१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश राजधानी आन्दोलनको स्वरुप फेरियो

डोटी – सात नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १३ दिनदेखि जारी आन्दोलनको स्वरुप फेरिने भएको छ। बन्द हड्तात जस्ता कार्यक्रमको सर्वत्र विरोध र वर्तमान सरकारले अस्थायी मुकाम नतोक्ने बताएपछि संघर्ष समितिले सोमबार सार्वजनिक भेलाको आयोजना गरेर स्वरुप फेर्ने निर्णय गरेको हो।

पहिलो ‘रचनात्मक दबाब’का कार्यक्रमबाट शुरु भएको आन्दोलन यहि पुस १८ गतेबाट ‘हड्ताल’मा परिणत भएको थियो। हड्तालपछि सडक, बजार, सरकारी कार्यालय तथा गैह्रसरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प छन्। ७ नम्बर प्रदेशका सातवटै पहाडी जिल्लालाई तराईसंग जोड्ने भीमदत्त राजमार्ग डोटीको बुडरमा अबरुद्ध गरिएपछि पहाडको तराईसंग समेत सम्पर्क बिच्छेदको अबस्था थियो।

सरकारको फेरिँदो निर्णय र पहाडी जनजीवन कठिन बन्दै गएपछि आन्दोलनको स्वरुप फेर्ने निर्णय गरिएको संघर्ष समितिका संयोजक, डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए। ‘सरकारले तत्काल अस्थायी मुकाम नतोक्ने निर्णयमा पुग्दा हड्तालको औचित्य समाप्त भएकाले आन्दोलनको स्वरुप फेर्ने निर्णय गरेका हौं’, उनले भने।

निर्णयअनुसार सोमबार साँझबाटै हड्तालको कार्यक्रम स्थगित गरिएको छ। सवारीसाधनहरु निर्वाध चल्न थालको छन। मंगलबारबाट बन्द सबै बजार, उद्योग कलकारखाना, सरकारी तथा गैह्रसरकारी कार्यालय र शिक्षण संस्थाहरु समेत खोल्ने निर्णय भएको छ।

अबको आन्दोलन ‘रणनीतिक आन्दोलन’ हुने संघर्ष समितिले जनाएको छ। निरन्तर धर्ना तथा अनशन, रचनात्मक दबाब सिर्जना, प्रदेशका सबै जिल्लाबासीहरु बिचमा आवश्यक छलफल गरी ऐक्यबद्धता जुटाउने काम गरिने संयोजक खड्काले बताए। उनले भने, ‘हामीले आन्दोलन रोकेका हैनौ। स्वरुप मात्रै फेर्ने निर्णय गरेका हौ। अब रणनीतिक आन्दोलन हुन्छ। जसले हाम्रो आन्दोलन स्थायी राजधानीको बाटोमा पु-याउनेछ।’ बिचबिचमा ‘शक्ति प्रदर्शन’ स्वरुप ठुला जनप्रदर्शनका कार्यक्रमहरु समेत गरिने उनले बताए।

सरकारले दिपायलको बिपक्षमा निर्णय गरे अझै कठोर आन्दोलनमा उत्रने निर्णय पनि समितिले गरेको छ।

राजधानीको माग गर्दै १३ दिनदेखि चलिरहेको आन्दोलनले जनजीवन अस्तब्यस्त पारेको थियो। आन्दोलनका १३ औँ दिनसम्म कुनै अप्रीय घटना भने भएन्। आन्दोलनकारीहरुले हड्तालका क्रममा जनप्रदर्शनसंगै सडकबाटै राजधानी घोषणा गर्ने, क्षेत्रीय कार्यालयहरुमा मन्त्रालयका बोर्ड टाँस्ने, मैनबत्ती जुलुस निकाल्ने, प्रदेशको मानचित्र बनाएर दीपावली मनाउने, रातोपट्टी बाँधेर प्रदर्शन गर्ने, थाली पिटेर माग राख्ने लगायतका गतिबिधिहरु चलाएका थिए।

आन्दोलनमा स्थानीय कर्मचारी, नागरिक समाज लगायतका क्षेत्रहरुले समेत ऐक्यबद्धता जनाएका छन्।

सडकको सफाई

आन्दोलनका क्रममा टायर बालेर फोहोर पारिएको दिपायलको सडक आन्दोलनकारी आफैले सफाई गरेका छन्। आन्दोलनकारीले दिपायल सिलगढी नगरपालिकाको दमकलको सहयोगमा सोमबार टायर बालेर दुर्गन्धित बनेको सडक आफै सफा गरेका हुन्।

बजारको दुर्गन्धले आफैलाई असर पर्ने भएकाले बजार सफा गरिएको आन्दोलनको अगुवाई गरिरहेका दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए । ‘आन्दोलन पनि हाम्रै हो र सडक पनि हाम्रै,’ उनले भने, ‘त्यसैले आन्दोलनको स्वरुप बदल्ने निर्णय हुनेभएपछि बजारलाई सफाई गरेका हौ।’

प्रकाशित: २४ पुस २०७४ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App