coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

असन्तुष्ट समूहले उठाउँदै आएका माग छिट्टै पूरा: मन्त्री श्रीपाइली

दमक-युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले जारी नयाँ संविधानप्रति असन्तुष्ट समूहले उठाउँदै आएका माग छिट्टै पूरा हुने बताएका छन्।

झापाको लखनपुरमा २२औँ विश्व आदिवासी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री श्रीपाइलीले नयाँ संविधान कार्यान्वयन गर्न मधेस तथा आदिवासी, जनजातिले उठाएका माग पूरा गर्नुपर्ने खाँचो रहेको बताए। मन्त्री श्रीपाइलीले भने– “संविधानमा अपूर्णता भएका विषयलाई संशोधनमार्फत समाधान गर्न सकिन्छ।”

लखनपुर–१ स्थित आदिवासी रङ्गशाला तथा स्मृति पार्क प्रतिष्ठानले आयोजना गरेको आदिवासी दिवसमा आयोजित सभाको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले वर्तमान सरकार संविधान कार्यान्वयन गर्नका लागि आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने बताए। वर्तमान सरकार संविधान कार्यान्वयनको एजेन्डाप्रति प्रतिबद्धताका साथ लाग्ने चर्चा गर्दै उनले भने, “ सरकारको यी प्राथमिकताका मुद्दामा संसद्भित्र तथा संसद्बाहिर रहेका राजनीतिक दल एक भएर लाग्नुपर्छ।”

उनले हालको सरकारले नै राष्ट्रिय सरकारको आकार लिने दाबी गर्दै भने, “अब संविधान कार्यान्वयनको एजेन्डा कसैले पनि स्वार्थका रुपमा लिनु हुँदैन।” मन्त्री श्रीपाइलीले लखनपुरमा निर्माणाधीन आदिवासी रङ्गशालाको स्तरोन्नतिका लागि वर्तमान सरकारले सहयोग पुर्याउनेसमेत बताए।

एमाले नेतृत्वको सरकारले सो रङ्गशालाको नाम नामेट गरेर मदन भण्डारी रङ्गशाला बनाउने निर्णय गलत भएको उनको टिप्पणी थियो। “यसमा आदिवासी, जनजातिका भावनासँग जोडिएको छ, त्यही नाममा यसरी विवाद खडा गर्नु हुँदैन”, मन्त्री श्रीपाइलीको भनाइ थियो । उनले यस रङ्गशालालाई आदिवासीबाट मूर्तरुप दिएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। रासस

 

प्रकाशित: २५ श्रावण २०७३ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App