८ वैशाख २०८१ शनिबार
समाज

नेपालमाथि चन्द्रसुर्य फरर

खोटाङ– ‘हामी सात भाई कोष’ले खोटाङ सदरमुकाम दिक्तेलमा नेपालको नक्सा रंगरोगन गरेर झण्डा फहराएको छ। व्यक्तिगत स्वार्थभन्दा माथि राष्ट्रियतालाई राखेर स्थानीय तहको पुर्नसंरचना गर्न आह्वान स्वरुप ‘हामी सात भाई कोष’ले मंगलबार नेपालको नक्सा रंगरोगन गर्दै सुर्यचन्द्र अंकित झण्डा फहराएको हो।

मुलुकभर स्थानीय तहको पुर्नसंरचनाको खाका कोर्ने क्रिया चलिरहेको अवस्थामा देश र राष्ट्रियतालाई भुल्न नहुनेमा नेताहरुलाई प्रतिकात्मक सम्झना गराइएको कोषका सचिव बिक्रम श्रेष्ठले बताए।

‘अहिले आ–आफ्नै किसिमले मनोमानी रुपमा स्थानीय निकायको पुर्नसंरचनाको खाका बनाउने काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘यो बेलामा हामीले राष्ट्रिय एकतालाई भुल्नु हुँदैन, राष्ट्रियताको सवालमा हामी सचेत हुनुपर्छ भन्न खोजेका हौं।’

दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत सात विद्यार्थीले २०७० सालमा स्थापना गरेको कोषले निस्वार्थ रुपले देशलाई शान्त, सुन्दर र समृृद्ध बनाउन आह्वान गर्दै सन्देशस्वरुप क्याम्पस परिषरकै पक्की नक्सालाई साजसज्जा गर्दै सुर्यचन्द्र अंकित झण्डा फहराएको हो। मुलुकको पुर्नसंरचनामा निर्णायक भूमिका खेल्नका लागि युवा वर्गलाई उत्साहित गर्नका लागि समेत नेपालको नक्सा र झण्डालाई स्मरण गराइएको कोषले जनाएको छ।

जिल्लामा विभिन्न समयमा सिर्जनात्मक काम गर्दै आएको ‘हामी सात भाई कोष’ले नेपालको नक्सा मर्मत सम्भार गर्दै त्यसमाथि सुर्यचन्द्र अंकित गर्नुका साथै सजावटका लागि फूलका गमलाहरु राखेका छन्।

 

प्रकाशित: २५ श्रावण २०७३ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App