१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाता सम्मेलनमा कवोल ८० प्रतिशत रकम आउँदै: प्राधिकरण

सिन्धुपाल्चोक- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दाता सम्मेलनमार्फत भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकायले घोषणा गरेकोमध्ये ८० प्रतिशत रकम छिट्टै प्राप्त हुने बातावरण बनेको दाबी गरेको छ। 

                ‘दाताले कबोल गरेकोमध्ये अधिकांश सहयोग छिट्टै आउने बातावरण बनेकाले पीडितसँगको अनुदान सम्झौता र पुनर्निर्माणले अझ तीव्रता पाउँछ,’ प्राधिकरण बनेको सात महिनापछि पहिलो पटक भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक अवलोकनमा आएका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने। मंगलबार चौतारामा पत्रकार सम्मेलन गर्दै उनले पञ्चवर्षीय योजनाअनुसार पाँच वर्षभित्रै भूकम्पपछिको पुनर्निर्माण सम्पन्न हुने बताए ।

                ‘परिस्थिति सहज बन्दै गएको छ । लक्ष्यभित्रै पूनर्निर्माण सकिने विश्वास छ,’ सञ्चारकर्मीका जिज्ञासा मेट्दै ज्ञवालीले भने । उनका अनुसार दाता सम्मेलनमा दातृ निकायबाट ४ खर्व १० अर्व रुपैयाँ सहयोगको प्रतिवद्धता आएको थियो । यसमा केही निरन्तर (रेगुलस) प्राप्त हुने बजेट रहेकाले खुद प्रतिवद्धता रकम ३ अर्व ५० अर्व रुपैयाँ मात्र हुन आउँछ । प्रतिवद्धता बमोजिम १ अर्व ५० अर्व रुपैयाँ प्राप्त भइसकेको उनले बताए । ‘बाँकी प्रतिवद्धता रकमको ८० प्रतिशत सहयोग प्राप्त हुने बनिसक्यो,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।

                भूकम्पपछिको झण्डै आठ महिना प्राधिकरण गठनमा भएको अलमलले पुनर्निर्माणै ढिलाई भएको उनले स्वीकार गरे । ‘त्यतिबेलै प्राधिकरण गठन हुन सकेको भए अर्को चरणमा प्रवेश गरिसक्थ्यौँ । अनुदान सम्झौता सकेर संरचना निर्माण सुरु भइसक्थ्यो ।’ उपत्यका बाहेक मुख्य प्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार पीडित परिवारको क्षति लगत संकलन गरिएकोमा अहिलेसम्म ३ लाखभन्दा बढी लाभग्राहीसँग पहिलो अनुदान सम्झौता भएको उनले जनाए ।

                ‘सम्झौता गरेका लाभग्राहीलाई छिटोभन्दा छिटो पहिलो किस्ता ५० हजार रुपैयाँ दिन्छौं,’ ज्ञवालीले भने, ‘बाँकी लाभग्राहीसँग पनि सम्झौता सुरु भइहाल्छ ।’ भूकम्पले भत्काएका करिब ८ लाख व्यक्तिगत घर बनाउनु पर्ने अनुमान लगाउँदै त्यसका लागि ८ सय ३२ अर्व रुपैयाँ आवश्यक पर्ने बताए । ‘आवश्यक लगानीको आधाभन्दा कम स्रोतको प्रतिवद्धता आएको हो,’ स्रोत व्यवस्थापनका चुनौती सुनाउँदै ज्ञवालीले भने, ‘आन्तरिक स्रोत परिचालन र दातासँग जुटाएर बाँकी लगानी पूर्ति गर्छौँ ।’

                दातासँग बैंकिङ प्रणालीमार्फत अनुदान दिने सर्त स्वीकारेले अरु बिकल्प सोच्न नसकिने प्रस्टाए । तैपनि छिटो र सहज दुरदराजमा अनुदान वितरण गर्न शाखारहित र घुम्ति बैंकिङ सेवा अघि बढाउने तयारी पूरा भएको जनाए । ‘पीडितलाई पहिलो किस्तामै डेढ लाख रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले दातासँग छलफल गरिरहेको छ,’ निष्कर्ष नआइसकेको जनाउँदै ज्ञवालीले भने ।

                सुरक्षित आवास निर्माणका लागि किस्ताको व्यवस्था गरिएको उनको स्पस्टोक्ती थियो । ‘विपत्तिपछि सुरक्षित घर बनाउनकै लागि दाताको किस्ता प्रणाली सर्त स्वीकारिएको हो,’ किस्ताले पुननिर्माणमा ढिलाइ भइरहेको भन्ने भूकम्प पीडित समेत रहेका स्थानीय सञ्चारकर्मीको जिज्ञासा मेट्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले थपे, ‘अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो ।’

                नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई घर बनाउन ३ लाख रुपैयाँ निर्व्याजी ऋण उपलब्ध गराउनेबारे कार्यविधि अन्तिम चरणमा पुर्याएको जानकारी दिँदै उनले त्यो बन्नासाथ कर्जा प्रवाह सुरु हुने बताए । ‘अनुदान र निव्र्याजी ऋणसमेत ५ लाखले ग्रामीण भेगमा सामान्य सुरक्षित घर बन्छ । प्राविधिक अनुभवकै आधारमा यो निष्कर्षमा पुगेका हौं,’ अनुदानमाथि निर्व्याजी ऋण व्यवस्था गुर्नको कारण खुलाउनँदै ज्ञवालीले प्रष्टाए ।

                पुनर्निर्माणका अब लागि जनशक्ति अभाव नरहेको दाबी गर्दै उनले पीडितबाट लगत संकलन सर्वेक्षण छुट भएको गुनासा ठूलो संख्यामा आएको जानकारी दिए । ‘गुनासा तत्काल सम्बोधन गर्ने दिशामा अघि बढेका छौं । सर्वेक्षण नै छुट भएको रहेछ भने पुनःसर्वेक्षण गरेर सुविधा दिइ छाड्छौं,’ पीडितलाई आश्वस्ता पार्दै उनले भने । गुठी र रैकर जग्गामा घर बनाउनु पर्ने बाध्यतामा रहेका तथा सुकुम्बासी पीडितका समस्या समाधान गर्न कार्यविधि बनाउने तयारी भइरहेको ज्ञवालीले जनाए।

प्रकाशित: २५ श्रावण २०७३ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App