८ वैशाख २०८१ शनिबार
कला

सर्वनाममा छोटा नाटकको मेला

काठमाडौं– छोटो कथामा बनाइएका नाटकहरूको मेला राजधानीमा सुरु भएको छ । सर्वनाम थिएटरको आयोजनामा दश मिनेटमा तयार पारिएका नाटकहरूको मेला ‘तेस्रो देशव्यापी दश मिनेट नाटक मेला’मा देशभरबाट आएका झन्डै दुई दर्जन नाटक मञ्चन हुनेछन् ।

शुक्रबारबाट सुरु भएको मेलामा पहिलो दिन राज शाह निर्देशित राजेन्द्र शलभको कवितामाथि बनाइएको नाटक ‘कलम र बन्दुक’, माधवप्रसाद बन्जोरको ‘लेखक को ?’, प्रियंका झाको मैथिली नाटक ‘कथा नही भेटल’, आर के मेहेता ‘रोशन’को ‘रियालिटी अफ कलर’ मञ्चन भएको थियो ।

द्वन्दकालको कथामा बुनिएको राजको नाटकलाई काव्यिक शैलीमा मञ्चन गरिँदा रोशनको नाटकमा भने मानवीय व्यवहार र विचार फरक फरक हुन्छन् भन्ने देखाउन खोजिएको थियो । त्यस्तै प्रियंकाको मैथिली नाटकमा मधेसको दाइजो प्रथाको समस्यालाई देखाइएको थियो ।

सर्वनामका निर्देशक अशेष मल्लले आफूले युवावस्थामा नाटक गर्ने ठाउँ नपाएर धेरै छट्पटाउनु परेकाले दश मिनेट नाटक मेलाको आयोजना गरिएको बताए । उनले नयाँ पुस्तालाई अब आफ्नो पुस्तासँग सहकार्य गरेर अगाडि बनाउने प्रतिबद्घता जनाए ।

कलाकार टिका पहाडीले आफ्ना पुराना दिनमा रंगमञ्चको अभावले भौतारिन परेको बताउँदै नाटक मेलाले युवा रंगकर्मीलाई नाटक गर्न उत्साहित गर्न मात्र नभई नयाँ दर्शक बढाउन पनि भूमिका खेल्ने बताए । मेला सोमबारसम्म चल्नेछ ।

 

प्रकाशित: २४ पुस २०७४ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App