८ वैशाख २०८१ शनिबार
समाज

जाजरकोटका रोग प्रभावित क्षेत्रमा सेना, ४ सयको उपचार

जाजरकोट – जाजरकोटमा दुई सातादेखि फैलिएको रुघाखोकी र ज्वरो नियन्त्रणमा लिन स्वास्थ्यकर्मी र नेपाली सेना परिचालन गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले आइतबारसम्म जुनिचाँदे गाउँपालिकामा ४०० बिरामीको उपचार गरेको छ। जुनिचाँदे–१ को बड्कुले स्वास्थ्य चौकी, २ को भैरव मावि मजकोट र वडा नं– ३ को स्याँलामा आइतबारमात्रै २५० भन्दा बढी बिरामीको उपचार गरिएको हो।

जुनिचाँदेमा दुई सातादेखि रुघाखोकी र ज्वरो फैलिएको थियो। रोग प्रभावित गाउँमा दुई हजारभन्दा बढी बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, आँखा रातो हुने, घाँटी दुख्नेलगायत लक्षण देखिएको डा पवन शाक्यले बताए।

रुघाखोकी र ज्वरोबाट वृद्धवृद्धा र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका उनले बताए। अत्यधिक जाडो बढेपछि रुघाखोकी, ज्वरो आउनेलगायत समस्या देखिएको हो। जाडोका कारण अन्य ठाउँमा पनि बिरामीको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्नुपर्ने पीडितले माग गरेका छन्।

डा शाक्यसहित नौजना स्वास्थ्यकर्मीको टोली औषधिसहित रोग प्रभावित क्षेत्रमा पुगेको छ। जुनिचाँदेमा साताअघि रुघाखोकी र ज्वरोबाट नौजनाको मृत्यु भएको बताइएको छ। जुनिचाँदेको जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, स्याँला, मजकोट, आलीमौगाना, डाडाकोट, परालेमालगायत गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्।

रोग प्रभावित क्षेत्रमा सेनाको टोली

यस्तै, आइतबारै नेपाली सेनाको टोली सदरमुकामबाट रोग प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। मंगलबारसम्म सेनाको टोली रोग प्रभावित क्षेत्रमा पुग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।

प्रकाशित: २३ पुस २०७४ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App