coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ओम र नमस्ते ग्यास उद्योग सिल

धादिङ – गुणस्तर तथा नापतौल विभागले धादिङकै पुरानो ओम ग्याससहित दुई ग्यास उद्योग सिल गरेको छ।

आइतबार विभागको टोलीले अनुगमनका क्रममा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि राजमार्ग क्षेत्रमा संचालित ओम र नमस्ते ग्यास उद्योग सिल गरेको हो।

थाक्रे गाउँपालिकामा रहेको ओम ग्यास उद्योग प्रालि र गल्छी गाउँपलिकाको बैरेनीमा सञ्चालित नमस्ते ग्यास उद्योग प्रालिमा सिल गरेको विभागका केमिकल इन्जिनियर मनिष कर्णले जानकारी दिए।

उनका अनुसार दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अनुगमनको क्रममा ओम ग्यास उद्योग प्रालिले एलपीजी सिलिण्डरको ‘टेर वेट’ परिक्षण नगरेको पाइएको छ। हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ। ओम ग्यास २०६३ सालमा संचालनमा आएको थियो। संचालन आएपछि एकपटक पनि हाइड्रोस्टेटिक परिक्षण गराएको छैन।

त्यस्तै, नमस्ते ग्यास उद्योग प्रालिले पनि भल्भ मर्मत नगरेको तथा गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पाइएको छ। ग्यास सिलिण्डर पड्किने क्रम बढेसँगै विभागले गएको शुक्रबारदेखि देशैभरीका ग्यास उद्योगमा अनुगमन सुरु गरेको छ। टेम्पोमा ग्यास भर्नेसहित देशभर ५७ वटा ग्यास उद्योग भए पनि ४ वटाले मात्रै नेपाल गुणस्तर चिन्ह लिएका छन्। शुक्रबार मात्रै काभ्रे जिल्लामा रहेको ग्यास उद्योगको अनुगमन गरेको थियो।

प्रमुख राजमार्ग, मानवीय बस्ती, विद्यालय, होटल, अस्पताल लगायत सार्वजनिक स्थल, सामुदायिक वनबाट निश्चित दूरीमा रहने सर्तमा ग्यास भर्ने प्लान्ट र पेट्रोलियम पदार्थ बेच्ने पम्पलाई सञ्चालन अनुमति दिने कानूनी प्रावधान भएपछि यहाँ धेरै प्लान्ट र पम्प सय मिटरकै आसपासमा छन्।

धादिङको राजमार्ग क्षेत्रमा ३३ वटा ग्यास उद्योगहरु संचालनमा आएको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिकास्थित विशालटारमा रहेको श्रीकृष्ण ग्याँस बाहेक जिल्ला भित्रका अन्य उद्योगले ग्यास उत्पादनका लागि नेपाल गुणस्तर चिन्ह नलिई गैर कानूनी ढंगबाट ग्याँस उत्पादन गरिरहेको भेटिएको छ। 

प्रकाशित: २३ पुस २०७४ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App