६ वैशाख २०८१ बिहीबार
अर्थ

चार करोडको पक्की पुल

जुम्ला – डोल्पा झारकोटकी रिता रोकाया साप्ताहिक रुपमा दैनिक उपभोग्य सामान खरिदका लागि जुम्ला सदरमुकाम खलंगा पुग्छिन् । उनी खलंगाबाट खच्चरमा ल्याइएको सामान गाउँमा बेचेर जीविका चलाउँछिन् । ‘गाउँसम्म सडक पुगेको छ, तर पुल नहुँदा ढुवानीका साधन जान सकेका छैनन्,’ रिताले भनिन्, ‘सडक हेरेरै चित्त बुझाउनुपर्ने डोल्पालीको बाध्यता छ ।’

चन्दननाथ नगरपालिकामा बग्ने तिला नदीमाथि निर्माण हुन लागेको डोल्पा जोड्ने पक्की पुल समयमै नबन्दा गाउँमा गाडी पुग्न नसकेको उनी बताउँछिन् । दानसाघु तल्लो पक्की पुल निर्माण कार्य सकिएको खण्डमा सवारी आवागमन सहज हुने र डोल्पाली जनताले भोग्नु परेका सबैखाले पीडा हट्ने उनको विश्वास छ ।  

डोल्पाकी रमिता रोकाया पनि दानसाघु पुल नबन्दा डोल्पावासीले ठूलो पीडा भोग्नु परेको अनुभव सुनाउँछिन् । उनले भनिन्, ‘पुल निर्माण नहुँदै कैयौं युवालाई बुढेसकाल लागिसक्यो । पुल बन्न लागेको हेर्दै सात वर्ष गुज्रेपनि पुलमाथि गाडी गुडेको सपना देख्न सकेका छैनौं ।’ आधा बनेको पुल हेर्दै दैनिकी बित्ने गरेको उनले बताइन् । ‘कहिले पुल बन्ला र गाडी चढौला भन्ने डोल्पावासीको रहर पूरा हुन सकेको छैन,’ उनले भनिन् । उनले पुल नबन्दा भोग्नु परेको पीडाको स्थानीय सरोकारवालाले जवाफ दिनैपर्ने बताइन् ।

भिमबहादुर बोहोर जुम्ला गोठिचौर गाउँपालिकाका चर्चित होटलका सञ्चालक हुन् । तर पुल नहुँदा भने जस्तो सामान पु¥याउन सक्दैनन् । ‘पुल बनेको भए गाडीमा सामान लिएर जस्तोसुकै परिकार चख्याउन सकिन्थ्यो, बोहोराले भने, खच्चर र पिठ्युको भरमा ल्याईएको सामानले जेनतेन होटल चलेको छ । रमिता, रिता र भिमबहादुर प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै हजारौं स्थानीयले पुल नहुँदाको पीडा खेपिरहेका छन् । आर्थिक वर्ष ०६९÷७० मा निर्माण कार्य सुरु भएपनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । पाँच वर्षमा पुल बनाई सक्ने सम्झौता भएपनि सात वर्ष भइसक्दा पुल बन्न सकेको छैन । चार करोड रुपैयाँमा पुल बन्न लागेको हो ।

पुलका सबै पिलर निर्माण भइसकेका छन् । दुई स्ल्याप बनेका छन् । तर काम कछुवा गतिमा अघि बढेको छ । गत असारमा पुल बनाएर बुझाई सक्ने म्याद दिइएकोमा अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पुल निर्माण कार्य निर्माण व्यवसायी तारासिंह कठायतले लिएका छन् ।  पहिलो चरणको डिजाइन फेल भएर रिभाइज गर्नुपर्दा समय लागेको बताए । स्टिमेट फेल भएपनि ०७३ मा टेन्डर आह्वान भएर काम सुरु भएको हो । ‘जग्गाधनिले पर्खाल लगाउन दिएका छैनन्,’ उनले भने ।

पुलको काम सुरु गर्दा डोजरमा ढुंगा हान्ने र कामदार माथि हातपात गर्ने जस्ता क्रियाकलाप हुँदा काम गर्न नदिएको गुनासो निर्माण व्यवसायी कठायतको छ । पुल निर्माणका क्रममा कैयौंपटक अवरोधको सामना गर्नेु परेको उनको भनाइ छ । जिल्ला समन्वय समिति (जिसस)मा उजुरी परिसकेको छ । जग्गाधनिसँगको लफडा समाधान भए आउदो असारसम्म पुल निर्माण भएर सवारी साधन सञ्चालन हुने विश्वास गरिएको छ ।

व्यवसायी कठायतले जिविसमा म्याद थपका लागि निवेदन दिइसकेका छन् । उनले काम गर्ने वातावरण बनाइदिन जिसस र चन्दननाथ नगरपालिकालाई आग्रह गरेका छन् । उनले भने, ‘काम गर्ने वातावरण बनाइदिनुहोस्, असारमा निर्माण कार्य नसके जुनसुकै कारबाही भोग्न तयार छु ।’ पुल नबन्दा गोठीचौर गाउँपालिकासहित डोल्पाको आधा सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् । दैनिक उपभोग्य सामानका लागि तीन–चार दिनसम्म हिडेर खलंगा बजार पुग्नुपर्ने बाध्यता स्थानीयको छ ।


दानसाघुको अलपत्र पक्की पुल । डिबी÷नागरिक

प्रकाशित: २५ पुस २०७४ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App