१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘लगानीको वातावरण सुनिश्चित’

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अब बन्ने सरकारले लगानीको वातावरण सुनिश्चित गर्ने बताएका छन् ।

मुलुकको आर्थिक विकासमा स्थायित्व र लगानी वृद्धि आवश्यक रहेको उल्लेख गर्दै उनले बाह्य तथा आन्तरिक लगानीका लागि समान अवसर सिर्जना गरिने बताएका हुन् । नेपाल उद्योग परिसंघ (सिएनआई)को प्रतिनिधि मण्डलसँग सोमबार भएको भेटवार्ताका क्रममा उनले बलियो र स्थायी सरकारका लागि जनताले बाम गठबन्धनलाई मत दिएको बताए । मुलुकको समृद्धिका लागि आगामी सरकारले निजी क्षेत्रसँग नजिकको सम्बन्ध स्थापना गरी व्यवसाय प्रवद्र्धन, स्वदेशमै रोजगारी वृद्धिको ठोस कार्यक्रम र नीतिसहित अघि बढ्ने उनको धारणा छ ।

‘अब पुरानो अवधारणाबाट मुलुक चल्दैन । आधुनिक र समय सापेक्ष प्रविधि विकासको विकल्प छैन,’ उनले भने, ‘यसमा निजी क्षेत्रले के गर्न सक्छ र सरकारबाट के व्यवस्था गर्नुपर्ने हो स्पष्ट धारणा ल्याउनुस् ।’ उनले आवश्यक नीतिगत व्यवस्था र वातावरण निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

लगानी सुनिश्चितताका लागि वर्तमान नीतिहरुमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । ‘विकासको ठोस योजनासहित हामी आएका छौं,’ अध्यक्ष दाहालले भने, ‘आगामी सरकार निजी क्षेत्रमैत्री हुन्छ । मुलुकलाई समृद्धिको बाटोमा लैजाने यो ठूलो अवसर हो । सरकार–निजी क्षेत्र मिलेर यसलाई सफल बनाउनुपर्छ ।’

परिसंघका अध्यक्ष हरिभक्त शर्माले केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकको संक्रमणकाल समाप्त भएकाले अब समृद्धिको मार्गचित्र सार्थकरुपमा अगाडि बढाउनुपर्ने बताए । अब बन्ने बाम गठबन्धनको सरकारलाई विकास गर्ने अवसर र जिम्मेवारी प्राप्त भएको उनले बताए ।

‘लगानीयोग्य मुलुक हुँदाहुँदै पनि नीति, सुशासन र मजबुत सरकार नहुँदा लगानी आकर्षित हुन सकेको छैन,’ उनले भने, ‘अबको सरकारले नीतिगत सुधारसहित प्राथमिकता निर्धारण गरी निजी क्षेत्रको विश्वास तथा सहभागितामा उद्योगमैत्री वातावरण बनाउन ठोस योजना तयार गरी अघि बढ्नुपर्छ ।’

 

प्रकाशित: २५ पुस २०७४ ०१:४८ मंगलबार

लगानीको वातावरण सुनिश्चित