काठमाडौं – राष्ट्रिय खेलाडीको वर्चस्व रहेको मध्यमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा पूर्वाञ्चलमाथि ६३–८ को विजय हासिल ग¥यो ।
सात राष्ट्रिय खेलाडी रहेको मध्यमाञ्चलका लागि स्नेहा श्रेष्ठले सबैभन्दा बढी १६ स्कोर गरिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबारै मध्यपश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको छ । हारका बावजुद समूह ‘बी’ मा २ टोली मात्र रहेकाले त्रिभुवन आर्मी पनि अन्तिम चारमा स्थान बनाउन सफल भयो । शान्ति श्रेष्ठले २७ अंकको योगदान गरेपछि मध्यपश्चिमले त्रिभुवन आर्मी क्लबलाई ४५–३२ ले हरायो ।
राखेप च्याम्पियनसिपअन्तर्गतै १५औं पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगितामा दुई विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् । साबिक विजेता आर्मीले पूर्वाञ्चललाई ९३–७२ ले हरायो । आर्मीका सदीश प्रधान र रविन खत्रीले समान २१/२१ अंक जोडे । प्रहरीले मध्यपश्चिमाञ्चलमाथि ९३–५४ को विजय हासिल ग¥यो । प्रहरीका लागि विकास गुरुङले २७ स्कोर गरे ।
प्रकाशित: २५ पुस २०७४ ००:५३ मंगलबार