८ वैशाख २०८१ शनिबार
समाज

सहयोगी हात सँगाल्दै महावीर

काठमाडौं-ठमेलको एउटा रेस्टुरेन्टमा सेतो छडी टेक्दै दुई व्यक्ति प्रवेश गर्छन्। बाहिरी आँखाको धोकाले संसार देख्न वञ्चित उनीहरु भित्री आँखाले त्यहाँ रहेका व्यक्तिलाई राम्ररी नियाल्छन् र भन्छन्, ‘तपार्इंको अभियान निकै राम्रो लाग्यो, अगाडि बढ्नुस् ! हामी सहयोग गर्न तयार छौं।’

यत्ति भनेर उनीहरु बाहिरिन्छन् ।

फोन बज्छ । फोन गर्ने व्यक्ति त्यसै भन्छ, ‘म ललितपुरबाट बोलेको, तपार्इंको अभियानलाई साथ दिन तीन दिनको तलब बराबर हजार रुपैयाँ खातामा हालिदिएको छु ।’

फेरि इमेल आउँछ, देशबाहिरबाट ।

– ‘म खाडी मुलुकमा कार्यरत छु, फेसबुकमा तपार्इंको अभियानबारे पढेँ । मन पर्यो । म पनि त्यसमा सकेको सहयोग गर्छु । छिट्टै पैसा पठाउँछु ।’

के युवा, के पाका, के स्वदेशी, के प्रवासी, उनको फोन हरदम बजिरहन्छ । इमेल झरिरहन्छ । भेटघाट उस्तै बाक्लो । र, सहयोगको बाचा दोहोरिइरहन्छ ।

करिब १३ वर्षको बालक फोनमा भन्छ– ‘अंकल, म पाँच कक्षामा पढ्छु । तपार्इंको अभियान धेरै राम्रो लागेकाले यसमा साथ दिन ५ हजार रुपैयाँ सहयोग गर्न चाहन्छु, लिन आउनुस् है ?’

समाजमा राम्रो काम गर्न चाहे सहयोगी हातको कमी नहुने रहेछ । उनी अचेल यस्तै सोच्छन् ।

म्यागासेसे पुरस्कार विजेता महावीर पुनका दैनिकी हिजोआज यस्तै फोन संवाद र भेट्न आउनेलाई समय बाँड्दाबाँड्दै बित्छ । प्रविधिसम्बन्धी राष्ट्रिय आविस्कार केन्द्र स्थापना गर्ने घोषणा गरेका उनले त्यसका निम्ति (असार २९) सर्वसाधारणसँग सहयोग आह्वान गरेपछि अभियानलाई सघाउन थुप्रै सर्वसाधारण ओइरिएका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले दिएको जानकारीअनुसार सहयोग राशि करोड रुपैयाँ छेउछाउ पुगिसकेको छ ।

सामाजिक अभियन्ता पुनले केन्द्र बनाउन सरकारसँग अनुदान मागे । नभए सहुलियत ऋण त दिनुस् भनेर याचना गरे । राज्यले उनको माग सुनेन, न पवित्र उद्देश्य मनन ग¥यो ।

आफूले त गरेन गरेन, गर्न खोज्नेको हात पनि समाएन ।

 

सरकारले नसुनेर के भो ? पुनले सामाजिक सञ्जालमार्फत सर्वसाधारण गुहारे । सहयोगीको ताँती नै लागिसक्यो ।

‘ललितपुरबाट तीन दिनको तलब एक हजार रुपैयाँ सहयोग पठाउने ती युवक मजदुर हुन् । पढेलेखेका थिए भने १० हजारभन्दा बढी कमाउँथे तर उनले मेरो अभियानलाई बुझे र सहयोग गरे,’ पुनले नागरिकसँग भने, ‘कक्षा ५ मा पढ्दै गरेको फुच्चेले समेत अभियान मन परेकाले ५ हजार सहयोग ग¥यो ।

पुन अहिले यति पुलकित छन् कि सहयोगी हात समात्दै फुर्सद छैन उनलाई ।

‘ती दृष्टिविहीनले त मेरो अभियान बुझेर सहयोगको बाचा गरे,’ उनले थपे, ‘सुन्नुपर्नेले भने सुनेन ।’

खाडी मुलुकमा कौडीको मूल्यमा पसिना बेचिरहेको युवकले आफ्नो अभियानप्रति चासो राखेको पाउँदा उनमा जाँगर भरिएको छ ।

‘१२ घन्टा ४१ डिग्रीको तापक्रममा पसिना बगाउने कुनै सिपयुक्त कामदार होइन होला ऊ,’ उनले आँकलन गरे, ‘तैपनि अभियान बुझेर सहयोगको बाचा ग¥यो ।’

पुनका अनुसार केन्द्रको विकास गर्न सहयोगका लागि हजारौं फोन, सन्देश र इमेल आइरहेका छन् । ‘वर्षौंदेखि स्पष्ट भिजनसहित केन्द्रको विकासका लागि लाग्ने करिब ५० करोड रुपैयाँ सहयोग वा सहुलियतमा ऋण उपलब्ध गराउन सरकारसँग आग्रह गर्दा पनि नगरेपछि स्वैच्छिक सहयोग आह्वान गरेको हुँ,’ उनले सुनाए, ‘अहिले लाखौं जनताको साथ पाएको छु ।’

पुनले आफ्नो अभियान जनताको ढोकामा पुगिसकेकाले अब सरकारको ढोकामा सहयोगको लागि आफू नजाने बताए ।

‘सामान्य नागरिकले कुनै प्रस्तावबिनै सामाजिक सञ्जालमा पढेको भरमा बुझेर सहयोग गर्छ तर सरकारलाई प्रस्ताव लगेर बुझाई पटकपटक घच्घच्याउँदा पनि गरेन, त्यसैले अब सरकारको ढोका ढकढक्याउन जान्नँ,’ उनले भने, ‘अभियान बुझ्ने वर्ग सरकारमा आए वा सरकार आफैंले बुझेर बोलाएछ भनेचाहिँ ठूलो पल्टिन्नँ ।’

चार प्रधानमन्त्री र अर्थमन्त्रीले पत्याएनन्, जनताले पत्याए, महावीरलाई अहिले सहयोगी हात सँगाल्दै फुर्सद छैन । तत्कालीन प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, सुशील कोइराला, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र केपी ओलीसहित सबै अर्थमन्त्री तथा सरोकार निकायका प्रमुखलाई भेटेरै आविष्कार केन्द्रको सोचबारे बुझाएको उनले सुनाए ।

पुनका अनुसार सबैले आफ्नो सोचको प्रशंसा गर्दै आश्वासन दिने तर सहयोग भने नगर्ने प्रवृत्ति दोहोरिरहेको पनि गुनासो गरे । ‘सरकारबाट सहयोगको सम्भावना नदेखेर असार २९ देखि जनतासँग सहयोगको आह्वान गरेको हुँ,’ पुनले भने ।

जनतासँग सहयोगको आह्वान गरेपछि विज्ञान मन्त्रालयले ५ करोड रुपैयाँ सहयोग दिने जनाए पनि आफू जनतासमक्ष आफू गइसकेकाले नैतिक हिसाबले लिन उचित नठानेको पुनले बताए । ‘जनताको ढोकामा पुगेपछि जनतालाई धोका दिएर मन्त्रालयको ५ करोड सहयोग लिन नैतिक हिसाब राम्रो लागेन,’ उनले भने, ‘जनताको ढोकामा पुगिसकेकाले पाँच त के १५÷२० करोड नै भए पनि जाने थिइनँ ।’

सरकारले आफूसँग सहयोग मागे दिन तयार रहेको उनले व्यंग्य गरे ।

उनका अनुसार स्वैच्छिक आह्वान गरेको १० दिनअघिसम्म ३४ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । ‘व्यस्त भएर खाता चेक तथा वेबसाइडमा आएको बाचा हेर्न भ्याएको छैन तर फोन, इमेल आएअनुसार करिब ९० लाख जति जम्मा भइसकेको अनुमान गरेको छु ।’

अहिले पुनको अभियानलाई साथ दिने भन्दै सामाजिक सञ्जाल, विद्यार्थी समूह, विदेशमा रहेका नेपाली, कलाकार पनि विभिन्न अभियान बनाएर लागेका छन् ।

स्वैच्छिक सहयोगबाट उठेको रकमले सुरुमा १० मेगवाटको जलविद्युत योजना सञ्चालन गर्ने र त्यसपछि दिगो हुने गरी केन्द्र स्थापना गर्ने तयारी पुनले गरेका छन् ।

‘१० मेगावाटको जलविद्युत सञ्चालन गर्न करिब डेढ अर्ब लाग्छ,’ उनले भने, ‘अहिले ३० करोड मात्रै जम्मा भए पनि अरु बैंकबाट ऋण लिएर काम अगाडि बढाउन सकिन्छ ।’

उनका अनुसार जलविद्युत बनाउन फटाफट काम गर्न सके ४ वर्ष लाग्ने र त्यसको सावाँब्याज तिर्न ८ वर्ष लाग्नेछ । त्यसपछि आएको आम्दानीले केन्द्र स्थापना गर्न सहज हुनेछ । जलविद्युत कहाँ बनाउने भनेर निश्चित नभए पनि विज्ञको टोली भने बनिसकेको उनले बताए ।

त्यसैगरी, पुनले आफूमाथि धेरैले शंका गर्ने तथा प्रश्न उब्जाउने गरेको बताउँदै आफूले कुनै नियत वा धारणाले काम गर्न नलागेको समेत पत्रकार सम्मेलनमा स्पष्ट पारे । सरकारले नगरेकाले आफूले गर्न लागेको उनले बताए । ‘सरकारले गर्छ भने अहिले नै आफ्नो संस्थाको नामनिसाना सबै सरकारलाई सुम्पेर काम गर्न तयार छ,’ उनले भने, ‘मलाई कुनै स्वार्थ पूरा गर्नु छैन, सरकारले काम थालोस्, म सघाउन तयार छु ।’

सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय काम गरेबापत रोमन म्यागासेसे पुरस्कार पाएका पुनले केन्द्र स्थापनाका लागि आफ्नो नाममा रहेको २८ रोपनी जग्गा (करिब ३ करोड मूल्यको) दान दिने घोषणा केही दिन पहिले गरिसकेका छन् ।

के हो आविष्कार केन्द्र

पुनका अनुसार आविष्कार केन्द्र सिर्जनशीलता र प्रतिभा फलाउने–फुलाउने ठाउँ हो जहाँ एउटा बच्चा हुर्काएजस्तै प्रक्रिया हुन्छ । सुरुमा नयाँ सोचविचार छनोट गरेर त्यसमा समय र रकम उपलब्ध गराई अनुसन्धन गरिन्छ । सोचअनुसार लगानी निर्धारण गरिन्छ । सबै सोच सफल नभएर १० प्रतिशत मात्रले काम गरे प्रारम्भिक प्रारूपबाट त्यसको उत्पादन गर्ने, ट्रेडमार्क र कपिराइट प्राप्त गर्न सघाउने र लगानीकर्तासँग सम्पर्क गराउने काम अघि बढाउने केन्द्रको लक्ष्य रहने पनि उनले जानकारी दिए ।

प्रकाशित: २६ श्रावण २०७३ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App