coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव

मुगु- एक वर्षअघि जिल्ला अस्पतालमा एमडिजिपी विशेषज्ञ नियुक्ति भएपछि मुगाली जनता निकै खुसी भएका थिए । तर उनीहरुको खुसी धेरै लामो समयसम्म टिकेन । गत कात्तिक २७ गते एमडिजिपी विशेषज्ञ डा. जितेन्द्र कँडेलले जिल्ला छोडेर गएपछि जिल्ला अस्पताल पुरानै अवस्थामा फर्किएको छ । त्यसपछि मुगाली जनता फेरि चिकित्सक अभावमा छन् ।

जिल्ला अस्पतालका गाडीको प्रयोग र चालक नियुक्ति, अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयमा करार कर्मचारी नियुक्तिका विषयमा अस्पताल विकास समितिका अध्यक्ष केशरजंग शाही र जिल्ला अस्पतालभित्रका कर्मचारीबाट धम्की आएपछि डा. जितेन्द्र कँडेलले कात्तिक २७ गते जिल्ला छोडेका थिए ।

२०७३ माग ६ गते एपेन्डिक्स भई जिल्ला अस्पताल ल्याइएका पूर्वी करानका एक युवकको जिल्ला अस्पतालमा उपचार नभएपछि सोही दिन ती युवालाई नेपालगन्ज लैजान ताल्चा विमानस्थल पु¥याइएको थियो । प्रतिकुल मौसमका कारण हवाई उडान विलम्ब हुँदा ती युवकको विमानस्थलमै मृत्यु भएको थियो । विमानस्थालमै बिरामीको मृत्यु भएको समाचार सञ्चारमाध्यममा आएपछि यस्तो दुर्गम क्षेत्रमा काम गर्न भनेर एमजिडिपी डा. कँडेल गत चैतमा जिल्ला अस्पतालमा आएका थिए । उनी जिल्लामा आइसकेपछि शल्यक्रियाबाट प्रसूतिसेवा, हाइड्रोसिल, हर्निया, एपेन्डिक्ससाइट आदिको शल्यक्रिया सेवा थालिएको थियो । उनले आफूलाई सामान्य कुरामा पनि राजनीतिक दबाब सहनुपरेको र आफ्नै कर्मचारीबाट धम्की आउने गरेको गुनासो गर्दै आएका थिए । जिल्ला अस्पतालमा रहेका दुईवटा गाडीको प्रयोग र चालक नियुक्ति, अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयमा करार कर्मचारी नियुक्तिका विषयमा अस्पताल विकास समितिका अध्यक्ष केशरजंग शाही र जिल्ला अस्पतालभित्रका कर्मचारीबाट धम्की आएपछि कँडेलले कात्तिक २७ गते जिल्ला छोडेका थिए । उनले जिल्ला छोडेपछि जिल्लामा उपलब्ध सबै शल्यक्रिया सेवा अवरुद्ध भएको छ ।
कँडेलले जिल्ला छोडेयता ३५ जनाभन्दा बढी गर्भवती र एक दर्जन बढी अन्य रोगका बिरामी सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी बलिबहादुर बुढाले जानकारी दिए । उनका अनुसार डाक्टर गइसकेपछि जिल्ला अस्पतालमा आन्द्रा फुटेका एकजनाको मृत्यु भएको र सफल शल्यक्रिया हुन नसक्ने भन्दै रेफर गरिएकी एक गर्भवतीलाई नेपालगन्ज लैजाने क्रममा मंसिर १२ गते कालीकोटको अस्पताल मोडमा जिप दुर्घटना हुँदा मृत्यु भएको थियो । कँडेलले छाडे पनि उनीजस्ता दर्जनौं डाक्टर ल्याउने बताइरहेको अस्पताल विकास समितिका अध्यक्ष केशरजंग शाहीले केही गर्न सकेका छैनन् । जिल्ला अस्पतालमा करार सेवाका तीनजना एमबिबिएस डाक्टर भए पनि विशेषज्ञ नभएर उपचारमा समस्या भइरहेकाले विशेषज्ञ ल्याउने तयारी भइरहेको छायानाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रकाशित: २३ पुस २०७४ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App