६ वैशाख २०८१ बिहीबार
अर्थ

निर्माण सामग्रीमा ‘ब्रम्हलुट’

दोलखाको सदरमुकाम चरिकोटमा गाउँ लैजान ट्रिपरमा सिमेन्ट लोड गर्दै मजदुर ।

दोलखा– भूकम्पपछि नयाँ घर बनाइरहेका जिल्लाको उत्तरी बिगु गाउँपालिकास्थित बुलुङ गाउँका बलमान तामाङले घर निर्माण रोकेको १५ दिन भयो । चर्को मूल्यवृद्धिसँगै सिमेन्ट अभाव भएका कारण काम गर्ने मिस्त्री फर्काएर उनले घर निर्माण रोकेका हुन् । 

‘उत्तरी बजार सिंगटीमा सिमेन्ट नै पाइएन, चरिकोट आउँदा २० दिनअघिको भन्दा बोरामा एक सय ६० रूपैयाँ भाउ बढिसकेको रहेछ,’ शनिबार सदरमुकाम चरिकोट बजारमा भेटिएका उनले भने, ‘अकासिदो सिमेन्ट भाउले बनाउँदै गरेको घर नै पूरा हुँदैन कि भन्ने डर पो हुन थाल्यो ।’   

निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिका कारण नयाँ घर बनाउँदै गरेका तामाङ जस्ता थुप्रै भूकम्पपीडित मारमा परेका छन् । घर निर्माणका लागि नभइनहुने सिमेन्ट, रड, बालुवा, गिट्टीजस्ता अति आवश्यक वस्तुमा कारखानादेखि गाडीधनी हुँदै व्यापारीसम्मले मूल्य बढाएर सर्वसाधारणको ढाड सेकिरहेका छन् । सर्वसाधारणका अनुसार निर्माण सामग्रीको मूल्यमा एकरूपता छैन । व्यवसायीले आफूखुसी मूल्य निर्धारण गरी बिक्री गरिरहेका छन् । मूल्य बढाउन कृत्रिम अभाव सिर्जना गरिएका कारण पुनर्निर्माण कार्य प्रभावित भएको जिल्लास्थित अधिकारीहरूले बताएका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्लास्थित कार्यालयका अनुसार अहिले  करिब २५ हजार बढी घर निर्माण भइरहेका छन् । सदरमुकाम आसपासमा दर्जनभन्दा बढी सरकारी भवन र गाउँ तहमा थुप्रै भवन निर्माण तथा मर्मतसम्भारको काम चलिरहेको छ । यही बेला राजधानीबाट जिल्ला जोड्ने र सदरमुकामबाट विभिन्न केन्द्र जोडिने प्रमुख सडकमार्ग विस्तार र कालोपत्रेको काम चलिरहेको छ ।
सिमेन्टको मूल्य बढेको बढ्यै

भैरहवा र विरगञ्जबाट जिल्लामा भित्रिने सिमेन्टको भाउ एक महिनामा पाँच पटक बढेको चरिकोटस्थित निर्माण व्यवसायीहरू बताउँछन् । ‘२० दिनअघि सात सय ६० रूपैयाँमा भैरहवास्थित कारखानाबाट लोड भएको सिमेन्ट हिजो लोड हुँदा फ्याक्ट्रीले नै नौ सय ४५ रूपैयाँ लगायो,’ दोलखा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका सातदोबाटोस्थित कालिञ्चोक हार्डवेयरका सञ्चालक सनत थापाले भने, ‘आइतबार लोड हुँदा फेरी बढ्न सक्छ भनेको छ ।’ सिमेन्टको भाउ दैनिकजसो बढिरहेको उनको भनाइ छ ।

सिमेन्ट उद्योगीले कच्चापदार्थ अभावका कारण मूल्यवृद्धि गर्नु परेको बताउँदै आएका छन् । ‘एक त कच्चापदार्थ अभावको कारण देखाएर सिमेन्ट कम दिन थाल्यो,’ थापाले भने, ‘त्यसमाथि भाउ बढाएर पठाउँदा ग्राहकलाई बिक्री गर्न र मनाउनै गाह्रो भयो ।’ उनले सदरमुकामका व्यवसायीबीच सिमेन्ट बिक्रीमा खासै अन्तर नभएको बताए । ‘एक बोरा सिमेन्ट बिक्री गर्दा बढीमा पाँचदेखि १० रूपैयाँ नाफा हुन्छ, धेरै परिमाणमा बिक्री गर्न सके मात्र फाइदा हुने हो,’ उनले भने, ‘व्यवसायीले मूल्य बढाएको हुँदै होइन ।’

व्यवसायीका अनुसार जिल्लालाई दैनिक तीन हजार बोरा सिमेन्ट आवश्यक पर्छ । ‘जिल्लाभर निर्माण कार्य तीव्र हुँदा दैनिक करिब १५ गाडीसम्म सिमेन्ट खपत हुन्छ,’ सन्तोष निर्माण सामग्री सेन्टरका सञ्चालक पृथ्वीबहादुर श्रेष्ठले भने, ‘तर, अहिले आधा पनि पूर्ति गर्न सकेका छैनौं । दैनिक पाँच सय गाडी सिमेन्ट उत्पादन गर्ने कारखानाबाट अहिले ५० गाडी पनि पठाउन नसकेको जवाफ पाएका छौं ।’ 

घर निर्माणमा प्रयोग हुने डण्डीको मूल्य पनि अहिले छोइनसक्नु भएको छ । १५ दिनअघि ७३ रूपैयाँमा चरिकोट आइपुगेको डण्डी (रड) शुक्रबार झर्दा १३ रूपैयाँ बढेर ८६ पुग्यो । व्यवसायीका अनुसार एक महिनाअघिको तुलनामा १७ रूपैयाँसम्म मूल्य बढेको छ । सिमेन्ट र रडमा भाउ बढेका कारण गाउँका भूकम्पपीडित कसरी घर बनाउने भनेर अलमलमा परेका छन् । 
गिट्टी बालुवामा ब्रम्हलुट
सिमेन्ट र रडबाहेक गिट्टी बालुवामा अझ बढी लुट भइरहेको देखिन्छ । दसैं अघिसम्म १६ हजार रूपैयाँमा चरिकोट आइपुग्ने एक ट्रिपर बालुवाको मूल्य बढाएर व्यवसायीले २४ हजार रूपैयाँसम्म लिइरहेका छन् ।
त्यसैगरी, १८ हजार रूपैयाँ प्रति ट्रिपरमा पाइने गिट्टी २७ हजार रूपैयाँ पुगेको छ । तामाकोशी नदीबाट चरिकोट आउने गिट्टी बालुवा स्थानीय क्रसर व्यवसायीमार्फत ट्रिपरधनीले चरिकोट ल्याउने गरेका छन् । 

नयाँपुल आसपासको तामाकोशी नदी छेउमा तीन वटा क्रसर उद्योग सञ्चालनमा छन् । त्यसबाहेक स्थानीयले पनि खोलामा जथाभावी मेसिन हालेर बालुवा निकालेर चर्को मूल्यमा बिक्री गर्छन् । दोलखा श्री रोडा ढुंगा तथा बालुवा उद्योगका सञ्चालक पृथ्वी श्रेष्ठले क्रसरबाट महंगोमा गिट्टी बालुवा पठाएको अस्वीकार गरे । ‘एउटा ट्रिपरमा सात मिटर बालुवा जान्छ, हामीले १२ सय रूपैयाँ प्रतिमिटरमा क्रसरबाट बालुवा पठाउछौं । त्यसो गर्दा आठ हजार चार सय रूपैयाँमा क्रसरबाट बालुवा बाहिरिन्छ,’ उनले भने, ‘जिविस कर प्रतिमिटर एक सय ६० रूपैयाँ बुझाउँदा नौ हजार पाँच सय २० रुपैयाँ पर्न जान्छ ।’

श्रेष्ठका अनुसार तामाकोशीदेखि चरिकोटसम्म चलेको ट्रिपर भाडा ६ देखि ८ हजार रुपैयाँ हुन्छ । जसअनुसार १६ देखि १७ हजारमा चरिकोट बालुवा आउनुपर्नेमा २४ हजार रुपैयाँसम्म तिर्न सर्वसाधारण बाध्य छन् । 

तामाकोशी रोडा ढुंगा उद्योगका सञ्चालक सुरेश उप्रेतीले पनि आफूहरूले सर्वसाधारण ठगेको कुरा अस्वीकार गरे । ‘हामीले क्रसरबाट १२ सय रूपैयाँ मिटरमा पठाएका छौं,’ उनले भने, ‘क्रसर बाहिरबाट जथाभावी बेचिरहेकालाई नियन्त्रण नगरेका कारण हामीले मूल्य बढाएको आरोप खेप्नु परेको छ ।’

तामाकोशी बजारका स्थानीयका अनुसार नदीमा व्यक्तिपिच्छे जथाभावी मेसिन हालेर बालुवा उत्खनन् भइरहेको छ । ‘क्रसरमा कम उत्पादन हुने भएकाले बाहिर किन्नेहरु २५ सय रूपैयाँसम्म बुझाउन बाध्य भएका कारण ठगिएका हुन्,’ एक स्थानीयले भने ।

निर्माण सामग्रीको भाउ आकासिएसँगै त्यस्ता सामग्री ओसार्ने गाडीले समेत जथाभावी भाडा बढाउन थालेका छन् । कालिञ्चोक हार्डवेयरका सञ्चालक थापाका अनुसार भैरहवाबाट चरिकोटसम्मको गाडी भाडा महिना दिनअघि प्रति किलो तीन रूपैयाँ ७० पैसा थियो । अहिले बढेर पाँच रूपैयाँ पु¥याएका छन् । ‘इन्धन अभाव रहेको कारण देखाएर गाडीवाला पनि भाडा बढाउन थालेका छन्,’ उनले भने । 

त्यसैगरी, १८ किलोमिटर खण्डको तामाकोशीबाट चरिकोट गिट्टी ल्याइपु¥याउँदा केही महिना अघिसम्म ६ हजार रूपैयाँसम्म लिने ट्रिपर सञ्चालकले अहिले १२ हजार रूपैयाँसम्म भाडा लिन थालेका छन् ।   

बढी लिनेलाई कारबाही गर्छौ 
प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले निर्माण सामग्रीको मूल्यवृद्धिबारे अनुसन्धान भइरहेको बताए । बढी मूल्य लिनेलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । 
‘बजारमा भइरहेको मूल्यवृद्धिबारे हामीले निरन्तर अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘फ्याक्ट्रीले नै मूल्य बढाएको बढायै छ । यसबारे माथिल्लो निकायमा पनि जानकारी गराइसकेका छौं ।’ 
बालुवा र गिट्टीको मूल्यमा एकरूपता ल्याउन जिल्ला समन्वय समितिमार्फत अनुगमनको काम अघि बढाइएको उनले बताए । 

 

प्रकाशित: २४ पुस २०७४ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App