काठमाडौं- शिक्षासेवी डा. बाबुराम पोखरेलको ६४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ ।
केहि वर्ष अघि मुटुको समस्या भएर पिसमेकर राखेका उनी पछिलो समय फोक्सोको समास्याबाट पीडित थिए । आइतबार बिहान शौचालयमा लडेका उनलाई तत्कालै नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
आदर्श विद्यामन्दिरबाट शिक्षण पेसा सुरु गरेका डा. पोखरेलले ०३७ सालमा भिएस निकेतन स्कुल खोलेका थिए । शिक्षा क्षेत्रलाई व्यवस्थापन गर्न उनले निजी शैक्षिक संस्थालाई एकीकृत गर्न छाता संगठन प्याबसनको स्थापनामा योगदान दिएका थिए । पछिल्लो समय फोरम लोकतान्त्रिकबाट सभासद् बनेका उनले संविधान लेखन, शिक्षा ऐन बनाउन तथा निजी विद्यालय सञ्चालन तथा व्यवस्थापन मापदण्ड निर्देशिका बनाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कानुन, शिक्षा र व्यवस्थापन विषयका ज्ञाता डा. पोखरेलले निजी शिक्षा क्षेत्रमा क्रान्ति ल्याएका लिटिल एञ्जल स्कुलका संस्थापन उमेश श्रेष्ठले जनाए ।
‘प्याबसनको विधान र अवधारणा हामीले सँगै बनाएका थियौं,’ श्रेष्ठले नागरिकसँग भने, ‘पछिलो समय चार वर्षे सभासद्को कार्यकालमा पनि डा. पोखरेल र म महिला बालबालिका तथा समाज कल्याण समितिमा साथसाथै थियौं । समग्र शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न शिक्षा ऐन बनाउनमा समेत उनले सक्रिय भूमिका खेलेर गए ।’
दुई छोराका पिता डा. पोखरेलको निजी शिक्षालाई अग्रिणी स्थानमा पु¥याउन महत्वपूर्ण भूमिका रहेको नेपाल सरकारको पूर्व सचिव जनार्दन नेपालले जनाए । नेपाल डा. पोखरेलको निधनले राज्यले शिक्षा क्षेत्रका होनहार व्यक्ति गुमाउनु परेकोमा दुःख व्यक्त गरे । ‘चार दशक मेरो र डा. पोखरेलको मित्रता थियो,’ पूर्व सचिव नेपालले भने, ‘जहिले जहाँ भेट भए पनि समग्र शिक्षालाई कसरी राम्रो बनाउनेमै उनको चिन्ता हुन्थ्यो ।’ पूर्व सचिव नेपालका अनुसार डा. पोखरेल गुणस्तरीय शिक्षा व्यवस्थापनका साथै अनुशासनमा समेत ध्यान दिने संवेदनशील व्यक्तिका रूपमा रहेका थिए ।
प्याबसनका संस्थापक सदस्य, पूर्व केन्द्रिय अध्यक्ष, वर्तमान वरिष्ठ सल्लाहकार तथा भिएस निकेतन उमाविका संस्थापक डा. पोखरेलसँगै एभिएम स्कुलबाट शिक्षण पेसा प्रवेश गरेकी एन प्याबसनकी पूर्व अध्यक्ष एवं पूर्व सभासद् गीता राणाले डा. पोखरेलको निधनले राज्यले शिक्षा जगतका बौद्धिक व्यक्तित्व गुमाएको जनाइन् । ‘बाबुराम सर र म सँगै एभिएम स्कुलबाट शिक्षण पेशामा लागेका थियौं,’ राणाले पुराना दिन सम्झँदै भनिन्, ‘बाबुराम सर निर्धक्क भएर आफ्ना विचार सबै सामु राख्ने व्यक्ति हुनुहुन्थ्यो । शिक्षाका ऐन कानुन बनाउन डा. पोखरेलको अग्रिणी भूमिका थियो ।’
डा. पोखरेलका जेठो छोरा अमेरिकामा रहेका हुँदा उनी मंगलबार नेपाल आउने भएकाले दाहसंस्कार मंगलबार मात्रै गरिने जनाइएको छ । पुस २५ गते मंगलबार बिहान १० बजे मीनभवनको भिएसनिकेतन स्कुलमा डा. पोखरेलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने प्याबसनले जनाएको छ ।
यसैबीच, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याबसन) ले शोक मनाउन एकदिन बिदा दिने सूचना जारी गरेको छ । पुस २५ गते मंगलबार देशभरिकै प्याबसनका सदस्य विद्यालयमा पठनपाठन बन्द गरी शोक मनाउने र पुस २९ गतेसम्मका लागि कुनै पनि किसिमको भेला, समारोह, सम्मेलन तथा उत्सवका कार्यक्रम नगर्ने – नगराउने निर्णय गरेको छ ।
प्रकाशित: २४ पुस २०७४ ०४:०३ सोमबार