coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कामदार नहुँदा बनेनन् घर

नुवाकोट- सूर्यगढी गाउँपालिका वडा नम्बर ४ चोगदे बित्लवका उपेन्द्र अधिकारीले दसंै सकिएलगत्तै घर बनाउन थालेका हुन् । जग खन्ने र डिपीसी गर्ने काम सकिएको छ । घर निर्माणका लागि आवश्यक निर्माण सामग्री जम्मा गरिसकिएको छ तर कामदार अभावले घरलाई डिपीसीबाटमाथि उठाउन सकेका छैनन् । अधिकारी भन्छन्, ‘गाउँमा धेरैले घर बनाउन थालेका छन् ।  प्रायःले डिपीसी गरेर छाडेका छन् । सीमित जनशक्ति छ । उनीहरूले भ्याएका छैनन् ।’ गाउँका चिनेजानेकालाई घर बनाउन जिम्मा लगाइन्छ । ठेकेदारसँग प्रर्याप्त दक्ष जनशक्ति नभएकाले घर बनाउने कार्यपछि परेको अधिकारी बताउँछन् ।


यो जाडोभित्रै भूकम्प प्रतिरोधी नयाँ घरमा बस्ने रहर हुँदाहँुदै पनि घर बनाउने जनशक्ति नहुँदा जस्ताले बेरिएको कटेजमा बस्नुपर्ने बाध्यता छ । गत वर्षको भदौमा पहिलो किस्ताको ५० हजार रुपैयाँ लिए । भूकम्पले क्षतविक्षत बनाएको घर पन्छाउँदै र घडेरी खार्दैमा सकियो ।

यस्तै पञ्चकन्या गाउँपालिका वडा २ कविलासका रामचन्द्र मिश्र इँटाको गाह्रो लगाएर ४ कोठे घर बनाउने योजनामा छन् । यो जाडोभित्रै भूकम्प प्रतिरोधी नयाँ घरमा बस्ने रहर हुँदाहँुदै पनि घर बनाउने जनशक्ति नहुँदा जस्ताले बेरिएको कटेजमा बस्नुपर्ने बाध्यता छ । ‘गत वर्षको भदौमा पहिलो किस्ताको ५० हजार रुपैयाँ लिए । भूकम्पले क्षतविक्षत बनाएको घर पन्छाउँदै र घडेरी खार्दैमा सकियो,’ मिश्र भन्छन्, ‘काठपातको काम गर्न जान्दिन । अर्मपर्म गर्ने वातावरण पनि छैन । पैसा हुनेले र कामदार पाउनेले धमाधम घर बनाइरहेका छन् । कामदार खोज्दैछु  । पैसाको जोहो त विस्तारै भइहाल्छ नि ।’ मिश्र इन्जिनियरकै सल्लाहअनुसार घर बनाउने बताउँछन् ।
बेलकोटगढी नगरपमलिका वडा नम्बर १३ मदानपुर डाडाकेरीका लोकबहादुर अधिकारी ६९ वर्षका भए । छिट्टै कटेज छोडेर धुरी भएको घर भित्र बस्ने ठूलो रहर छ । अन्य ठाउँमा घर भएको कारण देखाउँदै लाभग्राही सूचीमा नाम अट्न सकेन अधिकारी परिवारको । गुनासो फाराम पनि भरेका छन् । अनुदान रकम लिन पाउने नपाउनेमा अझै अन्योलमा छन् । ‘इटहरीमा छोराको परिवार लामो समयदेखि बस्दै आएका छन् । त्यहि भएर कलाभग्राही सूचीमा नाम परेन । यताको घर लडेको छ । बनाउन सकेको छैन । सितका थोपा तप्पतप्प जस्ताबाट चुहिन्छ । बुढेसकाल लागेको मान्छे । बढो मुस्किलले जाडो कटाउँदैछु ।’ ‘गाउँका युवा पखेटा हालेर विदेश पुग्छन्, गाउँमा घर बनाउने मान्छे छैन । तराईमा घर बताउने केही  गाउँमा घर बनाइरहेका छन्,’ अधिकारीले गुनासो गरे ।
पुर्ननिर्माण प्राधिकरणले समयसीमा तोकेर निजीघर निर्माणलाई तीव्रता दिने प्रयास गरे पनि घर बनाउन कालीगढ तथा तालिमप्राप्त जनशक्ति अभाव, निर्माण साम्रगी उपलब्ध नहुनु र पाएमा पनि गुणस्तरहीन र महँगो घर निर्माण गरेर किस्ता रकम पाउनका लागि प्राविधिक सहयोग समयमै नहुनु र अनुदानका लागि झण्झटिलो प्रक्रियाले प्रभावित घर निर्माण गर्न ढिलाइ गर्दै आएका छन् ।
सहरी विकास र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एन्सेटको सहयोगमा ३ हजार जनालाई कालीगढ सम्बन्धी तालिम दिइएर दक्ष बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयको निमित्त कार्यालय प्रमुख एवं इन्जिनियर बेदप्रसाद गौडेलले बताए ।

नुवाकाटको आवास निर्माणको अवस्था
नुवाकोटमा रहेका ६९ हजार २ सय ८९ परिवार भूकम्प प्रभावित निजी घर निर्माण गर्न लाभग्राही सूचीमा समावेस भए । नेपाल सरकारले उपलब्ध गराउने पहिलो किस्तावापतको ५० हजार रकम लिने प्रभावितको संख्या ६२ हजार ८ सय २५ रहेको छ । यस्तै, आवास निर्माण जारी रहेकामध्ये दोस्रो किस्ता प्राप्तीको लागि निवेदन दिनेको संख्या १६ हजार ८ सय ७८ रहेको छ । त्यसमध्ये १५ हजार ४ सय ५५ घरपरिवारको रकम निकासीका लागि प्रमाणीकरण भइसकेको र ७६ घरपरिवाको तोकिएको मापदण्डअनुसारको नभएकाले छानबिनको प्रक्रियामा राखिएको छ ।
भूकम्पले क्षति पु¥याएको ३२ महिनामा बल्ल २ हजार १ सय ७५ परिवारले आवास निर्माण सम्पन्न गरेको आवास पुर्ननिर्माण सम्बन्धी जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख विदुर खड्काले जानकारी दिए । आवास निर्माण सम्पन्न गरेकामध्ये अहिलेसम्म पूरै रकम पाउने भूकम्पप्रभावितको संख्या १ हजार २८ मात्र रहेको छ ।
निजी आवास निर्माण सम्पन्न भएका ५ हजार ८ सय परिवारले भूकम्प प्रतिरोधी मापदण्डअनुसार निर्माण सम्पन्न नभएको भन्दै अनुदान सहयोग पाउनबाट वञ्चित हुँदै आएका छन् । अनुदान रकम प्राप्त गर्नबाट वञ्चित अधकांशले प्राधिकरणले घर बनाउने सम्बन्धी मापदण्ड ल्याउनुभन्दा अगाडि नै आफ्नै सुरमा घर बनाएका थिए ।
खड्काले भने, ‘आवास निर्माण सम्पन्न गरी दोस्रो किस्ता रकम प्राप्त गर्ने प्रभावितको संख्या ११ हजार २० घरधुरी छन् । आवास निर्माण गर्दै आएकामध्ये तेस्रोकिस्ताका लागि निवेदन दिने प्रभावितको संख्या २ हजार ५ सय ७९ रहेकोमा २ हजार १ सय ७५ घरको अनुदान उपलब्ध गराउन योग्य रहेको  पाइएको छ ।’
    नेपाल सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयसीमा नै तोकेर आवास निर्माण गर्न प्रभावितलाई सहयोग पुग्ने कार्यक्रम गर्दै आए पनि नुवाकोटमा आवास निर्माणमा प्राविधिक सहयोग पु¥याउने प्राविधिकको संख्या कम भएकाले उपलब्धी हासिल गर्न नसकेको एकाइ प्रमुख खड्काको  भनाइ छ ।

४० विद्यालय मात्र बने
तत्कालीन समयमा नुवाकोटमा  ४ सय ८४ वटा सामुदायिक विद्यालय सञ्चालित थिए । २०७२ मा भूकम्पपछि ३४ वटा विद्यालय नजिकैको अन्य विद्यालयमा गाभेपछि अहिले ४ सय ५० वटा विद्यालय सञ्चालित छन् । जिल्लामा सञ्चालित कुनै पनि विद्यालयलाई भूकम्पले अछुतो राख्न सकेन ।
विनासकारी भूकम्प गएको ३२ महिना  बितिसक्दा जम्मा ४० वटा विद्यालयको मात्र पुनर्निर्माण भएको छ । कक्षा कोठागत रुपमा हेर्ने हो भने भूकम्पबाट २ हजार ६ सय २२ कक्षाकोठामा पूर्ण क्षति पुग्यो ।
८ सय २३ कक्षाकोठा सामान्य क्षति र ३०६ वटा कक्षाकोठामा आंशिक क्षति पुगेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा रहेको जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्का बताउँछन् । ‘५७ वटा विद्यालयको पुनर्निर्माणको जिम्मा ‘रुम टु रिड’ ले लिएको छ । अहिलेसम्ममा ३० वटा विद्यालयको पुनर्निर्माणको काम सकाइसकेको छ । अन्य संघसस्थाले १० वटा विद्यालय बनाइदिएका छन्,’ खड्काले भने, ‘भूकम्पले क्षति पुगेको कक्षाकोठा निर्माणको लागि शिक्षा कार्यालयमार्फत दुईदेखि चार कोठासम्मको ७१ वटा विद्यालयलाई भवन निर्माण निर्माण र शिक्षा अन्तर्गतको जिल्ला आयोजना कार्यान्वय एकाइमार्फत थप १ सय ९ वटा विद्यालयका लागि कक्षाकोठा बनाउन कार्र्यक्रम प्रदान गरे पनि त्यो जिम्मेवारी विद्यालयले पूरा गर्न सकेको छैन ।’
विद्यालयहरू ठेकेदार, टेन्डर र व्यवस्थापन समितिमार्फत सुस्त गतिमा निर्माण भइरहेको जानकारी विद्यालयबाट आएको शिक्षा कार्यालयले जनाएको छ ।

 

प्रकाशित: २३ पुस २०७४ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App