८ वैशाख २०८१ शनिबार
विचार

चीन, नेपाल रेल र सिवाङजी

एक हप्ते बसाइका लागि केरुङ नाका हुँदै नेपाल आएका सिवाङजी र मेरो भेट धुन्चे बजारमा भयो । धुन्चेदेखि काठमाडौँको यात्रा दार्शनिक, राजनीतिक र परराष्ट्र सम्बन्धमा केन्द्रित थियो । उनी छिन्टुमा राष्ट्रिय संग्रहालयमा काम गर्ने चिनियाँ कर्मचारी हुन् । एक छोरीका बाबु उनकी श्रीमती अमेरिकामा संगीत सिक्दैछिन् । आत्मामा विश्वास गर्ने सिवाङजीको भारतप्रतिको दृष्टिकोण भने केही सोचनीय थियो । उनी आधुनिक चीनको जस माओत्से तुङलाई होइन, देङसाओ पिङलाई दिँदै थिए । लु शुनका कथा र निबन्धहरूको चर्चामा उनले जति रुचि देखाए, त्यति माओत्से तुङप्रति देखाएनन् । तर मलाई लाग्छ– राजनीतिको व्यापक परिधिभित्र समेटिने पक्ष हो अर्थनीति । समाजका सम्पूर्ण उपरीसंरचनामा नेतृत्व गर्छ राजनीतिले ।
जबसम्म बिरालोले मुसा समाउँदैन तबसम्म त्यो बिरोलो कालो होस् या सेतो, त्यसको केही मतलब हुँदैन भनेका कारण पिङ र माओबीच मनोमालिन्य बढेको थियो । माओ सामूहिक खेती प्रणालीको पक्षमा थिए तर पिङले निजी कृषि प्रणालीलाई अनुमति दिए । यही कारण सांस्कृतिक क्रान्तिको समयमा पिङ पद बर्खास्तीमा परे । सन् १९०४ मा चीनको सिचुवान प्रान्तमा सम्पन्न जमिनदार परिवारमा जन्मिएका पिङ सन् १९२० देखि सन् १९२६ को बीचमा उच्चशिक्षाका लागि फ्रान्स गएका थिए । फ्रान्स बसाइका क्रममा उनी झाउ एन लाईको सम्पर्कमा पुगेका कारण कम्युनिस्ट पार्टीमा जोडिएका थिए । सन् १९७३ तिर झाउ अस्वस्थ भएपछि पिङ उपप्रधानमन्त्री बने भने सन् १९७८ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेता बने । पिङले शैक्षिक उन्नतिका लागि विद्यार्थीहरू विदेश जान पाउने र शिक्षा अध्ययनपछि स्वदेश फर्कन सबैलाई आग्रह गरे । उनले ग्रामीण समुदायका किसानहरूलाई खेती गर्न प्रोत्साहित गरे । उनले अतिरिक्त उत्पादनको नाफा किसानलाई नै राख्न दिए । नाफा घाटाको हिस्सेदार स्थानीय समिति रहने व्यवस्था गरे । यस कारण चीनले उत्पादकत्वमा प्रगति ग¥यो । उनले विदेशी कम्पनीहरूलाई चीनमा कारखाना खोल्न दिए । यस कारण उपभोक्ता सामानको बजार आज सबैतिर चीनको छ ।
पिङ वंशका सी जिन पिङ सन् २०१३ मा चीनका राष्ट्रपति बनेपछि रणनैतिक पहलकदमी गर्न एवम् तीव्र गतिको बजार व्यवस्थापन गर्न नवीन रेशमी मार्ग अर्थात् बेल्ट एन्ड रोडको प्रस्ताव गरेका हुन् । रेशमी मार्ग प्राचीन÷मध्यकालीन चीनको सियानबाट सुरु भएको मानिन्छ । चीनबाट पश्चिम गएको यो मार्ग इरान, सिरिया हुँदै भू–मध्यसागरमा पुग्छ । भू–मध्यसागरको जलमार्गले यसलाई पोर्चुुगल, स्वीडेन युरोपका इजरायल, लेबनान, इजिप्ट हुँदै इटालीसम्म जोड्छ । भू–मध्यसागरबाट यो मार्ग अफ्रिकी देशहरूसँग पनि जोडिएको छ । दक्षिण चीनदेखि यो जलमार्ग हुँदै फिलिपिन्स, ब्रुनाई, जाभा, इन्डोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, श्रीलंका, भारत, पाकिस्तान हुँदै इरानसम्म पुगेको थियो । कलाकार अरनिको यही सिल्क रोड हुँदै चीन गएको प्रसंग पुरातत्वविज्ञहरूले प्रस्तुत गरेको हुँदा सिल्क रोडसँग नेपालको पुरानो सम्बन्ध छ । यिनै पृष्ठभूमिको बीच २०७४ वैशाख २९ गते नेपाल र चीनबीच नवीन रेशमी मार्ग अर्थात् बेल्ट एन्ड रोडमा सम्झौता सम्पन्न भएको छ ।  
सम्झौतासँग जोडिएको विषय हो, चिनियाँ रेल नेपाल आउनु । चीनमा रेल दौडाउनेबारेको छलफल सन् १९९७ मा आफ्ना छिमेकी मुलुक किर्गिस्तान र उज्जेकिस्तानसँगबाट सुरु भएको थियो । चीनले २००८ देखि २०२० सम्म एक लाख २० हजार किमि रेलवे सेवा सञ्चालन गर्ने लक्ष्य एक हजार किमि थपेर सन् २०१५ मै पूरा गरिदियो । त्यसैले २०१६ जुलाईमा प्रधानमन्त्रीको अध्यक्षतामा राज्य परिषद्को बैठक बसेर सन् २०२० सम्ममा २९ हजार किमिथप रेलवे सेवा सञ्चालन गर्ने निर्णय ग¥यो, जसमा १९ हजार रेलवे उच्च गतिको हुनेछ । यस्तै चीनले सन् २०५० सम्ममा रेलवे सेवा सञ्चालनको लम्बाई दुई लाख ७४ हजार किमि पु¥याउने लक्ष्य राखेको छ । चीनका सामान्य गतिका रेल प्रतिघण्टा १२० किमि र तीव्र गतिका रेल ३५० किमि दौडन्छन् । यी रेलहरू कोइला, डिजेल हुँदै हाल विद्युतबाट सञ्चालन भइरहेका छन् । चिनियाँ रेल पश्चिममा कजाकस्तान, उत्तरमा मङ्गोलिया र रुस, पूर्वमा उत्तरकोरिया र दक्षिणमा भियतनामसम्म जाने गर्छ । चीनको दक्षिण पश्चिममा पर्ने युन्नान प्रान्तको खुन्मिङबाट लाओस हुँदै थाइल्यान्ड–मलेसिया–सिंगापुर जोड्ने रेलवे सेवा सन् २०१५ बाट निर्माण सुरु भएको छ । यही खुन्मिङबाट म्यान्मार हुँदै भारतको मनिपुर भएर नयाँ दिल्लीसम्म रेल आउन सक्छ । यसरी भारतसम्म रेल आएपनि नेपाललाई केही फाइदा हुने छैन । फाइदा त्यतिबेला हुनेछ जतिबेला चिनियाँ रेल केरुङ–रसुवागढी हुँदै काठमाडौँ आइपुग्नेछ ।
हाल चिनियाँ रेल चीनको ग्वाङजाउ प्रान्तबाट तिब्बती प्रदेश ल्हासा हुँदै सिगात्सेसम्म आइपुगेको छ । यसलाई नेपाल लक्ष्य गरेको आएको चिनियाँ रेल पनि भन्न सकिन्छ । ग्वाङजाउदेखि ल्हासासम्मको दूरी चार हजार नौ सय ८० किमि छ । ल्हासादेखि सिगात्सेसम्मको दूरी दुई सय ५३ किमि छ । सन् २०१४ देखि चिनियाँ रेल हप्ताको एक पटक सिगात्सेसम्म आइरहेको छ । सिगात्सेदेखि केरुङको पाँच सय ६४ किमिमा रेल चीनले सन् २०२० सम्ममा तयार गर्दैछ । चीनले सिचवान प्रान्तबाट तिब्बतको ल्हासा जोड्ने अर्को रेल सन् २०२५ मा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको छ । यो बनिसक्दा सिचवान ल्हासाको दूरी १६ सय २९ किमि मात्र हुनेछ । यो दूरी रेलले १५ घन्टामै पार गरिदिन्छ । ल्हासासम्म यो रेल आइपुग्दा सिगात्से केरुङ रेलमार्ग बनिसकेको हुन्छ । यो स्थितिमा चीन नेपालको थप नजिक हुनेछ ।
रेल बनिसक्दा ग्वाङजाउ–ल्हासा–सिगात्से–केरुङ–रसुवागढी हुँदै काठमाडौँ सामान पु¥याउन बढीमा चार दिन लाग्नेछ भने, हाल चिनियाँ सामग्री नेपाल भित्रिने ग्वाङजाउ–कलकत्ता बन्दरगाह–वीरगञ्ज भन्सार हुँदै काठमाडौँ सामान आउन कम्तिमा ४० दिन लाग्छ । त्यसैले नेपालको अर्थतन्त्रको लागि केरुङ–रसुवागढी–काठमाडौँ रेलमार्ग स्वर्ग जाने द्वार हो । हाल ग्वाङजाउदेखि ल्हासासम्म आएको रेलमार्गमा छिङहाइ भन्ने एउटा क्षेत्र पर्छ,जो समुन्दी सतहभन्दा पाँच हजार एक सय किमि भन्दामाथि छ । जहाँ सदाबहार बरफ जमिरहन्छ । नेपाल रेलको सम्भावना बारे अध्ययन गर्न आएका चिनियाँ समितिले चीनमा भन्दा नेपालमा रेल सम्भावना सजिलो रहेको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।
नेपालको चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च जम्मा १०.९९ प्रतिशत भएको छ । यही प्रवृत्तिमा खर्च हुने हो भने राष्ट्रिय गौरवका योजना कसरी बन्छ । सरकारका संयन्त्रहरू सुतेर बस्ने हो भने रेलमार्ग केवल सपना मात्र हुनेछ । स्थायी सरकार र सरकारको परराष्ट्र, सुरक्षा र अर्थनीति राम्रो हुने हो भने रेलमार्ग सम्भव छ । जसले नेपाललाई समृद्धि दिनेछ । समृद्धि त यस्तो कुरा रहेछ, जसले जीवनभर उपनिवेशका विरुद्धमा प्रणोत्सर्ग गरेर देश बचायो, त्यो भन्दा किन मेरा चिनियाँ मित्र सिवाङजीलाई पिङ प्रिय लाग्यो । सिवाङजी र मेरा देशका नेता दुवैले सोच्न जरुरी छ । 

प्रकाशित: २४ पुस २०७४ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App