८ वैशाख २०८१ शनिबार
राजनीति

‘सरकारले सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने’

काठमाडौं – सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकार सकेसम्म सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयासमा रहेको बताएका छन्।

आइतबार सञ्चारकर्मीसँग विशेष कुराकानी गर्दै मन्त्री बस्नेतले सरकार सम्भव भएसम्म सहमतिमै उक्त निर्णय गर्ने भनेर पर्खेको स्पष्ट पारे। उनले भने, ‘अहिलेसम्म यस विषयमा सहमति जुटिसकेको छैन, सहमति भएन भने भोलि मन्त्रिपरिषद्को बैैठक पनि नबस्ने सम्भावना छ, प्रधानमन्त्री शेरबहादुर देउवाले यी दुबै विषयमा सबै दलसँग सम्भव भएसम्म सरसल्लाह गरेर नै निर्णय गर्ने विचारले छलफल जारी राख्नुभएको छ।’

उक्त निर्णयमा किन ढिलाइ भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले सबैको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्दा प्रभावकारी र महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्री देउवाको मनसाय रहेको बताए। सबै दलको सहमति लिन खोज्दा केही ढिलाइ देखिएको धारणा व्यक्त गर्दै उनले संविधान निर्माणमा सबै दलको सहमति र योगदान रहेकाले कार्यान्वयनमा पनि सहमति होस् भन्नेमा सरकार रहेको स्पष्ट पारे। ‘तर दिन घर्किंदै गयो र ढिला हुन लाग्यो भने र समय बाँकी भएन भने सरकारले निर्णय लिन्छ’, उनले भने।

उनले सर्वदलीय बैठकमा अन्य दलले उक्त जिम्मेवारी सरकारको हो भने पनि दलले आफूले भनेजस्तो भएन भने विरोध गर्ने ठाउँ राखेको धारणा व्यक्त गर्दै भने, ‘सबै दलले सरकारले निर्णय गरोस् हामी समर्थन गर्छौं भनेर स्पष्ट भन्नु प-यो। हामी तत्काल निर्णय गर्छाैं ।’ प्रदेश र अस्थायी केन्द्रको निर्णय एकैसाथ गर्नुपर्ने बताउँदै उनले एउटाको मात्रले निर्णय अपूरो हुने विचार व्यक्त गरे।

राष्ट्रियसभा निर्वाचनका लागि त्यससम्बन्धी अध्यादेश जारी भएपछि प्रक्रिया अघि बढेको बताउँदै उनले निर्वाचनका सबै संवैधानिक प्रक्रिया पूरा गरेर सरकार सत्ता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट पारे। उनले भने, ‘त्यसअघि सरकारले चाहेर पनि सत्ता हस्तान्तरण गर्न सक्दैन।’

निर्वाचनको सफलताले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका दिनसम्म पनि सरकार निर्वाचन गराउन चाहँदैन, सक्दैन भन्ने लाञ्छनाबाट सरकार मुक्त भएकामा गर्व गर्दै मन्त्री बस्नेतले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा निर्धारित समयमा सफलतापूर्वक सम्पन्न भएको छ।’

निर्वाचनमा को हा-यो, को जित्योभन्दा पनि मुलुक र जनताले जितेको धारणा व्यक्त गर्दै उनले भने, ‘हिजो काँग्रेसको नेतृत्वमा संविधान जारी भयो र आज हाम्रै पार्टीको नेतृत्वको सरकारको बेला कार्यान्वयन होस् भन्ने हाम्रो चाहना थियो, जुन पूरा भएको छ। यसमा हामी गर्व गर्छौं।’

अब यो वा त्यो बहानामा राजनीतिक एजेण्डालाई सारेर होइन, एकजुट भएर मुलुक आर्थिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताउँदै उनले हारजित निरन्तर चलिरहने गौण विषय भएको र मुलुक एवं जनताले जित्ने विषय प्रमुख भएको उल्लेख गरे।

काँग्रेसको मत कम आएको छैन

निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा आएको परिणामका सम्बन्धमा पार्टीभित्र विभिन्न टीकाटिप्पणी भएको भन्ने सम्बन्धमा मन्त्री बस्नेतले निर्वाचनमा पार्टीले कम भोट नपाएको स्पष्ट पारे । उनले दुई ठूला पार्टी एक भएर निर्वाचनमा लडेकाले यस्तो परिणाम आएको बताउँदै बेग्लाबेग्लै लड्दा काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तीन दलमध्ये कहिले कोही केहिले कोही पहिलो, दोस्रो, र तेस्रो पहिलो भएका छन् भने।

उनले भने, ‘हामीले गरेको गठबन्धन होइन, अरूलाई सघाएका मात्र हौँ, काँग्रेस एक्लै निर्वाचनमा लडेको हो, तर पनि सम्पूर्ण मतको परिणाम हेर्ने हो भने काँग्रेसको कम मत आएको छैन्। ३३ प्रतिशत मत आएको छ। विगतको तुलनामा भोट कम आएको छैन।’

पार्टीभित्र विरोध गरेर नेता बन्ने र एकथरि केही विरोध गर्दा पार्टीमा केही ठाउँ पाइन्छ भन्ने प्रवृत्ति रहेको विचार व्यक्त गर्दै मन्त्री बस्नेतले भने, ‘तर पार्टीमा भएका केही कमी कमजोरी सच्याएर अघि बढ्नुको विकल्प छैन्।’

काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बस्नेतले भावी सरकार गठनका बारेमा राजनीतिमा सबै अवसर खुला हुने र राजनीतिमा सबै खाले खेल खेलिने धारणा व्यक्त गरे।

उनले भने, ‘हाम्रै देशमा पनि यसअघि पटकपटक पहिलो दलले सरकारको नेतृत्व गर्न नपाएको र तेस्रो दलले सरकारको नेतृत्व गरेका धेरै उदाहरण छन, राजनीतिमा यही हुन्छ भन्न सकिँदैन।’ काँग्रेस अहिले सरकारमा जान नचाहेका स्पष्ट पार्दै उनले अहिलेसम्म कुनै पनि दलले आफ्नो पार्टीको संसदीय दलको नेता चयन गरिनसकेकाले यही भन्न नसकिने बताए। रासस

प्रकाशित: २३ पुस २०७४ १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App