१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'ब्लडमनी' तिर्न नसक्दा जीवनमरणको दोसाँध

साउदी अरब-बढी समय बाँच्ने चाहना कसलाई हुँदैन ? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेका सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन् ।

सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको आशा पालेर बाँचिरहेका छन् ।

मृत्यु भएकाका परिवारलाई ‘ब्लडमनी’ बुझाउन सके उनीहरुले अरु समय बाँच्न पाउँथे । जीवनको भिख मागे पनि राज्यले चासो दिएको छैन । बाँच्न पाइने आशा भने अझै मरिसकेको छैन उनीहरुमा ।

नेपाली साझा मञ्चका अनुसार दुर्घटनाका कारण मारिएका मृतकका परिवारमध्ये केहीले ‘ब्लडमनी’ माफी दिँदासमेत पहल गरिदिने निकाय नहुँदा जेलमुक्त हुन पाएका छैनन् ।

कतिपयले आफन्तमार्फत नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा हारगुहार गरे पनि सरकारी पक्षले चासो दिएको छैन । मञ्चले पीडितको तत्काल उद्धारका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दै सबैबाट पीडितहरुको उद्धारमा सहयोग गर्न अपिल गरेको छ ।

सडक दुर्घटनामा बंगलादेशी नागरिकको मृत्युको कारक बनेका सुरेश मण्डल मृतकका परिवारले माग गरेको ५ लाख टाका (६ लाख ८० हजार रुपैयाँ) पनि तिर्न नसक्दा अलहसा जेलमा छन् । उनीबारे परिवारले समेत सोधखोज गर्न छाडिसके भनिन्छ । मण्डलले जेलजीवन बिताएको साढे ६ वर्ष भइसक्यो ।

धनुषा, पुष्पवलपुर–१, रतनपुरका सञ्जीवकुमार यादव साढे दुई वर्षयता जेलमा छन् । सवारी चलाउने क्रममा एक भारतीयको मृत्यु भएपछि उनलाई ज्यानमुद्दामा जेल चलान गरियो । मृतकका परिवारले ९७ हजार ७ सय साउदी रियाल मागेकामा बुझाउन नसक्दा उनी अलहासा जेलमा छन् । उद्धारका लागि उनी आफैंले दूतावासमा लिखित निवेदन पठाएका थिए ।

यादवको रिहाइका लागि परिवारबाट बारम्बार दूतावासमा अनुरोध गरिए तर ब्लडमनी बुझाउने व्यवस्था नहुँदा मुक्त हुन सकेका छैनन् ।

सर्लाही, कर्मैया–५ का विष्णुहरि पाण्डे रियादस्थित मलाल जेलमा बसेको तीन वर्ष बढी भयो । सडक दुर्घटना क्रममा एक साउदी नागरिकको मृत्यु भएको मुद्दामा उनीसँग ३ लाख साउदी रियाल ब्लडमनी माग गरिएको छ । सोही रकम तिर्न नसकेर माफी पाउने समयको प्रतीक्षामा जेलमै भित्ता कोरेर बस्ने गरेका छन् उनी ।

तीन वर्षअघि मुद्दा खारेज भइसक्दा पनि नेपाली दूतावासले पहल नगर्दा बेलबारी–८, मोरङका भीमबहादुर दाहाल पनि जेलमै छन् । आफूजस्तै मुद्दा खेपेका अन्य राष्ट्रका मानिस धमाधम जेलमुक्त भएको हेरेर बसेका उनी भने छिट्टै छुट्दै छन् ।

वादी अल दवासिरस्थित कविर सिजन जेलमा चार वर्ष तीन महिना बिताइसकेका उनी साउदीको कामदार हुने सर्तमा जेलमुक्त हुन लागेका हुन् । उनी भन्छन्, ‘यसपटक चैं प्रहरीकै एक उच्च ओहोदाका साउदीले कागजपत्र तयार गरेर पहल गर्दैछन्, अब चैं जेलमुक्त हुन्छु ।’

उनी रहेकै जेलमा बुधबारे–६, झापाका मदन पन्दाक लिम्बू पनि छन् । मदन साउदी आएको चार महिनामै सडक दुर्घटनामा परेका थिए । उनको गाडीको पछाडि आएर ठोक्किएको टाटा पिकमा सवार एक यमनी नागरिकको मृत्यु भएको थियो । जेल परेका उनीलाई मृतकको परिवारले माफी दिएको तर कम्पनीले छुटाउने पहल नगर्दा एक वर्षदेखि जेलजीवन बिताइरहेका छन् । लिम्बू भन्छन्, ‘एक वर्षअघि एम्बेसीमा फोन सम्पर्क गरेर भनेको, आउँछु भन्थे, कोही आएनन् । मेरो मुद्दा के भइरहेको छ, केही पनि थाहा छैन ।’

सोही जेलमा रहेका दाहालले उनका बारे जानकारी दिँदै भने, ‘सोझा लिम्बू छन्, चुपचाप बसिरहन्छन् । तपाईंले सम्पर्क गर्नु भनेको छ भन्दा पनि विश्वास नै गरेनन् ।’

मृतकका परिवारले माफी दिँदा पनि छुट्न नसक्नुमा सम्बन्धित कम्पनीमा कसैले सोधपुछ र साउदी सरकारसमक्ष पहल नगरिदिँदा लिम्बू जेलमै बस्न बाध्य भएका हुन् । कम्पनीले उनलाई कागजपत्र नभएको बिनालाइसेन्स सवारीसाधन चलाउन लगाएको थियो ।

सडकछेउ राखेको डोजरमा आफैँ अनियन्त्रित भई आएर ठोक्किई भएको कार दुर्घटनामा एक साउदी बालकको मृत्यु हुँदा सवारीचालक तनहुँ, दुलेगौंडा हलेसी–३ का धनबहादुर थापामगर ताइफस्थित जेलमा छन् । उनलाई ब्लडमनी स्वरुप ३ लाख साउदी रियाल माग गरेर जेल हालिएको छ । ब्लडमनी तिर्न नसकेर उनी पनि एक वर्षदेखि जेलमा छन् ।

काभ्रे, कुशादेवी–२ घिमिरेगाउँका रामचन्द्र तिमिल्सिना विगत २१ महिनादेखि हायल सेन्टर जेलमा छन् । सवारी दुर्घटनामा एक पाकिस्तानी नागरिक मारिएको र मृतकको परिवारले ब्लडमनीस्वरुप एक लाख २० हजार साउदी रियाल माग गरेका छन् । अहिले देशविदेशमा उनलाई जेलमुक्त गराउन स्वस्फूर्त रुपमा सहयोग संकलन गर्ने अभियान चलिरहेको छ ।

महावाणिज्य दूतको कार्यालयले दिएको जानकारीअनुसार हाल थप तीन नेपाली चालकको सडक दुर्घटनामै मान्छे मारिएको मुद्दा अदालतमा विचाराधीन छ ।

कसरी पर्छन् जेल ?

नेपाली चालक संलग्न धेरैजसो सडक दुर्घटनाका मुद्दामा उनीहरु स्वयंको गल्ती कम हुने गरेको पीडितको भनाइ छ । साउदी नागरिक परेका दुर्घटनामा घटनाको मुचुल्का उनीहरुको पक्षमा तयार गरेर दोषी ठह¥याइने गरेको गुनासो पीडितको छ ।

साना कम्पनीले बिमाविहीन सवारीसाधन चलाउन लगाएर दुर्घटना भएपछि अनेक बहाना बनाएर भाग्ने र चालकलाई फसाउने पनि गर्छन् । अरबी भाषामा लेखिएका लिखतमा नबुझी सहीछाप गरेका कारण पनि अपराधी करार भएका घटना पनि छन् । अर्कोतर्फ नेपाल सरकारको उच्च तह र नेपाली दूतावासबाट पहल नलिइँदा पनि उचित न्याय नपाएर जेलजीवन भोग्न बाध्य हुनुपर्छ ।

खाडी मुलुक अरबमा सडक दुर्घटनाका कारण मारिएका आधारमा दोषीलाई मृत्युदण्ड नहुने तर मृतकको परिवारले माग गरेको रकम नबुझाएसम्म जेलजीवन भोग्नुपर्छ । त्यस्ता घटनामा मुस्लिम मारिएमा ३ लाख र गैरमुस्लिम मारिएमा २० हजार साउदी रियाल ब्लडमनी तिरेर जेलमुक्त हुन सक्ने कानुनी व्यवस्था छ ।

कानुनले तोकेको ब्लडमनी मृतकका परिवारले घटाउन र नलिई माफी पनि दिन सक्छ । त्यसैगरी मुस्लिमको पर्व रमादान र इदका बेला राज्य वा अमिरले तिरिदिएर पनि जेलमुक्त गरिदिन्छन् । यसका लागि सम्बन्धित व्यक्ति वा दूतावासमार्फत यहाँको सरकारसमक्ष अनुरोध गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा भने व्यक्तिविशेषले पनि ब्लडमनी तिरेर मुक्त गराई आफ्नो बँधुवा मजदुरका रुपमा राख्ने पनि गर्छन् ।

त्यसरी मुक्त भएका व्यक्ति आफ्नो देश फर्कन भने सक्दैनन् ।

साउदी अरबका जेलमा हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएका नेपाली केङु–९, पर्वतका शान्तबहादुर पुन १४ वर्षदेखि जेलमा छन् । उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन् । बाख्रा गोठको सुरक्षा गर्ने क्रममा उनले चोर्न भनेर आएका एक साउदी नागरिकको हत्या गरेका थिए । गोरखाका ध्रुव गुरुङ पाकिस्तानीको हत्या अभियोगमा जुबेल जेलमा छन् । 

पाल्पाका दिलबहादुर विकले आफ्नै साथी पर्वतका कृष्ण कुस्मेलीलाई हत्या गरेका थिए । मृतकको परिवारले माफी नदिँदा उनी पनि जेलमै छन् । महोत्तरी, तिगौना–३ का मनोजकुमार पाण्डे पाकिस्तानी नागरिकको हत्या अभियोगमा जेलमा छन् । 

नेपाली दूतावासका अनुसार साउदी अरबका जेलमा विभिन्न अभियोगमा ३ सय बढी नेपाली छन् ।

दूतावासका अधिकारी भीम राउत दूतावासले जेल परेका नेपाली नागरिकलाई माफी दिई मुक्त गराउन हरसम्भव प्रयास गर्ने गरेकोे बताउँछन् । उनी भन्छन्, ‘हामी सहयोगका लागि परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा नेपाली कामदारले यहाँ भोगिरहेका समस्याका सम्बन्धमा पटकपटक अनुरोध गर्छौं तर सुनुवाइ नै हुँदैन ।’

 

प्रकाशित: २६ श्रावण २०७३ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App