग बंगलादेशमा उच्च भए पनि नेपालले निर्यात गर्न सकिरहेको छैन ।

व्यापारीहरु पनि राजदूत भुसालको तर्कसँग सहमत छन् । ‘हाम्रा कृषि वस्तु बंगलादेशको बजारमा पु¥याउन सके ज्यादै राम्रो बजार पाउने सम्भावना अझै जीवित छ,’ यही सातामात्रै ढाकामा भएको व्यापार मेलामा सहभागी बनेर फर्केका मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले भने, ‘तर, हामीले किन पठाउन सकिरहेका छैनौं, कहिलेदेखि पठाउने भन्नेबारे नेपालले तत्काल पहल गर्नुपर्छ ।’ उनका अनुसार भारतले उपलब्ध गराएको फूलबारी सडक चार लेनको छ ।

भारत बंगलादेश नाकामै भन्सार छ । त्यसैले नेपालले अधिकतम निर्यातजन्य वस्तुको संख्या बढाउनु आवश्यकता छ । ‘कि निर्यातजन्य वस्तुको संख्या बढाउने उपाय सरकारले खोज्नुप¥यो,’ बस्नेतको भनाइ छ, ‘कि अहिले जे छ, त्यसैमा सन्तोष मान्नुप¥यो । त्यसो गर्दा हाम्रो अन्तर्राष्ट्रिय बजार झन् खुम्चिने निश्चित छ ।’
 

प्रकाशित: २५ पुस २०७४ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App